१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

होमस्टेले थारू बस्तीमा समृद्धि

नारायण शर्मा

नवलपरासी — कावासोतीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको अमलटारी थारू होमस्टेले थारू समुदायको .जीवनमा कायापलट भएको छ । 
उत्कृष्ट व्यवस्थापनवाट स्थानीयको जीवनयापन आर्थिक समृद्धितर्फ लम्कँदै छ । दैनिकी फेरिएको छ । २४ सै घण्टा बेफुर्सदिला छन् । आर्थिक रूपले ठूलै फड्को मारेका छन् घरमै बसेर । 

‘वनजंगल र वन्यजन्तुको संरक्षण गर्ने र करोडौं लगानी गर्नेले व्यवसाय गरेर नाफा कमाउने भन्ने सोच्थ्यौं,’ होमस्टे सञ्चालक नरबहादुर महतो भन्छन, ‘यहाँका ठूला होटलका हात्ती चराउने, कपडा धुने, सागसब्जी किन्न जाने, होटल सफाइमा काम गर्दैमा एउटा पुस्ता बित्यो । अनि हामीले पनि केही गर्नुपर्छ भन्ने लाग्यो र समुदायले २०७० सालमा होमस्टेको काम थाल्यौं ।’


अनुभव थिएन । बर्दियाको डल्लामा सञ्चालित होमस्टे व्यवस्थापन हेर्न गयौं । त्यहाँको अनुभव सिकेर यहाँ थालिएको उनले बताए । अहिले देशभरिबाट हाम्रो अनुभव सिक्न आउँछन् । हरेक साताजस्तो विभिन्न तालिम, सेमिनार, गोष्ठीका कार्यक्रम लिएर आउँछन् र यहाँको आनन्द लिएर फर्किने स्थानीयको भनाइ छ ।


पारिवारिक र समुदायका विभिन्न गतिविधिमा संलग्नको समूह बढी आउनेमा पर्छन् । पछिल्लो पटक सामुदायिक वन, आमा समूह, स्थानीय तह, स्कुल, कलेजका समूहबाट महिनौं अघि बुकिङ हुने गर्छ । यहाँ थारू समुदायका २१ र बोटे समुदायका ३ होमस्टे छन् । हरेक घरमा २/२ कोठा (४ बेड) को होमस्टे छ । लोकल परिकार माछा, हाँस, कुखुरा, स्थानीय तरकारी, घोगी, चिचर मकै प्रख्यात छ । यहाँ आउनेहरूले उच्च तहका होटलको बसाइ र खानपिनको अपेक्षा गर्दैनन् । खाना घरमै भुइँमा गुन्द्रीमा बसेर खाने चलन छ ।


कोठाको ६ सय, सादा खानाको एक सय ३० र मासुभात २ सय ५० लिइन्छ । थारू, बोटे, माझी र मुसहर समुदायको सांस्कृतिक कार्यक्रम देखाइन्छ ।


यहाँ आउनुको अर्को मुख्य आकर्षण छेवैमा रहेको मध्यवर्ती सामुदायिक वन जंगल र वन्यजन्तु हेर्न नै हो । होमस्टेसँगै दक्षिणतर्फ जोडिएको मध्यवर्तीमा देखिने प्राकृतिक मनोरम र वन्यजन्तु अवलोकनको आकर्षणले बर्सेनि विदेशी पर्यटकको चाप पनि बढ्दो छ । हात्ती चढेर जंगल घुम्ने, गाडामा जंगल हेर्न, पैदलमार्ग, जिप सफारी मुख्य आकर्षण रहेका छन् ।


यहाँको गुन्द्रही ढकाह मध्यवर्ती, नमुना मध्यवर्ती, कृष्णसार मध्यवर्ती सामुदायिक वन र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनले धेरैलाई लोभ्याउने गरेको छ । गैंडा, हरिण, चित्तल, चराचुरुंगी, बाघ, भालु देख्न पाइन्छ । एउटौ थलोमा २३ वटासम्म गैंडा फेला पारेको सम्झिन्छन् होमस्टेका व्यवस्थापक धनीराम महतो ।


ती सबै वन चितवन निकुञ्जसँग जोडिएको र नारायणी नदीको किनारमा रहेकाले धेरैको मन लोभिने गरेको छ । होमस्टेको बसाइ शान्त, मनोरम र थारू संस्कृतिसँग जोडिएकाले यहाँको आनन्द अन्यत्र अनुभूति गर्न नसकिने व्यवस्थापक धनीरामको भनाइ छ । त्यसो त यहाँ होमस्टे सञ्चालन भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या नगन्य छ । गएका पनि फर्किएर होमस्टे व्यवस्थापनमा रमाउने गरेका छन् ।


मासिक कम्तीमा २५ हजारदेखि ४५ हजारसम्म हरेक घरको कमाइ हुन्छ । पर्यटकको स्वागत सत्कारमै दिन बित्ने गरेको छ । नयाँ अनुहारका व्यक्ति गाउँमा देखिँदा घरभित्र पस्ने यहाँका महिला फूलमाला र अबिर लिएर पाहुनाको स्वागतमा खटिन्छन् । घरघरमै कस्ले धेरै हाँस, कुखुरा हुर्काउने र अर्गानिक तरकारी आफैं फलाउने भन्ने होड छ ।


पैसा बचतले हरेकको घरव्यवहार सजिलो भएको छ । ऋणका लागि ३ लाखसम्म बिनाधितो आफनै हमार दिगो विकास सहकारीबाट पाउँछन । पाहुना आफूखुसी रोजेर बस्न पाउँदैनन् । घरघरै पालैपालो बस्नुपर्छ । आम्दानी समूहमा जान्छ र महिनाको अन्तमा दामासाहीले भाग लगाइन्छ ।


५ वर्षको अवधिमा यहाँको होमस्टेमा ६० हजार ५ सय २१ पाहुना बसेका छन् । विदेशीहरू पनि ६ हजारको संख्यामा आएका छन् । यसबाट ६ करोड ९४ लाख ४० हजार ९ सय १ रुपैयाँको कारोबार भएको छ । ‘हरेक दिन बुकिङ आउँछ, छैन भनेर रद्द गर्नुपर्ने बाध्यता छ,’ धनीराम भन्छन् ।


यहाँ आउनेले नै सन्तुष्ट भएको जानकारी दिने गरेका छन् । उनि भन्छन्, ‘यहाँ आउने पाहुनाहरूको सुविधाका लागि एउटै मोडेलको घर, बास र खानेकुराको साझेदारीका लागि आचारसंहिता बनाउँदै छौं ।’ महेन्द्र राजमार्गको नारायणगढबाट ३२ किलोमिटर पश्चिममा कावासोती पर्छ । त्यहाँको डन्डा बजारबाट ७ किलोमिटर दक्षिणमा अमलटारी मध्यवर्ती होमस्टे पर्छ । देशभरिमा सञ्चालित होमस्टेमध्ये यो गत वर्ष उत्कृष्ट बन्न सफल भएको छ ।


होमस्टेका परिकल्पनाकार प्रेमशंकर मदर्निया कावासोती नगरपालिकाको उपमेयर छन् । उनी हरेक रात होमस्टेमा आयोजना हुने सांस्कृतिक रमझमको संयोजक र कुशल कलाकार पनि हुन् । उनैले यहाँका अन्य बोटे, माझी र मुसहर बस्तीमा होमस्टे सञ्चालन गर्ने गरी काम अघि बढाएका छन् ।


विपन्नको जीवनस्तर सुधार्न विदेश जाने होइन यहीं केही गर्नुपर्छ भन्ने सन्देश दिन मर्दनिया आफैंले होमस्टेको कल्पना गरेर आफ्नै गाउँमा यो लहर सुरु गरेका हुन् । त्यसैको सिको गर्दै नवलपरासीका अन्य ४ स्थानमा होमस्टे सञ्चालनको तैयारी भैरहेको छ । ती सबैमा मर्दनियाले तालिम, प्रशिक्षण र सरसल्लाह दिँदै आएका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?