२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सडकको बीचमै बिजुलीको पोल

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ मा सडक स्तरोन्नति भयो । साँघुरो सडकलाई फराकिलो बनाइयो । कालोपत्रे गर्ने भनेर सुरु भएको कामले असार मसान्तसम्म पूर्णता पाएन । चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने योजना छ ।

सडकको बीचमै बिजुलीको पोल

तर लाखौं खर्च गरेर निर्माण गरिएको सडकको बीच भागमा भने बिजुलीको पोल छ । यसले दुर्घटनाको जोखिम त बढाएको छ नै, गाउँमा आउनेले गिज्याउनेसमेत गर्छन् । बीच सडकमै पोल हुँदा सवारी आवागमनमा समस्या परेको छ ।


५ सय ५० मिटर लामो सडक तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत ४० लाखको बजेटमा निर्माण भएको हो । कालोपत्रे गर्नुपर्ने सडक समय अभावले भएको छैन । असार मसान्तसम्म भएको कामको मूल्यांकन गरेर बजेट पनि फर्छ्योट भइसकेको छ ।


स्थानीय ढुण्डीराज क्षत्रीका अनुसार सडक क्षेत्रमा पर्ने बिजुलीका पोल हटाएर सडक निर्माण गर्नुपर्नेमा बीच सडकमै हुँदा योजना अनुगमन टोलीले कसरी पास गर्‍यो भन्नेमा शंका रहेको बताए । ‘यो उदाहरण मात्र हो । नगरका अन्य स्थानमा पनि कालोपत्रे सडकको बीच भागमा बिजुलीको पोल हटाइएको छैन्,’ उनले भने, ‘पोल हटाउन लाग्ने शुल्क ठेकेदार वा उपभोक्ता समितिले तिर्नुपर्ने भएपछि जोखिमयुक्त सडक निर्माण भइरहेको छ ।’


वडाध्यक्ष लक्ष्मण भण्डारीले सडकको पोल हटाउँदा अन्यको घरमा पर्ने र घरमाथि बिजुलीको तार हुँदा दुर्घटना हुने भएकाले तत्काल पोल नहटाइएको बताए । ‘यो सडकखण्डमा मात्र ३ वटा पोल हटाउनुपर्नेछ,’ उनले भने, ‘विद्युत् र नगरपालिका केन्द्रमा खबर गर्दा घरमाथि बिजुलीको पोल हुँदा दुर्घटना हुने भन्दै हटाउन नपर्ने भन्ने सुझाव आयो । यो आर्थिक वर्षमा कालोपत्रे गर्दा हटाइनेछ ।’


देवचुली नगरपालिकाले भने विद्युत् प्राधिकरणलाई पोल सार्नका लागि बारम्बार भनेको भए पनि समयमा नै काम नहुँदा यस्तो समस्या आएको जनाएको छ । केही दिन अगाडि मात्र देवचुली नगरपालिका २ को एक सडकमा बीच भागमा बिजुलीको पोलसहित कालोपत्रे भएको थियो । स्थानीयले विरोध जनाएपछि केही दिनपछि हटाइएको थियो । कावासोती नगरपालिकाको पिठौली सडकमा पनि बीच सडकमा रहेको बिजुलीको पोलमा ठक्कर खाँदा एक मोटरसाइकल यात्री घाइते भएका थिए ।

प्रकाशित : श्रावण २४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?