पुल नबन्दा सास्ती 

आश गुरुङ

लमजुङ — लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलास्थित बेलिब्रिज असार ८ मा बाढीले बगाएपछि मनाङबासीलाई सास्ती भएको छ । आउजाउ ठप्प भएको छ ।

पुल नबन्दा सास्ती 

त्यसको १० दिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली निरीक्षणका लागि आएको थियो । गुरुङले अर्को पुल तत्कालै बनाउन निर्देशन दिइरहँदा भौतिक योजना विकासमन्त्री रामशरण बस्नेतले २० दिनमा बेलिब्रिज हालिने बताएका थिए । उनले आश्वासन दिएको मंगलबार २० दिन पुग्यो । तर, पुल निर्माणको सट्टा म्यार्दीखोलामा कुनै पनि प्राविधिक काम सुरु भएको छैन ।


मनाङको नासों गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङले बेलिब्रिज २० दिन वित्दा पनि पुल बनाउने सुरसार नभएको बताए । उनका अुनसार पुल नहुँदा लमजुङ–मनाङको सडक सम्पर्क टुटेको छ । ‘खोला बढेर ठूलो भएको छ । पैदल हिंड्न सकिंदैन । जिप पनि चल्दैनन्,’ उनले भने, ‘मान्छे हिँड्ने बनाएको फड्के पनि बाढीले पुरिदियो ।’


डिभिजन सडक कार्यालय दमौलीका अनुसार बेलिब्रिज जडान कार्य यसअघि पुल निर्माण गरेको ग्याल्बा–द क्याराभान जेभीले गर्नेछ । पुरानै ठेक्का ‘फाइनल’ नभएकाले उसले नै पुल बनाउने र बिमा दाबी गर्ने कार्यालयले जनाएको छ । कार्यालयका ईन्जिनियर सचिन श्रेष्ठका अनुसार बेलिब्रिज हेटौंडामा बनेर मंगलबार हिँडिसकेको र २/३ दिनभित्र म्यार्दीखोला पुग्नेछ । ‘पुल पुगेपछि १५ देखि २० दिन जोड्न लाग्छ’ उनले भने, ‘त्यसपछि अन्य प्राविधिक काम हुने भएकाले एक महिना लाग्छ ।’ निर्देशन अनुसार निर्माण कम्पनीले समयमै काम गरे भदौ १५ भित्र बेलिब्रिज जोडिएर गाडी गुडिसक्ने उनले बताए ।


मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद आचार्यले पुल अभावमा जिल्लाबासी समस्यामा परेको बताए । ‘मनाङतर्फ अन्त समस्या छैन । म्यार्दीखोलामै हो । यही पुल छिटो संचालन भइदिए हुन्थ्यो’ उनले भने, ‘पुल नबन्दा आवातजावत तथा ढुवानीमा समस्या छ ।’ घरेलु तथा साना उद्योग विकास समिति मनाङका उद्योग अधिकृत प्रदीप न्यौपानेले बाढीले म्यार्दीखोलाको पुल बगाउँदा विभिन्न उद्योग साथै निर्माणका लागि सामग्री ल्याउन नसकिएको बताए ।


नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले आवतजावत ठप्प हुँदा समस्या भएको बताए । पहिलेकै ठेकेदारलाई काम दिँदा ढिलाई भएको उनले गुनासो गरे । डिभिजन सडक कार्यालय दमौलीका डिभिजन ईन्जिनियर विष्णुप्रसाद काफ्लेका अनुसार पहिलेको डिजाइन भन्दा फरक हुँदैन । लम्बाई, चौडाई पहिलेको जस्तै नापचाँच गरिएको छ ।


‘पहिले पनि डिजाइनभन्दा १ मिटर माथि पिल्लर उठाएर काम गरिएको रहेछ । अहिले पनि उठाउने कुरा थियो, तर नउठाउने भइयो’ उनले भने, ‘पहाडै झरेर आएको बाढीपहिरोसंग जति अग्लो बनाएपनि कसैको केही लाग्दैन ।’ प्रदेशको भौतिक पूर्वाधार विकास सचिव ईश्वरचन्द्र मरहट्टाले कम्तीमा १ मिटर बढाएर पुल राख्न सुझाव दिएका थिए । ‘पहिले हामीले नै गर्ने भन्यौं । पछि बुझा ठेक्का नै फाइनल नभएको रहेछ’ उनले भने, ‘ठेक्का फाइनल नभएपछि पहिलेको निर्माण कम्पनीले नै पुल बनाउने भयो । आर्थिक भार परेन ।’


सामान ओसार्न महँगो तुइन

खोलाबाट सवारी साधन वारपार गर्न नसकेएपछि सामान ओसारपसारका लागि तुइन संचालन गरिएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका–४ च्याम्चेका युवाले तुइन संचालन गरेको भनिएपनि स्थानीय तहसंग कुनैपनि समन्वय नगरिएको नासोंका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार एउटा जीपले सामान बोकेर ल्याएरमा ती सवै सामान तार्न २ हजार रुपैयाँ लिने गरिएको छ । ‘फाइदा त पुगेको छ । तर, महंगो भयो नि । यसले मनाङमा खाद्यान्नमा मुल्यबृद्धि गराएको छ’ उनले भने ।


गतबर्ष साउनमा भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा बेलिब्रिज निर्माण गरिएको थियो । सम्झौताको समय अवधिभन्दा ढिला निर्माण गरिएको थियो ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?