कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फिडर छात्रावासमा पुरुष कुरुवा

प्रकाश बराल

बागलुङ — यहाँको एक विद्यालयमा ४० वर्षअघि स्थापित फिडर छात्रावासमा (छात्रामात्र बस्न पाउने) पुरुष कर्मचारी बसेका छन् । तोकिएकी वार्डेन भने दुई वर्षदेखि नियमित बस्दिनन् । महिला वार्डेन नबस्दा किशोरीहरूले आफ्नो समस्या पनि बताउन सकेका छैनन् ।

विद्यामन्दिर माविमा सञ्चालित फिडर छात्रावासमा लेखापाल धर्मराज शर्मा २ दशक देखि बस्दै आएका हुन् ।


महिलाको साटो पुरुष बसेपछि किशोरीहरूले बिरामी पर्दा आफ्नो समस्या बताउन नसकेको गुनासो गरे । ‘राति बिरामी पर्दा हामीले सरलाई भन्न सक्दैनौं, मेडम बसिदिए राम्रो हुन्थ्यो,’ एक किशोरीले भनिन्, ‘नुहाउने, कपडा फेर्ने लगायतको बेला पनि समस्या पर्छ ।’ वार्डेन गंगा शर्माले धर्मराजको श्रीमतीसहित बस्ने भएकाले केटीहरूलाई समस्या नपर्ने बताइन् । उनले भवन निर्माणाधीन भएकाले नियमित बस्न नसकेको समेत दाबी गरिन् ।


धर्मराज भने २०५६ सालदेखि यहाँ बस्दै आएको खुलेको छ । उनी कार्यालय सहयोगीका रूपमा विद्यालय प्रवेश गरेका थिए । पछि उनलाई लेखापालको जिम्मा दिइएको छ । उनी परिवारसहित छात्रावास बस्दै आएका हुन् । प्रअ शान्तमणि ढकालले भने पुरुष हटाएर महिला वार्डेन अनिवार्य बस्ने व्यवस्था गर्न लागेको बताए ।


‘म आएको तीन महिना भयो, वार्डेन नबसेको देखेपछि कुरा उठाएको छु,’ ढकालले भने, ‘हटाउन खोज्दा लेखापालले गाह्रो मानिरहनु भएको छ ।’ २० जनासम्म छात्रा राखिने छात्रावासका लागि सरकारले प्रतिव्यक्ति मासिक ४ हजारका दरले दस महिनाको ४० हजार रुपैयाँ अनुदान दिन्छ । छात्रावासको वार्डेनलाई २ हजार, सुरक्षागार्डलाई २ हजार ४ सय अतिरिक्त भत्तासमेत दिने गरेको छ ।


शिक्षा विकास तथा समन्वय इकाइको प्रमुखको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको अधिकृत र जिल्ला समन्वय समितिको प्रतिनिधि सदस्यमा रहेको व्यवस्थापन समिति रहने गरेको छ । विद्यालयको प्रअ पदेन सदस्य र छात्रवासको वार्डेन सदस्य सचिव रहने व्यवस्था छ । समन्वय प्रमुख कुश्मराज उपाध्यायले पुरुष बस्नै नपाइने बताए ।

प्रकाशित : श्रावण २८, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?