कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अव्यवस्थित पार्किङले हैरान

व्यवस्थित पार्किङ नहुँदा पछिल्लो समय निषेध गरिएका स्थानमा पनि पार्किङ हुने गरेको छ । यसले पैदल यात्रुलाई कष्ट भएको छ ।
विना थापा

कास्की — सडकमै सवारी साधन पार्किङले पोखराको सडक अस्तव्यस्त हुन पुगेको छ । व्यवस्थित पार्किङ नहुँदा पछिल्लो समय पार्किङ निषेध गरिएका स्थानमा पनि पार्किङ हुने गरेको छ । यसले पैदल यात्रुलाई कष्ट भएको छ साथै सवारी दुर्घटना पनि निम्त्याउने गरेको छ । 

अव्यवस्थित पार्किङले हैरान

महानगरले केही महिनाअघि पोखराको पृथ्वीचोकदेखि महेन्द्रपुलसम्मको पार्किङ व्यवस्थित गर्न प्रदर्शनी केन्द्रअघि पार्किङ बनाएको थियो तर पार्किङ निःशुल्क भए पनि अपायक भएको भन्दै सवारीचालकले पार्किङ गरिदिएनन् । त्यसैगरी लेकसाइड पुगेका सवारीचालकलाई पार्किङ समस्या हटाउन क्याम्पिङ चौरलाई प्रयोग गर्ने र अरू स्थानमा सार्वजनिक जग्गाको खोजी गरे पनि महानगरको योजना सफल हुन नसकी पुरानै ट्राफिक समस्या आएको छ ।


‘पायक पर्ने ठाउँमा महानगरले पार्किङ व्यवस्था गराइदिने हो भने सबैले नियम लागू गर्छन्,’ पोखरा–३ की दिपीसा श्रेष्ठ भन्छिन्, ‘हेर्दा सवारीचालकले गल्ती गरे जस्तो देखिन्छ तर कुनैमा बोर्ड छैन, कुनैमा मेटिसकेको छ, झुकिएर पनि रोकिन्छ ।’ पार्किङ व्यवस्था नभएकाले बाध्यताले निषेधित क्षेत्रमै रोक्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।


पछिल्लो समय पोखरामा सवारीसाधनको संख्या बढ्दै गएको छ तर महानगरले त्यहीअनुसार पार्किङ व्यवस्थापन नगर्दा सडक अस्तव्यस्त भएको पोखरा–१ का नवराज पौडेलले भने । नियमअनुसार नचल्नेलाई सम्बन्धित निकायले कारबाही गर्न नसक्दा पनि पार्किङको समस्या देखिएको पौडेलले सुनाए । अस्तव्यस्त रूपमा पार्किङ गरेकाले सडकमा गुडेको बसलाई समेत दुर्घटना हुने सम्भावना देखिन्छ ।


महानगरको पार्किङ व्यवस्थापनका लागि केही दिनमा टेन्डरमा सम्झौता हुन लागेको, पोखरा कर महाशाखाका अधिकृत छविलाल शर्माले बताए ।


टेन्डर आह्वान भए पनि सम्झौताका लागि कुनै पनि संस्था नआउँदा एक वर्ष खाली रह्यो । शर्माका अनुसार एक वर्षमा टेन्डरका लागि ३ पटक सूचना प्रकाशन गरिसकेको छ । गत भदौमा ७ करोड ६४ लाखमा ठेक्का आह्वान गरे पनि कोही आएनन् । बढी रकम भएकाले होला भनेर कात्तिकमा पुन ५ करोड ६० लाखमा टेन्डर आह्वान गरिएको थियो । त्यसमा पनि कोही आएन । ठेक्काका लागि कुनै नआएपछि पुनः तेस्रो पटक चैतमा ३ करोड ४४ लाखमा १५ दिने सूचना प्रकाशन गरिएको थियो ।


शर्माका अनुसार सूचना प्रकाशन भएको ४ महिनापछि नाइस नेपाल नामक कम्पनी आएको छ, ३ करोड ५० लाखमा ६ किस्तामा बुझाउने गरी । त्यससम्बन्धी सम्झौता प्रक्रियामा रहेको छ ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?