१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालयमा बेथिति

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकाले गत जेठ १४ मा सबै विद्यालयलाई पत्र पठाएर एउटै खाता मात्र सञ्चालन गर्न निर्देशन दियो । नगर शिक्षा अधिकारी दण्डपाणि शर्माको निर्देशनअनुसार बाल विकास केन्द्रको समेत फरक खाता राख्न नपाउने नियम छ । निर्देशनपछि धेरै विद्यालयले खाता घटाउन थालेका छन् । 

विद्यालयमा बेथिति

सदरमुकामस्थित विद्यामन्दिर मावि व्यवस्थापन समिति अध्यक्ष सुवास राजभण्डारीले प्रधानाध्यापकलाई एउटै खाता चलाउन आग्रह गरे । आग्रहपछि प्रधानाध्यापक शान्तमणि ढकालले एउटै खाता चलाउने तयारी गर्न लाग्दा केही शिक्षक उनीविरुद्ध खनिए ।


विद्यालयको केही खाता अझै प्रअ र अध्यक्षबाहेक अन्य शिक्षकको हस्ताक्षरमा चलेको छ । ‘प्रअ भएर आएको ३ महिना हुन लाग्यो । प्रअकै हस्ताक्षरले नचल्ने खाता पनि रहेछ, यसमा बुझ्दै छु,’ उनले भने, ‘उच्च मावि खारेज भइसक्यो, शिक्षक अझै

उमाविको खाता चलाउन खोज्दै छन् ।’


विद्यालयमा ७ बैंक खाता सञ्चालनमा छन् । नेपाल बैंक, वाणिज्य, प्रभु बैंकलगायतमा रहेको खातामा तलब, मसलन्द र अन्य रकम पठाउन कठिनाइ भएको भन्दै नगरपालिकाले एउटै खाता चलाउन निर्देशन दिएको थियो । तर ती बन्द भएका छैनन् । अध्यक्ष र प्रअको हस्ताक्षरमा चल्नुपर्ने खाता मात्र राख्न शर्माले निर्देशन दिएका छन् । ‘प्रअबाहेक अरू चिन्न सकिँदैन । खाता प्रअकै हस्ताक्षरमा चल्नुपर्छ,’ शर्माले भने, ‘स्थानीय तहबाटै निकासा हुने बजेट जुन पायो त्यही खातामा पठाउन मिल्दैन ।’


शिक्षा विभागले पनि एउटै खाता बनाउन भनेको छ । विद्यामन्दिरको राष्ट्रिय वाणिज्य बैंकमा रहेको एउटा खातामा उच्च मावि संयोजक मनोज रोकाको हस्ताक्षर चल्छ । उमावि २ वर्षअघि नै खारेज भइसकेको छ । कक्षा १ देखि १२ सम्म मावि बनेका छन् । यसअघि मावि तहको प्रअ स्नातकोत्तर नभएका विद्यालयमा उमावि संयोजक राख्ने चलन थियो ।


यो विद्यालयमा भने ३ वर्षअघि आएका जगन्नाथ आचार्य र हालका प्रअ ढकाल स्नातकोत्तर हुन् । ‘स्नातकोत्तर भएका प्रअ आएपछि उमावि हेर्ने छुट्टै संयोजक चाहिंदैन,’ ढकालले भने, ‘बरु सहसंयोजक राखेर संकाय हेर्ने बनाउन सकिन्छ ।’ उमावि संयोजक भएकै कारण रोकाले मासिक १७ हजार रुपैयाँ भत्ता बुझ्छन् ।


उनी उमावि तह अध्यापन गराउने भएकाले मावि द्वितीय श्रेणीसरहको तलब खाने शिक्षक पनि हुन् । ‘दिउसो पढाएको मावि द्वितीय खानुहुन्छ, बिहानको संयोजक भएर १७ हजार खानुहुन्छ,’ ढकालले भने, ‘ओभरटाइम र विशेष भत्ताको पनि सुविधा लिनुभएको रहेछ ।’ गत महिना मात्र विद्यालयले रोकासहित विष्णु काफ्ले, यामबहादुर पोखरेल र प्रकाशप्रसाद सापकोटालई मात्र ओभरटाइम भत्ता १ लाख ६ हजार ७ सय ७६ रुपैयाँ खातामा राखिदिएको थियो । जेठमा अधिकांश दिन कक्षा ११ र १२ को पढाइ थिएन ।


अध्यक्ष राजभण्डारीले एउटै शिक्षकलाई फरकफरक खाताबाट फरकफरक शीर्षकमा तलब नदिने अडान लिएका छन् । ‘सरकारले तोकेको तलब खाने हो, फरक बैंक खाता बनाएर एउटै शिक्षकले ४ थरी तलब खाएका छन्,’ राजभण्डारीले भने, ‘अब मैले कुनै हालतमा दोहोरो तलब दिन सक्दिनँ ।’


उनले विद्यालयमा बढेको विवादले अन्य शिक्षकलाई समेत समयमा तलब खुवाउन नपाएको गुनासो गरे । ‘शिक्षामा पनि यस्तो बेथिति हुने बल्ल थाहा पाएँ,’ उनले भने । रोकाले भने मिहिनेतअनुसार समितिले निर्णय गरेर भत्ता र थप तलब खुवाएको दाबी गरे । ‘हामी गुणस्तर पनि दिन्छौं, भत्ता पनि खान्छौं,’ रोकाले भने, ‘अभिभावकले पत्याउने बनाउन सकिएको छ, त्यसैले विद्यार्थीको आकर्षण पनि छ ।’ दिउसोमा कक्षा ११ र १२ सञ्चालन गर्दा विद्यार्थी घट्लान् भन्ने आस गरेकाले विद्यालयविरुद्ध भ्रम छरेको उनले दाबी गरे । संघीय सरकार र स्थानीय सरकारको फरकफरक सर्कुलर आएकाले खाता बन्द गर्न नसकिने रोकाले बताए ।


शिक्षा विकास तथा समन्वय प्रमुख कुश्मराज उपाध्यायले दोहोरो सरकारी सुविधा खान र धेरै खाता चलाउन नपाइने बताए । ‘पेन्सन खानेले सामाजिक सुरक्षा भत्तासमेत खान पाउँदैन, एउटै विद्यालयको दुई खाताबाट दोहोरो तलब कसरी पाउनु ?’ उपाध्यायले भने, ‘यो नमिल्ने कुरा हो, खाता पनि एउटै बनाउनैपर्छ ।’


२०७२ मा शिक्षा विभागले पत्र पठाएर दिउसो चलाउन भने पनि यो विद्यालयमा केही संकाय बिहानमा चलिरहेका छन् । बिहान चलेकै कारण रोकासहित ३५ शिक्षकले बिहान पाठ्यभारअनुसारको तलब खान्छन् ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?