गण्डकी विश्वविद्यालय विधेयक विधायन समितिमा

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सैद्धान्तिक छलफलपछि समितिमा पठाएको हो । विधेयक आइतबारको बैठकमा प्रदेशसभामा पेस भएको थियो । 

सामाजिक विकासमन्त्री नरदेवी पुनले विश्वविद्यालय प्रदेश सरकारले आफ्नो मातहतमा स्थापना गर्ने उद्देश्यसहित विधेयक ल्याएको बताइन् । ‘अहिलेसम्म भएका विश्वविद्यालय संघीय सरकारको मातहतमा छन,’ उनले भनिन्, ‘हाम्रो मातहतमा केही छैनन् । यसैले अर्को विश्वविद्यालय खोल्न लागेका हौं ।’

उनले विश्वविद्यालय राजनीतिमुक्त रहने र अनुसन्धानको थालनी हुने दाबी गरिन् । अहिलेको शिक्षा पद्धति ७० प्रतिशत साधारण र ३० प्रतिशत प्राविधिक रहेकाले यसलाई सुधारका लागि ३० प्रतिशत साधारण र ७० प्रतिशत प्राविधिक बनाउने लक्ष्य सरकारको रहेको पुनले बताइन् । उनले विद्यालय खुलेसँगै नेपाली युवायुवती र नेपाली पैसा पनि बिदेसिन नपर्ने बताएकी छन् ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डोबाटे विश्वकर्माले गण्डकी विश्वविद्यालय निर्माणका लागि गठित समितिमा महिला, दलितलगायतको सहभागिता सुनिश्चित गर्न माग गरेका थिए । धनञ्जय दवाडीले एक सय वर्षपछाडिको विकास हेरेर गण्डकी प्रदेश सरकारले पनि विकासको नयाँ खाका कोर्नुपर्ने बताउँदै गण्डकी विश्वविद्यालयले अब प्रदेशको मात्र नभई देशकै मुहार फेर्ने बताए । ‘सरकारले आफ्नै क्षमता र ज्ञानले सुरु गर्न लागेको हो,’ उनले भने ।

यसैगरी प्रभा कोइरालाले शिक्षालाई व्यावहारिक, सैद्धान्तिक, स्वतन्त्र र जनउपयोगी गराउने गरी स्थापना हुन लागेको विश्वविद्यालयको विषयमा कसैले पनि विरोध नगर्न अनुरोध गरिन् । प्रदेशले अपनत्व लिएर अघि बढ्न पाउनुपर्ने उनको भनाइ थियो । पियारी थापाले स्वच्छ र खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्नुपर्ने बताइन् ।

यसैगरी हरिशरण आचार्यले पोखरा विश्वविद्यालय, गण्डकी प्रतिष्ठान हुदाँहुदै नयाँ विश्वविद्यालय खोल्न नहुने बताए । भइरहेकालाई संरक्षण र स्तरोन्नति गर्नुपर्ने उनको भनाइ थियो । उनले गण्डकी विश्वविद्यालयको विधेयक स्थगित गर्नसमेत माग राखेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले पनि गण्डकी विश्वविद्यालय स्थापनाबारे विरोध जनाएका छन् । सत्तापक्षका कृष्ण थापाले गण्डकी विश्वविद्यालय आवश्यक रहेको र तत्काल यसको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नवलपुरमा बढ्दै दुर्व्यसनी

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार र आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा देबचुली नगरपालिकाको रजहरबाट २ र कावासोती नगरपालिका–१६ बाट एक जनालाई पक्राउ गरेको हो । 

रजहरको फारमचोकबाट पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगर–२१ का ४० वर्षर्यी जितेन केसी र रुपन्देही ओमसतिया गाउपालिका–४ बैतौलियाका ३४ वर्षका चुनमुन मल्लाहा छन् ।

उनीहरूको साथबाट नुर्फिन ६०, फेनारागन ६० र डाइजेपाम सेरिजेक ६० एम्पुल बरामद भएको छ । यसैगरी गोरखाको सहिद लखन गाउँपालिका–३ मनकामनाका २३ वर्षीय विशाल थापा पनि पक्राउ परेका छन् । उनको साथबाट २ मिलिग्राम झोलसहितको डाईजापाम २ सय एम्पुल, फेनरागन २ सय एम्पुल र नुफिन २ सय फेला पर्यो । पक्राउ परेकाहरू लागूऔषध सेवन र ओसारपसरकै लागि भनेर नवलपुर आएका हुन् ।

जिल्लामा पछिल्लो समय दुर्व्यसनी र लागूऔषध कारोबार बढेको यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पूर्वी नवलपरासीमा लागूपदार्थको कुलतमा फस्ने युवाको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वको आँकडाले यस्तो देखाएको हो । गत आर्थिक वर्षमा मात्रै जिल्लामा लागु औषधसम्बन्धी ८६ मुद्दा दर्ता भए र १२० पुरुष र २ महिलाले सजाय पाएका छन् ।

जिल्लामा लागु औषधको कारोवार नभएपनि छिमेकी जिल्लाबाट खरिद गरेर ल्याउने र विभिन्न जिल्लामा लैजाने ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोख्रेलका अनुसार गत आवमा ५५ केजी चरेस, ५ हजार ४ सय ७२ ट्याब्लेट, २ सय २ बोतल फेन्सेडील र आठ सय ग्राम गाजा बरामद भएको छ । ‘जिल्लामा व्यवसायिक कारोबार नभएपनि पश्चिम नवलपरासीको महेशपुर, रुपन्देहीदेखी अन्य जिल्लामा लैजान यो जिल्ला प्रयोग भएको पाईयो,’ पोख्रेलले भने, ‘सवारी चेकलाई कडाइ गरेपछि कारोवारी पक्राउ परेका छन् ।’

प्रकाशित : श्रावण २१, २०७६ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT