२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रैथाने बाली संरक्षणका लागि बीउ बैंक

नवीन पौडेल

नवलपुर — बैंक भन्नासाथ पैसाको कारोबार गर्ने संस्था बुझिन्छ । पूर्वी नवलपरासीको कावासोती–१४ अग्यौलीका किसानले भने लोपोन्मुख तरकारी तथा खाद्यान्नको बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गरेका छन् ।

बढ्दो जनघनत्व र वातावरणीय प्रभावको कारण लोप हुन लागेको रैथाने जातका बाली संरक्षणमा किसान जुटेका हुन् ।


वर्षौंदेखि तरकारी तथा धानको बीउ खोज्न कावासोती बजार आउने अग्यौलीका उत्तरकुमार सिग्देलले हाइब्रिड प्रजातिको भन्दा स्थानीय प्रजातिको धान र तरकारी लगाउन थालेका छन् । १० देखि ५ हजार रुपैयाँसम्मको बीउ खोज्न भौंतारिने सिग्देल अहिले रैथाने जातको बीउ उत्पादन र संरक्षणमा जुटेका छन् ।


उनी मात्र होइन, जिल्लाको अग्यौली, कुमारवर्तीलगायत ठाउँका किसान यतिबेला भेटनरी वा बजार नभई बीउका लागि बैंक जाने गर्छन् । ‘बजारको बीउ ल्याएर रोप्यो, कहिले दाना नलाग्ने कहिले रोगले सताउने । अहिले स्थानीय हावापानी सुहाउँदो बीउ लगाउँदा उत्पादन बढेको मात्र होइन, रोगसमेत कम लागेको छ,’ सिग्देलले भने, ‘विषादी प्रयोग नगरीकन उत्पादन भएका रैथाने जातका बालीले मानिस र वातावरणलाई पनि राम्रो गर्छ ।’


आफूले उत्पादन गरेको बीउ, बैंकले किनिदिने भएपछि किसानलाई बजारको समस्या परेको छैन । बजारका लागि भौंतारिन नपरेपछि किसान थप उत्साहित भएका छन् । तराई क्षेत्रबाटै लोप हुन लागेको कालो झिनवा, घिउ पुरी, अनदी जातको धान बीउ बैंक स्थापनापछि किसानले लगाउन थालेका छन् । थारू समुदायले परम्परागत रूपमा लगाउँदै आएको यस प्रकारको धान छिटो पाक्ने र चामलसमेत बास्नादार हुने हुँदा अहिले विभिन्न जिल्लामा बीउ लगेर किसानले लगाउन सुरु गरेका छन् ।


बीउ बैंक सञ्चालन समितिका अध्यक्ष पार्वती भण्डारीका अनुसार बैंकमा करिब १२ सय प्रकारका बालीको बीउ राखिएको छ । ‘७० जातका रैथाने बालीको संरक्षण गर्नुका साथै छिमेकी जिल्ला र तराईमा हावापानी सुहाउने बीउको संरक्षण गर्दै आएका छां,’ उनले भनिन्, ‘हाइब्रिडभन्दा स्थानीय जातका बालीमा सचेतना फैलाउने र यसैको प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।’


२०६८ मा समुदायको अग्रसरतामा खोलिएको बीउ बैंकका सदस्यले सुरुका ४ वर्ष स्थानीय जातका लोपोन्मुख बालीको संरक्षणका लागि बीउ उत्पादन गरेपछि अहिले उन्नत जातको बीउसमेत उत्पादन गर्न थालेका छन् । अहिले बैंकले आफ्ना सदस्यका लागि स्थानीय जातको बालीको बीउ निःशुल्क वितरण गर्ने गरेको छ भने उन्नत जातको बीउका लागि न्यूनतम शुल्क लिने गरेको छ ।


बैंक स्थापनाका लागि लिवर्ड नेपालले सुरुका दिनमा प्राविधिक तथा केही आर्थिक सहयोग गरेको भए पनि अहिले समुदायले नै बैंकलाई आत्मनिर्भर मात्र बनाएको छ । साथै सदस्यलाई कर्जासमेत दिन थालेको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?