कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गाउँपालिका केन्द्र पुग्न कठिन

प्रकाश बराल

बागलुङ — बरेङ गाउँपालिकामा कार्यरत रेन्जर सुजन श्रेष्ठलाई पटकपटक सदरमुकाम आउजाउ गर्नुपर्छ । जेठ अन्तिम सातादेखि सडक बिग्रिएका छन । सबै भन्दा छोटो सिगाना, गाजादह हुँदै पुग्ने सडकमा सवारी चल्नै नसक्ने भएको छ ।

गाउँपालिका केन्द्र पुग्न कठिन

धेरै स्थानमा हिलो, ग्रेड नमिलेको, घुम्ती र पहिरोले अबरुद्ध हुँदा श्रेष्ठ सास्ती खेर्प्दै ओहोरदोहोर गर्छन । सदरमुकामबाट छुटेका जिप गन्तव्यमा पुग्छन् भन्ने यकिन नभएपछि यात्रीले पैदल हिँड्ने हिम्मत बटुलेपछि मात्र यात्रामा निस्कन्छ ।


यस्तो सास्ती व्यहोर्नेमध्येकी निर्मला शर्मा पनि हुन । सदरमुकाम आउँदा उनले दुई पटक जीप फेरिन् । ३ घण्टा पैदल यात्रा पनि गरिन् । सदरमुकामदेखि ४५ किलोमिटरको यो सडकमा जिप चढेर यात्रा गरे पनि दिन बिताउन बाध्य हुनुपरेको उनको गुनासो छ । बरेङ पुग्ने यो सडकबाहेक कुश्मीसेरादेखि राङखानी हुँदै, गलकोटदेखि बाराकोट हुँदै जाने र गुल्मीको शान्तिपुरदेखि जाने अरू तीनवटा सडक छन् ।


तर, अहिले चारवटै सडकमा भर पर्नै नसकिने भएका गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले बताइन् । ‘सडक संजालले चारैतिर छोएको छ, तर भरपर्दो कतै छैन’ पुनले भनिन्, ‘साउन लागेकोले तत्काल भुक्तानी पाईंदैन भनेर मर्मत गर्ने कामदार समेत पाइएको छैन ।’ वर्षौंदेखि यस्तै समस्या भोगिएकोले नौलो नलागेको उनले टिप्पणी गरिन् । गाउँपालिकाको आफ्नै डोजर नभएकोले दैनिक जसो खोजेर सडक खुलाउन लगाउनुपर्दा सहज नभएको उनले बताइन् ।

जनप्रतिनिधि आएपछि सबै सडक स्तरीय बनाउने योजना बनेको छ । ती सडकका लागि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको गरी करोडौं बजेट बिनियोजित छ । गत आर्थिक वर्षपनि यहाँ झन्डै २ करोड बढी खर्च भयो । उक्त बजेटले खनिएका सडकमा संरचना बनाइएको छैन ।


‘नाली, ग्याबिनजस्ता संरचना कतै बनेका छैनन्’ श्रेष्ठले भने, ‘हिलाम्मे र ग्रेड नमिलेको सडक भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्छ ।’ साँघुरा घुम्तीमा जिप मोड्नै नसक्ने अवस्थाले दुर्घटनाको जोखिम भएको उनले बताए । सबै सडकका दर्जनौ स्थानमा खसेका पहिरोले बरेङ गाउँपालिका सिधा सम्पर्कबाट टुटेको स्थानीयले पनि गुनासो गरे । गाजादह हुँदै बरेङ पुग्ने र कुश्मीसेरादेखि बरेङ पुग्ने दुइवटा बाटो रणनीतिक सडकको रूपमा सूचीकृत छन् ।


दुई पालिका र दुई जिल्ला जोड्ने भएकोले यो सडकमा प्रदेश सरकारको पनि लगानी छ । अनुगमन फितलो हुँदा अधिकांश सडक स्तरीय बन्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । ‘अधिकांस योजनाको ईस्टिमेट गर्नेनै अनुगमन र मूल्यांकनकर्ता बस्ने प्रवृत्तिले योजना अलपत्र छन्’ उनले भने, ‘फरक विज्ञलाई अनुगमन र मूल्यांकन गर्न नदिएसम्म सडकको हालत उस्तै हुन्छ ।’


सदरमुकामकै बागलुङ नगरपालिकामा पनि वडा ११ जाने सडक अभावले सम्पर्क टुटेको छ । यहाँका मानिस पैदलै मुकाम झर्न बाध्य छन् । सिगानादेखि जाने र तित्याङ, भकुण्डे हुँदै पुग्ने दुवैतर्फका सडकमा अहिले सवारी चल्न नसकेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘बिरामी र बूढाबूढीलाई बढी सास्ती भएको छ’ गौतमले भने, ‘प्रदेशस्तरीय योजनामार्फत सडक स्तरोन्नति गर्न लागिएको दुवैतर्फ अहिले सवारी नचल्दा मारमा परेका छौं ।’ पहिरोले आन्तरिक सडक र रायडाँडा पुग्ने मुल सडक अवरुद्ध भएका हुन् ।


ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजार पुग्ने मुख्य सडक पनि अवरुद्ध भैरहेको छ । गत बर्ष खसेको तुरतुरे पहिरोमा निरन्तर ढुंगा खस्ने र भासिने समस्याले सवारी साधन जोखिम मोलेर जान बाध्य छन् । यहाँ बडिगाड खोलाले निरन्तर खोलेको छ । माथीबाट पहिरो खस्ने समस्या पनि उत्तिकै भएपछि जुनसुकै बेला सडक अवरुद्ध हुने खतरा बढेको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । यो सडक अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका सहित निसीखोला र तमानखोला गाउँपालिका जान सकिँंदैन ।

प्रकाशित : श्रावण १३, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?