१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुम्कीबास–त्रिवेणी ट्र्याक खोल्न माग

कान्तिपुर संवाददाता

गण्डकी — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकावासी गापा केन्द्र पुग्न प्रदेश ५ को बाटो हुँदै जानुपर्छ । उक्त क्षेत्र विकासमा पछाडि पनि छ । तर गण्डकी प्रदेश सरकारले उनीहरूको अवस्था बुझेर समस्या समाधान गर्नुपर्ने माग उठेको छ ।

उक्त क्षेत्र प्रदेश ५ मै फिर्ता हुने चर्चासमेत चलेकाले विशेष सम्बोधन गर्नुपर्ने आइतबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद विष्णु लामिछानेले बताए ।


‘त्रिवेणीवासी गण्डकी प्रदेशमा आउँदा खुसियालीमा दीप प्रज्वलन भयो,’ लामिछानेले भने, ‘गाउँपालिकाकै केन्द्र आउन ४२ किलोमिटर एकतर्फी पार गर्नुपर्छ ।’ लामिछानेले दुम्कीबास–त्रिवेणी सडकको ट्रयाक खोल्न माग गरे । यदि सडक खुल्ने हो भने ४२ किमि हिँडेका जनता २५ किलोमिटरमा सहजै यात्रा गर्न पाउनेछन् । ‘दूरी घट्नुको साथै आफ्नै प्रदेश हुँदै सदरमुकाम जान पाउने थिए,’ उनले भने । १० किलोमिटर ट्रयाक खुलेपछि सडक निर्माणको काम रोकिएको हो । चितवन राष्ट्रिय निकुञ्ज भएकाले बाटो निर्माणको काम रोकिएको थियो । अव १२ किलोमिटर ट्रयाक खोले त्यहाँका स्थानीयलाई सहज हुने लामिछानेको भनाइ थियो ।


गण्डकी प्रदेशले टाढाको क्षेत्रको अपनत्व गरेको आरोप लगाउँदै स्थानीय पुनः प्रदेशबाट टुक्रिन खोजेकाले यसलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । ‘त्रिवेणी बजारलाई गण्डकी प्रदेशभन्दा पनि गण्डकी प्रदेशलाई त्रिवेणी बजार चाहिएको हो,’ उनले भने, ‘त्रिवेणी बजार भारतसँग जोडिएको नाका हो । गण्डकी प्रदेशसँग जोडिएको भारतको एउटै नाका त्रिवेणी भएकाले यहाँ एकीकृत विकास परियोजना लागू गर्नुपर्छ ।’


यसैगरी सांसद दीपक कोइरालाले गणतन्त्रका योद्धा शक्ति गुरुङलाई जेल हाले, सबै सांसदलाई जेल हाल्नुपर्ने बताए । ‘गणतन्त्र ल्याउन पहल गर्ने सबै नेतालाई जेल हाल्नुपर्छ,’ उनले भने, ‘हिजोको शाही सेना छैन । अहिले नेपाली सेना हो । नेपाली सेनाले जेल कोच्न मिल्छ ? यदि मिल्छ भने, सबैलाई जेल हाल्नुपर्छ । पूर्वलडाकुको जमात नै अहिलेको नेपाली सेना हो ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?