कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

'बा’ को भेषमा बालयौन दुराचार

दीपक परियार

पोखरा — अग्लो कद । छत्रे टोपी । साइकलको घुमाइ । लेकसाइडमा बच्चादेखि वृद्धसम्मले उनलाई बोलाउने नाम थियो, ‘टम बा (बुबा)’ । अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरिम्यान १० वर्षदेखि पोखरासँग परिचित थिए । ६३ वर्षीय यी पारा–पाइलट हाल बालयौन दुराचार र अप्राकृतिक मैथुनको अभियोगमा कास्की हिरासतमा छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साउन ७ मा लेकसाइडको डिहिकोपाटनबाट उनलाई पक्राउ गरेको हो । डिहिकोपाटनस्थित अपार्टमेन्टमा उनी दुई बालकसँग अप्राकृतिक मैथुनमा संलग्न अवस्थामै पक्राउ परेका हुन् । १२ र १४ वर्षका ती बालकलाई ललाइफकाई यौन दुराचार गरेको आरोप उनीमाथि छ । दुवैको उद्धारपश्चात् उनीहरू अभिभावकको जिम्मामा छन् ।


थोमस विगत ३ वर्षदेखि कामदार भिसामा नेपालमा थिए । पोखराको एक पाराग्लाइडिङ कम्पनीमा काम गर्थे । सियोले शरीरका विभिन्न भागमा घोचेर गरिने उपचार पद्धति अकुपञ्चरका उनी चिकित्सक पनि हुन् । सन् २०१० बाटै उनी नेपाल आउजाउ गर्न थालेका थिए । नेपालमा उनी एक्लै आउँथे ।


आर्थिक वर्ष २०७१/७२ मा विदेशी नागरिकलाई श्रमस्वीकृति दिने व्यवस्था आउनुअघि उनी पर्यटक भिसामै आउजाउ गर्थे । नेपालबाट युरोप र भारत पुगेर फर्कन्थे । पोखरा बसाइका क्रममा उनले चार पाराग्लाइडिङ कम्पनीमा पारापाइलटका रूपमा काम गरे । आफ्नो कम्पनीमा काम गर्दा कुनै दिन नराम्रो गरेको थाहा नपाएको एक कम्पनीका सञ्चालकले बताए ।


‘रक्सी, चुरोट नखाने, निरोगी, समयमा चल्ने र ग्राहकलाई पनि खुसी बनाउने स्वभाव थियो,’ ती सञ्चालकले भने, ‘यस्तो होला भन्ने केही शंका पाइएन ।’ पाराग्लाइडिङ उडाउनेबाहेक अकुपञ्चर सेवासमेत उनले दिए । केही पारापाइलट उनकामा उपचार गर्न पुग्थे । लेकसाइडमा उनी शुल्क लिएरै उपचार गर्थे ।


नेपाल आउनुअघि उनी १० वर्ष अमेरिका बसेका थिए । १२ वर्षअघि श्रीमतीसँग उनको सम्बन्धविच्छेद भयो । आफूबाट बच्चा हुन नसकेपछि श्रीमतीसँग सम्बन्धविच्छेद भएको उनी नजिकका नेपाली साथीसँग बताउँथे । ‘आफूबाट बच्चा हुन नसकेकाले बच्चाबच्ची भनेपछि एकदमै माया लाग्छ भन्थे,’ थोमसका नजिकका एक नेपाली साथीले भने, ‘दुराचारी भन्ने कल्पनाभन्दा बाहिर थियो ।’ उनका

अनुसार अस्ट्रेलियाको सिड्नीमा थोमसको निजी घर छ, जसको मूल्य १० लाख डलरभन्दा बढी पर्छ । घरबाट मासिक ५ हजार डलर भाडा उठाउँछन् ।


पौडिने ठाउँमा निसाना

लेकसाइडको कोमागानेपार्क पछाडि, फिस्टेल रिसोर्टको अघिल्तिर फेवातालमा पौडिनेको दिनहुँजसो घुइँचो लाग्छ । शुक्रबार र शनिबार धेरै स्कुले बालक त्यहाँ पौडिन पुग्छन् । १४ वर्षीय बालकसँग थोमसको भेट ३ महिनाअघि त्यहीँ भएको हो ।


ती बालक पनि साथीसँग पौडिन त्यहाँ पुग्थे । उनका अनुसार थोमसले बच्चालाई निकै माया गरे जस्तो गर्थे । कोही नग्न र कोही अर्धनग्न बालकसँगै थोमस पनि पौडन्थे । बालकलाई पानीमा उचाल्ने, पछार्ने गर्थे । केही बालक उनको ढाडमाथि चढेर पौडिन्थे । थोमससँग भेट भएको करिब एक महिनापछि ती बालकको ढाड सडकियो ।


थोमसले आफू अकुपञ्चर चिकित्सक भएकाले उपचारका लागि डिहिकोपाटनमा रहेको आफ्नो अपार्टमेन्टमा आउन भने । अपार्टमेन्टमा उनी एक्लै बस्दै आएका थिए । ती बालक घर नजिकैका अर्का १२ वर्षीय बालकलाई लिएर थोमसकामा गए । थोमसले अकुपञ्चर विधिबाट उपचार गरिदिए । दुई/तीन दिनमा दुखाइ निको भयो । अर्का बालकको शरीरमा आएको घाउको पनि थोमसले उपचार गरिदिए ।


थोमसको अपार्टमेन्टमा दुई बालकको आउजाउ बढ्न थाल्यो । आफ्नो अपार्टमेन्ट फोहोर भएकाले सफा गर्न एक कामदार चाहिएको उनले बालकलाई बताए । उनले तिनै १४ वर्षीय बालकलाई कामदारका रूपमा राखे । ‘सुरुसुरुमा माया गर्नुहुन्थ्यो, दुर्व्यवहार गर्नुहुन्थेन,’ ती बालकले कान्तिपुरसँग भने, ‘२ सातापछि नराम्रो हर्कत गर्न थाल्नुभयो ।’ आफ्नो छोरामाथि यौन दुर्व्यवहार भएको थाहा पाएपछि १२ वर्षीय बालककी आमा स्तब्ध छिन् । ‘यस्तो कहिल्यै थाहा पाइएको थिएन,’ उनले भनिन्, ‘के भएको भनेर छोरालाई सोध्न पनि सकेकी छैन ।’


थोमस लामो समयदेखि नेपाल बसेकाले अन्य बालक पनि पीडित भएको हुन सक्ने कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की शंका गर्छन् । ‘अहिले दुई बालक मात्रै पीडित देखिए पनि अरू पनि हुन सक्ने देखिएको छ,’ उनी भन्छ्न, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार पेडोफाइल (बालयौन दुराचारी) ले गरिब, दीनदुःखी बालकलाई निसाना बनाउने गरेका छन् । भन्छन्, ‘पहिला एकदमै माया गर्ने र हेरचाह गर्ने गरेर नजिक बनाउने, पछि ललाइफकाइ गर्ने गरेको देखियो ।’


यसअघि २०७१ साउन ११ मा पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभर १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गर्दैगर्दा पक्राउ परेका थिए । २०७२ चैत १८ लेकसाइडको एक होटलबाट जर्मन नागरिक कर्निलियस स्किलिङ भोन कन्स्ट्याटलाई पनि प्रहरीले बालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?