२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

विना थापा

कास्की — पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी सुत्केरीका शुक्रबार मृत्यु भएको छ । आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले मुत्यु भएको आरोप लगाएका छन । यसैकारण अस्पताल दिनभर तनावग्रस्त रह्यो । 

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव

कास्की अन्नपूर्ण गाउँपालिका–७ घर भइ पोखरा– १४ चाउथेमा बस्दै आएकी ३५ वर्षीया निशाकुमारी थापामगर (गीता) ले बिहीबार बेलुकी छोरालाई जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएको र पाठेघर नखुम्चिएकाले शल्यक्रिया गरेपछि बिहीबार बिहान उनको मृत्यु भएको हो । बिहान ३ बजेतिर मृत्यु भए पनि अस्पतालले बिहान ६ बजेमात्रै जानकारी दिएको आफन्तले जनाए । मृतक बिहीबार हिँडेरै अस्पताल पुगेकी थिइन् ।


‘शिशु जन्माएपछि आफैं शौचालय गएर आउनु भएको पनि हो’ मृतककी बहिनी तारा थापाले भनिन्, ‘रक्तस्राव भएपछि नर्सलाई खबर गरेकी थिएँ । नर्सले सामान्य भनेपछि त्यसै बसियो । पछि रगत धेरै बग्न थाल्यो, फेरि खबर गरें, साढे एक घण्टापछि डाक्टर आएका थिए ।’ डाक्टरको लापरबाही र ढिला आएको कारण ज्यान गुमाउन पुगेको मृतकका आफन्तहरूको आरोप छ । मृतक थापा मगरले १२ वर्ष पहिला त्यही अस्पतालमा छोरा जन्माएकी थिइन् । उनका श्रीमान् विदेशमा छन् ।


उपचारमा कुनै कमजोर नभएको अस्पतालका निर्देशक अर्जुन ज्ञवालीले बताए । ‘नर्मल डेलिभरी भएको केही समयपछि रक्तस्राव भएको खबर पाउनसाथ डाक्टर पुगेको र रक्तस्रावका कारण पाठेघर नखुम्चेकाले पाठेघरको अप्रेसन गरेको हो ।’ उनले भने, ‘अप्रेसन गरेर भेन्टिलेटरमा राखेपछि शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो, पाठेघर फालेर बचाउन सकिन्छ कि भनेर अप्रेसन गर्दा पनि बचाउन सकिएन’ ।


यो विषयलाई लिएर अस्पतालमा धर्ना दिनपुगेका मृतकका आफन्तले अस्पतालको प्रशासनमा ताला समेत लगाइदिएका छन् । पीडित र अस्पताल प्रशासन बीच घटनालाई लिएर ३ घण्टा वार्ता भएको थियो । तर टुंगो नलागेपछि ताला लगाएका हुन । केहीबेर मृतकका आफन्त र प्रहरीबीच झडप पनि भयो ।


झडपमा शोभाखर पौडेल, विष्णु गुरुङ, मृतकको बुबा नरबहादुर थापामगर र भान्जा रमेश थापामगर घाइते भएका छन । केही प्रहरी पनि घाइते भए । प्रहरीले ढुंगामुढा गरेको आरोमा राजु थापा, अनिल थापा, राम गुरुङलाई पक्राउ गरेको छ । अस्पतालमा वार्ता हुन नसके पछि जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जिल्ला प्रहरी कार्यलयमा बार्ता भएको बताए पनि मृतकका आफन्तले भने समिति नै बनाएर आन्दोलनमा जाने बताए ।

प्रकाशित : श्रावण ११, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?