१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बालविवाह रोक्न ‘बालकचहरी’

दिप्ती सिलवाल

पर्वत — सञ्चारसँगै सामाजिक सञ्जालको बढ्दो उपयोगले बालविवाहको दर झन् बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता जनाएका छन् । मोदी गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा बढ्दो बालविवाह रोक्न अपनाउनुपर्ने सावधानिबारे धेरैले बहस गरे ।

बालविवाह रोक्न ‘बालकचहरी’

गाउँपालिकाको चारवटा वडाभित्रका पाँच विद्यालयका बालबालिका सहभागी भए । विभिन्न धार्मिक परम्परामा अझै पनि बालबालिकाको कलिलो उमेरमै विवाह हुने र त्यसपछि पर्ने शारीरिक, पारिवारिक, सामाजिक समस्याबारे सचेत गराउन पालिका, विद्यालय र समुदायस्तरमा अभियान चलाउनुपर्ने सहभागीले बताए ।


मोदी गाउँपालिकाको सभाहलमा भएको ‘बालकचहरी’ मा भुक मावि, ज्योति मावि, सालिजा मावि, हिमालय मावि, जननेत्र मावि र बाजुङ माविका विद्यार्थीसँगै गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, शिक्षकलगायत एकै थलोमा भेला भएर बहस चलाएका हुन् । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अभियन्ता राजेन्द्र पहाडीले नेपालमा बालविवाहको कारण, अवस्था, त्यसपछिको असर, सामाजिक संरचनामा पारेको प्रभाव र न्यूनीकरणका उपायबारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।


तथ्यांकअनुसार नेपालमा ३७ प्रतिशत बालविवाह हुने गरेको छ । कुल बालविवाहमध्ये ६१ प्रतिशत मागिविवाह, ६ प्रतिशत परिवारको दबाबबाट तथा ३३ प्रतिशत केटाकेटी भागेर विवाह गर्ने पहाडीले जनाए । उनका अनुसार ह्युमन राइट्सले सार्वजनिक गरेको तथ्यांकमा ४१ प्रतिशत केटीको बालविवाह हुँदा ११ प्रतिशत केटा बालविवाहको सिकार हुने गरेका छन् । पर्वतमा हाल करिब ३७ प्रतिशत किशोरी आमा भएको पहाडीले बताए ।


पछिल्लो समय सामाजिक सञ्जालको उपयोगका कारण पारिवारिक दबाबभन्दा केटाकेटी आफैं भागेर विवाह गर्ने प्रचलन बढेकोमा सरोकारवालाले चिन्ता जनाएका हुन् । ‘छोरीको रजस्वला नहुंँदै विवाह गरिदिए मुक्ति मिल्छ भन्ने धार्मिक मान्यता अझै छ,’ पहाडीले भने, ‘पाठ्यक्रममा समेत अझै यस्तो पढाइ हुनु गलत हो ।’ सानै उमेरमा विवाह गरेर घरबारविहीन भएका धेरै देखेका छौं,’ नवज्योति माविकी छात्रा स्मृति क्षत्रीले भनिन्, ‘यस्ता कुरीति जरैदेखि उखेल्न जरुरी छ ।’


भुक माविका छात्र नारन परियारले दलित समुदायमा १५ वर्ष नपुग्दै छोरीको विवाह गर्ने चलन कायमै रहेको बताए । ‘हाम्रो समुदायका अभिभावक खासै पढे–लेखेका छैनन्,’ उनले भने, ‘छोराछोरीको विवाह गरिदिए परिपक्व हुन्छ भन्ने भ्रमले सानैमा विवाह गरिदिन्छन् ।’ अभिभावकले करकापमा विवाह गरिदिएपछि नाइँ भन्ने अवस्था नहुने यथार्थ उनले बताए ।


दलित र विपन्न समुदायमा बालविवाहविरुद्धको कानुनले कुनै प्रभाव नपारेको सहभागीले बताए । सहभागी विद्यार्थीले बालविवाहविरुद्ध बनेका कानुन, कसुरदारलाई हुने सजायबारे गाउँगाउँ र घरघरै खुला बहस चलाउन आवश्यक रहेको औंल्याए । जननेत्र माविकी दीपिका बस्नेतले गाउँघरमा हुने बालविवाहलाई अगुवाले नै गुपचुप राख्दा त्यसको असर पछिसम्म पर्ने बताइन् ।


बालबालिकाले अब बालविवाहविरुद्ध जाग्न ढिला भइसकेको बताए । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले अझै पनि अर्धविकसित गाउँमा बालविवाहले सामाजिक जरा गाढेको बताए । उनले अब त्यस्तो संस्कार जरैदेखि उखेल्नका लागि गाउँपालिकाले कानुन बनाएरै अघि बढ्ने बताए ।


उनले सामाजिक संरचनाका कारण बालविवाह रोक्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । गाउँपालिकाले चालु वर्षदेखि नै ‘हरेक दुई महिनामा बालबालिकासँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरी बालविवाह र अन्य सामाजिक समस्याबारे छलफल गर्ने योजना अघि सारिएको बताए ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?