कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजमार्गभरि हिलो र पहिरो

दिप्ती सिलवाल

पर्वत — मध्यपहाडी (पुष्पलाल) राजमार्ग धौलागिरिवासीको लाइफलाइन सडक हो तर यतिबेला यही सडक धौलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । 

गत १४ महिनायता पर्वतको मालढुंगादेखि कास्कीको बिन्दबासिनीसम्मको करिब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थित रूपमा छेउमा थुपारिएको गेग्रानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ । त्यति मात्रै होइन । सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठुला ब्रेकरले फुटाइएको पहरोमा पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।


सडकमा सानाठुला सवारी चाप बढ्दो छ । मध्यपहाडी राजमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् । ‘अस्ति हिंड्दाहिंड्दै भ्याप्लेखोला नजिकै ठूलो पहिरो खस्यो,’ कुश्माका गोपी सुवेदीले भने, ‘सडक ३ घण्टा खुलेन । पोखरा पुग्दा मध्यरात भयो ।’ राजमार्गमा पहिरो खसेको १ घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौंसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।


मनसुन सुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्‍यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन् । ‘धेरैपटक गुड्दागुड्दै ट्याक्सी पुरिएका छन्,’ ट्याक्सी व्यवसायी भीम क्षेत्रीले भने, ‘पानी पर्दा हिंडिसाध्य छैन ।’ सामान्यतया डेढदेखि २ घण्टाको कुश्मा–पोखराको यात्रा अहिले ५ घण्टाभन्दा बढी समय लाग्ने उनले बताए ।


सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उनले बताए । कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै बिन्दबासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेलाबेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ ।


‘सराङकोट एरियामा ट्राफिकले धेरै दुःख दिन्छ,’ व्यवसायी विष्णु पुरीले भने, ‘सजिलो भए पनि जरिवाना तिर्नुपर्ने डरले कसैले त्यो बाटो चलाउनै मान्दैनन् ।’ राजमार्गका सवारी यो बाटामा किन ल्याएको भन्दै ट्राफिक प्रहरीले न्यूनतम २ हजार रुपैयाँसम्म रकम असुल्ने व्यवसायीको गुनासो छ ।


सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धौलागिरिका यातायात व्यवसायी आजित छन् । सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–बिन्दबासिनी सडक मूल सडकभन्दा ७ किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ ।


गत असारसम्म मुख्य सडक कालोपत्रे सक्ने लक्ष्यका साथ काम गरेको मध्यपहाडी आयोजनाले भने विभिन्न बहाना बनाउँदै बेलाबेलामा काम रोक्दै आएको छ । गत वैशाखयता वन मन्त्रालय र विद्युत् प्राधिकरणले काम गर्ने वातावरण नबनाएको भन्दै आयोजनाले केही समय काम रोकेको थियो ।


आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापामगरले विद्युत् प्राधिकरणले सडकछेउका पोल हटाउन नमान्दा काममा ढिलाइ भएको बताए । त्यससँगै निर्माण सामग्री निकाल्न सामुदायिक वनले नदिँदा पनि समयमा काम नसकिएको उनको आरोप छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?