२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

म्याग्देको पर्यटन विकास योजना तयार

प्रताप रानामगर

दमौली — पर्यटनको सम्भावना खोज्दै तनहुँको म्याग्दे गाउँपालिकाले ५ वर्षीय आवधिक पर्यटन विकास योजना तयार पारेको छ । योजनाविद्, पर्यटनविद्, भौगोलिक सूचना प्रणाली विशेषज्ञ, इन्जिनियर लगायतको विषयविज्ञ टोलीले गाउँपालिकाको पर्यटन विकास योजना तयार गरेको हो । 

म्याग्देको पर्यटन विकास योजना तयार

आवधिक योजनामा म्याग्दे गाउँपालिकाभित्रका पर्यटनको पहिचान, नक्सांकन र बजेट तथा स्रोत व्यवस्थापनलाई समेटिएको अध्ययन टोली प्रमुख एवंमध्ये नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङले बताए । ‘विषय विज्ञसहितको टोलीले गाउँपालिकाको पर्यटन विकास योजना तयार पारेका छौं,’ उनले भने, ‘पर्यटन प्रर्वद्धन र विकास गर्न अब सहज हुन्छ ।’


कृषि, सांस्कृतिक र पर्यापर्यटन नै म्याग्दे गाउँपालिकाको प्रचुर सम्भावना भएको अध्ययनले देखाएको छ । पृथ्वी राजमार्गसँग जोडिएको गाउँपालिका भएकाले पर्यटनको विकास द्रुतगतिमा हुने सम्भावना रहेको उनले बताए । धार्मिक तथा सांस्कृतिक, साहसिक तथा प्राकृतिक दृश्यावलोकन, जलयात्रा, होमस्टे, कृषि पर्यटनको पहिचान भएको छ । अध्ययन टोलीले सम्भावनाको पहिचान गरी नक्सांकनसमेत तयार पारेको छ ।'


धार्मिक पर्यटनमा पृथ्वी राजमार्गसँगै पर्नेमा अकलादेवीको मन्दिर र किलचोक मन्दिरलाई प्रमुख प्राथमिकतामा राखेको छ । साहिसक खेलमा वरचौर र कान्छीबराही झरनामा क्यानोनिङ, मानहुँबाट प्याराग्लाइडिङ, मानहुँ पदमार्गअन्तर्गत दमौली हुँदै मानहुँ, किलचोक, छाङटिया भीमाद र दमौली साँगे हर्षपुर मनपाङ शेराटार पदमार्गमा ट्रेकिङ र हाइकिङ रुट पहिचान गरी नक्सांकन तयार गरेको उनले बताए ।


मानहुँकोट, मनपाङकोट, आकाशेदेवी डाँडागाउँ, मूलाबारी भैरवथान प्राकृतिक दृश्यावलोकनका लागि राम्रो छ । टाक्राङ र हर्षपुर गाउँमा होमस्टे सञ्चालन भइरहेको छ । होमस्टेमा आउने पाहुनाले मगर समुदायको मौलिक नाचगानमा रमाउन पाउने छन् । अकलाथान वनभोज स्थल विकास भइसकेको छ । धारादी, बर्च्याङ, मनपाङ, ढोके, गैरीगाउँ होमस्टेका लागि पहिचान गरिएको छ ।


गाउँपालिकाको दक्षिणी भेगको लोच्च डाँडाभेगमा सुन्तलाको पकेट क्षेत्र भएकाले कृषि पर्यटन सम्भावना छ । निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलसाय म्याग्दे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म फैलिने छ । जलासयको वारिपारि वनजंगलले घेरिएकाले चराचुरुंगी र वन्यजन्तुको अवलोकनसहित जलयात्रा गर्न सक्ने भएकाले पर्यापर्यटन र जलयात्रा गर्नका लागि उपयुक्त भएको उनले बताए ।


म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाको आवधिक पर्यटन विकास योजनाले विकासको ढोका खुलेको बताइन् । ‘अध्ययन टोलीले गाउँपालिकाको ५ वर्षीय आवधिक पर्यटन विकास योजना निर्माण गरेको छ,’ उनले भनिन्, ‘योजनाअनुसार नै पर्यटनको विकास गर्ने हो ।’ आवधिक योजनालाई कार्यान्वयन गर्नका लागि बजेट विनियोजन गर्न पनि सजिलो भएको छ । अहिले गाउँसभाले पर्यटनको प्रवर्द्धन गर्नका लागि ४३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।


दुईवटा होमस्टेलाई व्यवस्थापन गर्ने, आगामी वर्षका लागि थप होमस्टेको अध्ययन गर्ने, गाउँपालिकाको पर्यटकीय गतिविधिलाई समेटी वार्षिक बुलेटिन, भ्रमण पुस्तिका तयार गरी प्रचारप्रसार गर्ने, पर्यटकीय होर्डिङ बोर्ड निर्माण, पर्यटन सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको उनले बताइन् । गाउँपालिकाको दीर्घकालीन सोचमा केन्द्रित भई गरिबी, अशिक्षा तथा विकासका मूलधारबाट वञ्चित जाति, वर्ग, क्षेत्र र समुदायलाई गुणात्मक जीविकोपार्जनको अवसर प्रदान गर्ने उद्देश्यसहित पर्यटन विकास योजना तयार गरिएको अध्यक्ष रानाले बताइन् ।


पर्यटकीय सम्पदाहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गरी गाउँपालिकालाई कृषि एवं सांस्कृतिक गन्तव्यका रूपमा पहिचान गर्ने लक्ष्य लिइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । पर्यटन विकासका लागि गाउँपालिकाले प्रमुख कार्यनीति निर्माण गरेको छ । ‘पर्यटन विकासको अवस्थालाई प्रवर्द्धन गर्नाका साथै प्राकृतिक, सांस्कृतिक, ‘ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको संरक्षण गर्ने योजनाको मुख्य उद्देश्य हो,’ उनले भने, ‘यसले स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याई समावेशीमूलक आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’


पर्यटन विकास योजनाले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन, आन्तरिक एवं बाह्य पर्यटन बजारको पहुँचमा सुधार, नयाँ पर्यटकीय सम्पदा र उपजहरूको पहिचान तथा विकास, दिगो पर्यटन विकासका भौतिक तथा सामाजिक पूर्वाधार विकास र संस्कृति संरक्षणसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।


नेपालको संविधान २०७२ र पर्यटन नीति २०६५ का आधारमा पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी स्थानीय कानुन निर्माण गरी योजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । उनका अनुसार गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा जनप्रतिनिधि, सरोकारवाला निकाय र विषयगत कार्यालयहरूको सहभागिता रहने गरी म्याग्दे पर्यटन प्रवर्द्धन समिति गठन गरिनेछ ।


भाषा, साहित्य, कला संस्कृतिको छुट्टाछुट्टै कोष स्थापना गरी विद्यमान विभिन्न भाषा, साहित्य, कला, संगीतलगायत समग्र संस्कृतिको विशिष्टीकृत तरिकाले संरक्षण र विकास गर्ने, बढीभन्दा बढी पर्यटक भित्र्याउन र उक्त क्रमलाई निरन्तरता दिन पर्यटन वर्ष, पर्यटन महोत्सव, सडक महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए । गाउँपालिकाको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रहरूको प्राथमिकता पहिचान गरिएको छ ।


आवधिक पर्यटन विकास योजना ल्याउँदा स्थानीय खुसी छन् । ‘गाउँपालिको समृद्धि नै पर्यटन हो,’ उनले भने, ‘आवधिक पर्यटन विकास योजनामा पर्यटनको पहिचान गरेको छ ।’ योजनामा पर्यटनको सम्भावन र विकास सबै समेटेको छ । कागजी रूपमा मात्र आएर मात्र केही हुँदैन । आवधिक योजना कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । योजनाअनुसार सरोकारवालासँग छलफल गरेर कार्यान्वयन गर्नका लागि जनप्रतिनिधि लाग्न उनको सुझाव छ ।


ग्रामीण पर्यटन, पदयात्रा पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, जलविहार, खेल तथा मनोरन्जन पर्यटनका क्षेत्रहरू पहिचान गरिएको छ । पृथ्वी राजमार्गसँगै फैलिएको उर्वर फाँट, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग, साहसिक पर्यटनका लागि आकर्षक स्थल, घरवासका लागि प्रचुर सम्भावना रहेका ठाउँ, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण पदमार्ग पर्यटन विकासका सबल पक्ष हुन् ।


पर्यटन विकास योजना कार्यान्वयनपश्चात् गाउँपालिकामा २०७९ सम्म ४ लाख ५१ हजार ५ सय आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने अनुमान छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?