हराउँदै घुमाउने घर

आधुनिक शैलीका घरका कारण परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेका छन् । 
प्रताप रानामगर

दमौली — खरको छानो । घुमाउने घर । कुनै बेला दरै गाउँमा यस्ता घर प्रशस्त देख्न पाइन्थ्यो । हिजोआज भने आधुनिक शैलीका घरका कारण त्यस्ता परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेका छन् । कताकति मात्रै देख्न पाइने नभए लोपै भएको दरै समाज तनहुँका अध्यक्ष तीर्थबहादुर दरैले बताए ।

‘कुनै बेला गाउँपिच्छे घुमाउने घर हुन्थे,’ उनले भने, ‘घुमाउने घर देख्नासाथ दरै गाउँ भनेर चिनिन्थ्यो ।’ झन्डै एक दशकअघिसम्म यस्ता घरले गाउँको सुन्दरता थपेको अनुभव उनले सुनाए । गाउँका गन्ने–मान्ने र पहुँचवालाले घुमाउने घर बनाउँथे । आधुनिक शैलीका घर र कच्चा पदार्थका अभावले घुमाउने घर लोप हुँदै गएको उनले बताए । बैरेनी, दुम्सीकोटलगायत ठाउँमा ५ वटा मात्रै घुमाउने घर रहेका छन् ।

व्यास–१० बरैनीका ५८ वर्षीया सुकुमाया दरैले घुमाउने घरलाई संरक्षण गर्दै आएका छन् । उनको घुमाउने घर निकै आकर्षक छ । ‘ससुरा बाको चिनो नै घर हो,’ उनीले भनिन्, ‘यही घरमा बसेर जीवन गुजारियो ।’ घुमाउने घरभित्र ४ कोठा छन् । पहिले पहिले घर छाउन प्रशस्त मात्रामा खर पाइन्थ्यो । हिजोआज मुस्किल छ । खोजेर भए पनि खरले छाउँदै आएका छौं । गर्मीमा शीतल र जाडोमा न्यानो हुने नै घुमाउने घरको विशेषता हो । घुमाउने घर हराउँदै गएको उनले बताइन् । पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुंगाबाट नयाँ घर बनाउँछन् ।

घुमाउने घर बनाउन कच्चा पदार्थ अभावले कंक्रिटको बनाएको भादगाउँ दरै समाजका अध्यक्ष चीजबहादुर दरैले बताए । ‘घुमाउने घरका लागि कच्चा पदार्थ पाउँदैन,’ उनले भने, ‘बाध्य भएर अर्को घर बनाएका हौं ।’ खर पाइँदैन । घर बनाउने सीप भएका जनशक्ति छैनन् ।

युवा पुस्ताले घुमाउने घर बनाउन नजान्ने उनले बताए । दरै जातिको पहिचानसँग जोडिएको परम्परागत घर भएकाले संरक्षण गर्न आवश्यक रहेको उनले बताए । व्यक्तिले बनाउन नसके पनि समाज घरमा नमुना घुमाउने घर बनाउने योजना रहेको छ । घुमाउने घर लोपोन्मुख भएका कारण पर्यटक र पत्रकारको क्यामेरा र मोबाइलमा कैद हुने गर्छ ।

केही वर्षयता पुस्तक, कापीका आवरण, विभिन्न संघ संस्थाका क्यालेन्डरमा फोटो प्रकाशित हुन थालेका छन् । पुरानो शैलीमा निर्मित घर क्रमिक रूपमा लोप हुँदै जाँदा जातीय र भौगोलिकताको पहिचान र मौलिकता गुमाउँदै गएको छ । जातीय, सांस्कृतिक पहिचान बोकेका परम्परागत शैलीमा निर्मित घरको संरक्षण गर्न सके गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि भई विकासको लहर अगाडि बढ्ने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वन्यजन्तुको आक्रमण बढ्यो

प्रताप रानामगर

दमौली — तनहुँमा केही समययता वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढेको पाइएको छ । जिल्ला वन कार्यालयको तथ्यांक हेर्दा अहिलेसम्म वन्यजन्तुको आक्रमणबाट भानुमा मात्र ४ बालबालिकाले अकालमा ज्यान गुमाएका छन् । घर आँगनमै आएर चितुवाले आक्रमण गरेपछि स्थानीय त्रासमा छन । 

डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वन अधिकृत केदार बरालले बताए । ‘भानुमा चितुवा र भालुको त्रास छ,’ उनले भने । चितुवाको आक्रमणबाट ०७४ फागुन महिनामा भानु– ३ का ६ वर्षीय विशाल श्रेष्ठले ज्यान गुमाए ।

त्यसैगरी ४ वर्षीया रन्जिता लम्साल, गोरखा घर भई मामाघर भानुमा बस्दै आएका अमृत गुरुङ पनि घरआँगनमा खेल्नेक्रममा चितुवाको सिकार बन्न पुगे । गत जेठ महिनमा भानु–२ का ८ वर्षीय पुष्पा अधिकारीको चितुवाको आक्रमणबाट मृत्यु भएको उनले बताए । मृतक तीन जनाको परिवारलाई १० लाख रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ ।अधिकारीको भने प्रक्रियामा छ ।

‘घटनापछि वन्यजन्तुको त्रास छ,’ उनले भने, ‘वन्यजन्तुबाट सुरक्षित रहन चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ दर्जन बढी विद्यालयका विद्यार्थीलाई वन्यजन्त आक्रमणबाट सुरिक्षत हुने तरिका सिकाइएको छ । घरवरपरका झाँडी तथा बुट्यान फाँड्न भनिएको छ । जंगलमा चितुवाको आहार नभएकाले गाउँमा पसेर बालबालिकालाई आक्रमण गरेको हुनसक्ने बरालले बताए । मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण गर्न जंगलमा चितुवाको बासस्थान पहिचान गरी आहाराको व्यवस्थापन तयारी भइरहेको छ ।

जंगलमा खरायो, मृगजस्ता जीवजन्तु संरक्षण गरेर चितुवालाई जंगलमा भुल्ने वातावरणको व्यवस्था गर्ने उनले बताए ।
चितुवाले बालबालिकामाथि आक्रमणका घटना भएकाले स्थानीयमा त्रास अझै रहेको स्थानीय नानबहादुर अधिकारीले बताए । पछिल्लो घटनापछि चितुवा घरघरमा आएर बाख्रालाई आक्रमण गर्न आएको छ ।

मान्छेलाई पनि नगर्ला भन्न नसकिने उनको भनाइ छ । ‘आधा दर्जन बाख्रा मारिसकेको छ । घटनाबारे डिभिजन वन कार्यालयमा खबर गरेका छौं,’ उनले भने, ‘वर्ष दिनदेखि चितुवाको त्रासमा बसिरहेका छौं ।’ एक दुई दिन सशस्त्र प्रहरीको टोलीले गस्ती गरे पनि अहिले छाडेकालेआफूहरू त्रासमा रहेको बताए ।

भालुको आक्रमण परी भानुमा ३ घाइते भएका डिभिजन वन कार्यालयका कर्मचारी पुष्प खनालले बताए । ०७५ कात्तिकमा भानु ११ का ४८ वर्षीय भीमबहादुर तामाङ, ०७४ वैशाखमा प्रेम बानिया र ६० वर्षीय चिजबहादुर कुँवर भालुको आक्रमणबाट घाइते भएका हुन् । घाइतेको औषधी उपचार खर्च प्रावधान अनुसार राज्यबाट रकम दिएको छ । भानु ११ र १३ मा भालुको त्रास छ ।

यहाँका आधा दर्जन गाउँमा रातभर घरआगनमा भालु डुल्ने गर्छन् । गाउँमा भालुको त्रास रहेको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताए । ‘बारीको मकै भालुले खाएका छन्,’ उनले भने, ‘गाउँलेले मकै बारीमा राँको र बत्ती बाल्ने गरेका छन् ।’ साँझ परेपछि गाउँका मानिस समूहमा हिँडने गरेको उनले बताए ।

सम्जुर, बकैले, धनुबास, अतभैया, माझगाउँ र सिरना गाउँ दैनिक रातको समयमा भालु आउने गरेको छ । भालुले मुस्लिम समुदायको चिहानबाट गाडेको लास खोतल्न थालेपछि झनै त्रास बढेको छ । भालुको मुख्य आहारा फलफूल भएकाले जंगलमा फलफूलका बिरुवा रोप्नुपर्ने वन अधिकृत बरालले बताए ।

प्रकाशित : श्रावण २, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT