कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी सहयोगमा जिल्ला अस्पताल

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा विदेशी दातृ निकायको सहयोगमा जिल्ला अस्पतालको भवन बनेको छ । संविधानअनुसार जिल्ला टुक्रिएपछि एक विदेशी संस्थाले ३ करोडभन्दा बढीको नगद सहयोगमा नयाँ जिल्लामा अस्पताल भवन बनेको हो । 

विदेशी सहयोगमा जिल्ला अस्पताल

कावासोती नगरपालिकाको डन्डामा स्थानीय प्रयासबाट सञ्चालित मध्यविन्दु स्मृति सामुदायिक अस्पताललाई जिल्ला अस्पतालमा रूपान्तरण गरिएको हो । स्थानीयले १३ वर्षअघि महायज्ञ गरेर सञ्चालनमा ल्याएको सामुदायिक अस्पताललाई जर्मनीमा रहेको नेपाल हिल्फे वाइलिग्रिस जर्मनीले पहिलो चरणमा ३ करोड ३२ लाख सहयोग गरेको हो ।


उक्त रकमबाट अस्पताल विकास समितिले १५ हजार वर्गफिटको अत्याधुनिक एकतले भवन निर्माण सम्पन्न गरिसकेको छ । भवन ५ तले हुनेछ । हिल्फे नेपालका कार्यक्रम संयोजक श्यामराज पण्डितले ५ तले भवन बन्ने भएकाले थप कम्तीमा ५ करोड सहयोग गर्ने बताए । भवनको कुल लागत ११ करोड रहेकोमा आफूहरूले सबै गरेर ८ करोड सहयोग गर्ने र नेपाल सरकारले ३ करोडभन्दा बढी रकम दिनुपर्ने उनले सुनाए ।

हिल्फे २८ वर्षदेखि नेपालमा स्वास्थ्य र शिक्षालगायतको क्षेत्रमा सहयोग गर्दै आएको संस्था हो । पण्डित कावासोतीकै बासिन्दा भएकाले सजिलै सहयोग जुटेको अस्पतालका पूर्वअध्यक्ष महेन्द्र पोख्रेलले बताए । अस्पतालले भवन निमार्णको प्रस्ताव पेस गर्नुअघि नै त्यहाँको उपकरण खरिद, एम्बुलेन्स, अस्पतालको ल्याब निर्माणलगायतमा २ करोडभन्दा बढीको नगद सहयोग गरिसकेको छ । अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा. गोपाल खनालले एउटै संस्थाबाट यति ठूलो सहयोग मिल्दा खुसी लागेको बताए । अस्पताललाई नमुना बनाउने उनले दाबी गरे । मेडिकल चिकित्साको क्षेत्रमा ४५ वर्ष लामो अनुभव सँगालेका खनाल अघिल्लो साता समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।


अस्पतालले सरकारी वन क्षेत्रको ९ हेक्टर ओगटेको छ । नेपाल सरकारले २ हेक्टर जग्गाको भोगाधिकार दिएको छ । स्थानीय चन्दादाताको सहयोगमा सञ्चालित अस्पतालमा मेडिकल कलेज खोल्ने प्रयासका लागि सरकारी राष्ट्रिय वन क्षेत्रको ९ हेक्टर जग्गा स्थानीय प्रयासमा अस्पताल क्षेत्रमा राखेर तारबारसमेत गरिएको हो ।


गत भदौ १३ मा प्रदेश सरकारले मध्यविन्दु सामुदायिक स्मृति अस्पतालाई जिल्ला अस्पतालमा रूपान्तरण गर्न सिफारिस गरेअनुसार स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पहिलो चरणमा ३१ दरबन्दीसहित २५ शय्याको जिल्ला अस्पताल सञ्चालनको अनुमति पाएको अध्यक्ष खनालले जानकारी दिए ।


उनले दरबन्दीअनुसारको कर्मचारी नपाइएका कारण क्षमताअनुसार विशेषज्ञ चिकित्सकको पूर्ण सेवा सञ्चालन गर्न नसकिएको स्विकार्दै चाँडै प्रशासनिक र आर्थिक विनियम बनाएर काम अघि बढाउने बताए । ३ चिकित्सक, ६ स्टाफ नर्स, ११ कार्यालय सहयोगीसहित ३१ जनाको दरबन्दी रहे पनि एक प्रशासन तहका सुब्बा मात्र दरबन्दीअनुसार खटेका छन् । अन्य सबै काजमा

ल्याएर काम चलाइएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?