कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

युवाविहीन बन्दै गाउँ

सम्झना रसाइली

तनहुँ — ‘गाउँमा यातायातको सुविधा छैन, खानेपानी र विद्युत्को पनि त्यस्तै समस्या छ । यसलाई समाधान गरिदिनुपर्‍यो’ आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क र जालभन्ज्याङलगायतका बासिन्दाको एउटै स्वर थियो ।

युवाविहीन बन्दै गाउँ

हिलेखर्कमा आयोजित एक कार्यक्रममा पुगेका गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेल, वडाध्यक्ष सुनाराम गुरुङलगायतलाई आफ्ना समस्या सुनाउँदै थिए स्थानीय ।


गाउँपालिका अध्यक्षलगायत आउने खबर पाएपछि करिब दुई घण्टा पैदलै हिंडेर हिलेखर्क आइपुगेको जालभन्ज्याङकी ६८ वर्षीया देवीसरा गुरुङले सुनाइन् । ‘खानेपानीको समस्याले दैनिक जीवन कष्टकर छ,’ देवीसराले भनिन्, ‘खानेपानी ल्याउन पनि दैनिक २ देखि ३ घण्टा हिंड्नुपर्छ, गाउँमा हामी वृद्धवृद्धा मात्र छौं, हाम्रा छोराबुहारी, छोरी, नातिनातिना गाउँ आउँदैनन्, सबै बजार झरे ।’ गाउँमा पानी, बिजुलीको निकै समस्या रहेको हिलेखर्कका ९० वर्षीय आशबहादुर गुरुङको गुनासो थियो । उनी भन्छन्, ‘बुढाबुढीले सकी नसकी गाउँ धान्नुपरेको छ, छोरानातिलाई गाउँमा बस, आफ्नो भाषा संस्कृतिको संरक्षण गर भन्दा उहिलेको कुरा खुइलियो भन्छन्, युवा नहुँदा गाउँ सुनसान छ ।’


गाउँमा यातायातको पनि सहज पहुँच छैन । दिउँसो फाट्टफुट्ट जिप आउने भए पनि रातिको समय कुनै भवितव्य पर्दा रिजर्भका लागि बोलाउँदा पनि सडकको कारणले नआउने हुँदा दुःख पाइएको उनीहरूको भनाइ थियो । ग्रामीण पर्यटकीय दृष्टिले आकर्षक गन्तव्यका रूपमा विकास हुन लागेको गाउँवासी शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार सुविधा उपभोग गर्नबाट वञ्चित छन् ।


जालभन्ज्याङकी पदमकुमारी गुरुङले शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच हुन नसक्दा गाउँको विकास नभएर ओझेलमा परेको बताइन् । ‘सुविधा खोज्दै युवा सहर बजार झरे । गाउँमा वृद्धवृद्धा मात्र छौं,’ गुरुङ भन्छिन्, ‘यस्ता सेवा उपलब्ध भए युवा गाउँ फर्किन्थे कि ? गाउँको विकासले गति लिन्थ्यो कि ।’


आधारभूत सेवासुविधा पनि सहज रूपमा उपभोग गर्न नपाउँदा युवा रोजगारी र आधुनिक रहनसहन खोज्दै गाउँ छाडेका हुन् । यस क्षेत्रमा कच्ची सडक विस्तार भए पनि यहाँका स्थानीयले हिउँदामा धूलो र वर्षायाममा हिलोको सामना गर्दै आएको स्थानीय यातायात व्यवसायी धनबहादुर गुरुङ बताउँछन् ।


युवा जनजक्ति नभएकै कारण गाउँमा विकास हुन नसकेको वडाध्यक्ष सुनाबहादुर गुरुङ बताउँछन् । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, सडक यो गाउँको मुख्य समस्या हो,’ उनले भने, ‘गाउँपालिकाको बजेटबाट गत वर्षदेखि नै गाउँमा खानेपानीको सहज पहुँच पुर्‍याउनका लागि पहल गर्दै आएको र लिफ्ट प्रविधिबाट गाउँमा खानेपानी ल्याउनुपर्ने अवस्था भएकाले प्रदेश सरकारले पहल गरिरहेको छ ।’


आँबुखैरेनीको वडा. १ को घलेडाँडा, ८ वडाको जालभन्ज्याङ, ९ नम्बर वडाको पुर्लुङलगायत अन्य गाउँमा विद्युतीकरण हुन नसक्दा टुकीकै भरमा गुजारा चलाउँदै आएका छन् । खानेपानीको सहज पहुँच नहुँदा घण्टौं खर्चिएर डोकामै पानी बोकेर खानुपरेको स्थानीयको गुनासो थियो ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?