कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हराउँदै घुमाउने घर

आधुनिक शैलीका घरका कारण परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेका छन् । 
प्रताप रानामगर

दमौली — खरको छानो । घुमाउने घर । कुनै बेला दरै गाउँमा यस्ता घर प्रशस्त देख्न पाइन्थ्यो । हिजोआज भने आधुनिक शैलीका घरका कारण त्यस्ता परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेका छन् । कताकति मात्रै देख्न पाइने नभए लोपै भएको दरै समाज तनहुँका अध्यक्ष तीर्थबहादुर दरैले बताए ।

हराउँदै घुमाउने घर

‘कुनै बेला गाउँपिच्छे घुमाउने घर हुन्थे,’ उनले भने, ‘घुमाउने घर देख्नासाथ दरै गाउँ भनेर चिनिन्थ्यो ।’ झन्डै एक दशकअघिसम्म यस्ता घरले गाउँको सुन्दरता थपेको अनुभव उनले सुनाए । गाउँका गन्ने–मान्ने र पहुँचवालाले घुमाउने घर बनाउँथे । आधुनिक शैलीका घर र कच्चा पदार्थका अभावले घुमाउने घर लोप हुँदै गएको उनले बताए । बैरेनी, दुम्सीकोटलगायत ठाउँमा ५ वटा मात्रै घुमाउने घर रहेका छन् ।


व्यास–१० बरैनीका ५८ वर्षीया सुकुमाया दरैले घुमाउने घरलाई संरक्षण गर्दै आएका छन् । उनको घुमाउने घर निकै आकर्षक छ । ‘ससुरा बाको चिनो नै घर हो,’ उनीले भनिन्, ‘यही घरमा बसेर जीवन गुजारियो ।’ घुमाउने घरभित्र ४ कोठा छन् । पहिले पहिले घर छाउन प्रशस्त मात्रामा खर पाइन्थ्यो । हिजोआज मुस्किल छ । खोजेर भए पनि खरले छाउँदै आएका छौं । गर्मीमा शीतल र जाडोमा न्यानो हुने नै घुमाउने घरको विशेषता हो । घुमाउने घर हराउँदै गएको उनले बताइन् । पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुंगाबाट नयाँ घर बनाउँछन् ।


घुमाउने घर बनाउन कच्चा पदार्थ अभावले कंक्रिटको बनाएको भादगाउँ दरै समाजका अध्यक्ष चीजबहादुर दरैले बताए । ‘घुमाउने घरका लागि कच्चा पदार्थ पाउँदैन,’ उनले भने, ‘बाध्य भएर अर्को घर बनाएका हौं ।’ खर पाइँदैन । घर बनाउने सीप भएका जनशक्ति छैनन् ।


युवा पुस्ताले घुमाउने घर बनाउन नजान्ने उनले बताए । दरै जातिको पहिचानसँग जोडिएको परम्परागत घर भएकाले संरक्षण गर्न आवश्यक रहेको उनले बताए । व्यक्तिले बनाउन नसके पनि समाज घरमा नमुना घुमाउने घर बनाउने योजना रहेको छ । घुमाउने घर लोपोन्मुख भएका कारण पर्यटक र पत्रकारको क्यामेरा र मोबाइलमा कैद हुने गर्छ ।


केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न संघ संस्थाका क्यालेन्डरमा फोटो प्रकाशित हुन थालेका छन् । पुरानो शैलीमा निर्मित घर क्रमिक रूपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ । जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्न सके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?