कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगामै टेकेर वारपार

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामाथिको बेलिब्रिज बगाएपछि मनाङवासी जोखिम मोलेर हिँड्न बाध्य
आश गुरुङ

म्यार्दी, मनाङ — बाढीले क्षति पुर्‍याएको पुलको पिल्लर खण्डहर बनेको छ । नअडिने ढुंगामाथि पाइला अड्याएर बटुवा वारपार गरिरहेका छन् ।
बेंसीसहरबाट मनाङतर्फ हिँडेको जिप बाटोमा पहिरो पन्छाउँदै म्यार्दी खोलाछेउ पुग्यो । हतार–हतार झरेर गन्तव्यमा लाग्दै गरेका यात्रु खोलामाथिको फडेमा तँछाडमछाड थिए । काठमाडौंबाट आफ्नो गाउँ मनाङ आएकी छ्युङदा गुरुङले आफैं तर्न नसक्दा बटुवाले तारिदिए ।

ढुंगामै टेकेर वारपार

‘यस्तो विजोगले आउनु पर्‍यो । न खुट्टा टेक्ने ठाउँ नै छ, न समाउने कुनै हाँगो नै । झन्डै लडेर मरिएन’ उनले भनिन्, ‘आउन त आइयो, अब फर्कने कसरी ?’ बाढीले असार ८ गते लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामाथिको बेलिब्रिज बगाएपछि मनाङवासी जोखिम मोलेर हिँड्न बाध्य छन् ।


असार १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली निरीक्षणका लागि म्यार्दीखोला आएको बेला उनले पुल छिटो निर्माण गर्न निर्देशन दिँदै गर्दा भौतिक योजना विकास मन्त्री रामशरण बस्नेले २० दिनमा बेलिब्रिज हालेर सकिने दावी गरेका थिए । ‘२० दिन त के, ४० दिन भइसक्यो । जोखिम मोलेर कतिदिन हिँड्ने हो’ मनाङको नासों गाउँपालिका १, तालका मीनराशी गुरुङले भने, ‘खोला तर्न नसकेर कोही डुबेको छ, फडेबाट चिप्लिएर लडेका छन् । कसरी जोगाउने ?’ पुलका लागि कुनै पनि प्राविधिक काम सुरु नभएको नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले बताए ।


‘बेलिब्रिज २० दिनमा बनेन भने मलाई भन्नु होला भनेर मन्त्रीज्यूले भन्नुभएको थियो । खोइ त अहिलेसम्म बनेको ?’ उनले भने, ‘पुल बनाउने सुरसारै छैन ।’ मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङले पुल पुनर्निर्माणमा डिभिजन सडक कार्यालय र ठेकेदार कम्पनीले ढिलाइ गरेको बताए । ‘मान्छेले दुःख पाएको ठेकेदार र सडक कार्यालयले बुझेकै छैन । दैनिक के भयो, कसो भयो भनेर सोध्छु । हुन्छ, भइहाल्छ मात्रै भन्छ । अहिले आएर हेर्दा त जनताको विजोग,’ उनले भने । छिटो काम गर्न आग्रहपछि बल्ल सामान ल्याउन थालेको उनले बताए ।


डिभिजन सडक कार्यालय दमौलीका अनुसार बेलिब्रिज जडान कार्य यसअघि पुल निर्माण गरेको ग्याल्बा–द क्याराभान जेभीले गर्नेछ । पुरानै ठेक्का नसकिएकाले उनले नै उक्त पुल बनाउने र इन्सुरेन्स क्लेम गर्ने सडक कार्यालयले जनाएको छ । सडक कार्यालयका सब–इन्जिनियर हरिकुमार श्रेष्ठले बेलिब्रिज आउने क्रममा रहेको बताए । केही सामान म्यार्दी पुगेको र केही सामान रामबजार साथै बेंसीसहरमा रहेको उनले बताए । ‘पानी परेपछि सडकमा पहिरो जाने गर्नाले बेलिब्रिज पुर्‍याउन गाह्रो भएको छ । पहिले क्लोजिङको समय यतिकै भयो । बाटो खुलेको छ । अब बाटो खुल्दैछ, केही दिनमै सबै सामान पुग्छ ।’


मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले समयमै पुल नबन्दा बर्खायामको समय हिमाली जिल्ला मनाङका बासिन्दाले सास्ती खेप्नु परेको बताए । ‘पुल नबन्दा आवतजावत जोखिमपूर्ण छ । सवारी साधन हिँड्न सकेका छैनन् । ढुवानीमा समस्या छ ।’ डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले पुल पुनर्निर्माण हुन धेरै समय नलाग्ने बताए ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?