जागिरसँगै लोकल कुखुरा र चरापालन

आश गुरुङ

लमजुङ — गैरसरकारी संस्थामा कार्यरत सुन्दरबजार नगरपालिका–७ शान्तिमार्गका प्रेमबहादुर भट्टराईले स्थानीय जातको कुखुरापालन थालेका छन् । 

जागिरसँगै लोकल कुखुरा र चरापालन

घरबाट केही पर खत्रीठाँटीको ग्याग्दीखोला सिसौघारी छेउमा उनको कुखुरा फार्म छ । आफ्नै ४ रोपनी जग्गामा रहेको फार्ममा उनले लोकल, टर्की, कडकनाथ जातका कुखुरासाथै लौकाट र बट्टाई चरा पालेका छन् । बट्टाई चराको अण्डा बिक्री हुन्छ । गत फागुनबाट व्यावसायिक कृषिमा अघि बढेका भट्टटराईले सुरुमा ८ लाख रुपैयाँ लगानी गरी २ हजार कुखुरा पाल्न सक्ने क्षमताको खोर र टनेल बनाएका थिए । कृषि कर्मका लागि उनले किसान एकीकृत कृषि, पशु तथा पन्छी फर्म दर्ता गरेका छन् ।


सुरुमा २ सय लोकल कुखुराबाट उनले व्यवसाय सुरु गरेका थिए । यसलाई बढाउँदै अहिले ९ सय पुर्‍याएका छन् । व्यवसायमा २० लाखभन्दा बढीको लगानी भइसकेको छ । लोकल कुखुरा प्रतिकिलो ७ सय रुपैयाँ, लौकाट र कडकनाथ कुखुरा प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री हुने भट्टराईले बताए ।प्रतिबट्टाई चरा २ सय ५० रुपैयाँ र बट्टाईको अण्डा १० रुपैयाँमा बिक्री हुने गरेको छ ।

लोकल कुखुराका चल्लासमेत बिक्री हुन्छन् । लोकल कुखराको चल्ला स्थानीय बजारमै खपत हुँदै आएको उनले बताए । फार्ममा ३ टनेल छन । त्यसमा एउटा टनेलमा गोलभेंडा उत्पादन भइरहेको छ । बाँकी २ टनेल निर्माण भर्खरै सकिएको छ । प्रतिकेजी १ सय २० रुपैयाँमा गोलभेंडा बिक्री हुने गरेको उनले बताए । टनेलमा कृषि ज्ञान केन्द्रको केही सहयोग भए पनि कुखुरामा कुनै पनि संघसंस्थाको सहयोग नरहेको उनले बताए । केही दिनअघि लोकल कुखुराको प्रदर्शनी तथा मेलासमेत आयोजना गरेका थिए ।


लमजुङ र तनहुँका गरी करिब ५ सयले अवलोकन गरेका र ५ सयभन्दा बढी कुखुरा तथा चरा बिक्री भएको उनले बताए । यसबाट १ लाख रुपैयाँ आम्दानी भयो । बाँकी ४ सयवटा रहेको र थप्ने योजना रहेको उनले सुनाए । ‘लोकल कुखराको बजारीकरणका लागि फर्ममै कुखुरा मेलाको आयोजना गरेका हौं,’ उनले भने, ‘समय–समयमा गरिने मेलाले यसको व्यावसायिक प्रवर्द्धनमा मद्दत पुग्छ ।’ उनका अनुसार करिब ६ महिनाको अवधिमा ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।


सबै खर्च कटाएर २ लाख रुपैयाँ बचत गरिएको उनले बताए । ‘म फुर्सदको समय कृषि कर्ममा हुन्छु । अन्य समय कार्यालयमा हुन्छु,’ उनले भने, ‘गरे के हुँदैन भनेर पनि कुखुरापालनलाई अघि बढाएका छौं ।’ लोकल कुखुरापालन खासै नयाँ नभए पनि अन्य चरा तथा कुखुरा प्रजातिका पन्छी भने नयाँ पालिएको उनले बताए । फार्ममा २ जनाले रोजगारी पाएका छन् ।


गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्षसमेत रहेका उनी बेंसीसहरमा कार्यालय रहेको ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) का कार्यकारी निर्देशक हुन् । ‘फुर्सदको समय कृषि कर्ममा खटिए मात्रै आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘कृषि कर्मलाई थप विस्तार र व्यवस्थित गर्ने योजनामा छु ।’

प्रकाशित : श्रावण ६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?