१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जमिन बाँझो रहन नदिन भूमि बैंक

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकाले खेतीयोग्य जमिन बाँझो हुन नदिन भूमि बैंक स्थापना गर्ने भएको छ । नगरभित्रका खेतीयोग्य बाँझो जग्गा पहिचान गरी समुचित उपयोगको व्यवस्था मिलाउने उद्देश्यका साथ भूमि बैंक स्थापना गर्न लागेको हो । 

जमिन बाँझो रहन नदिन भूमि बैंक

खेतीयोग्य बाँझा जग्गा छुट्याएर किसानलाई उत्पादनमूलक काममा प्रेरित गर्ने उद्देश्यले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख उदयराज गौलीले बताए । उनले भने, ‘खेतीयोग्य जमिन बाँझिँदै गएका छन् । त्यस्ता जग्गा नगरपालिकाले लिजमा लिएर खेती गर्न इच्छुक किसानलाई दिने व्यवस्था मिलाउने र यसले खेतबारी नभएका किसानले काम पाउनुका साथै खेतीयोग्य जमिनको संरक्षण हुनेछ ।’


गौलीका अनुसार खेतीयोग्य जमिन बाँझै रहँदा कृषि उत्पादनमा कमी आएको छ । नगरभित्रका किसान कामविहीन नहुने र खेतीयोग्य जमिन बाँझो नरहने उनले दाबी गरे । नगरपालिकाले कृषिमा यान्त्रीकरणलाई पनि जोड दिँदै बीउ बैंक पनि स्थापना गर्ने भएको छ । विभिन्न फलफूल, तरकारीका बिरुवा उत्पादन गर्ने तथा मौसमसँग मेल खाने जडीबुटी अलैंची, कफी, कागती, सुन्तला, अदुवा खेती गर्न पकेट क्षेत्र तोकी सामूहिक खेती गर्न प्रोत्साहित गर्ने नीति नगरपालिकाले ल्याएको छ ।


एक उत्पादन एक पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउने र व्यावसायिक उत्पादनमूलक समूह तथा सहकारीलाई प्रोत्साहन पनि नगरले गर्ने भएको छ । कृषि उपज संकलन तथा सुरक्षा गर्न शीतगृह निर्माणमा पहल गर्ने भएको छ । यस्तै, पशुचौपाया तथा कृषि उपजलाई साना किसान कृषि सहकारीमार्फत पशु कृषि धन सुरक्षा (बिमा) कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।


नगरपालिकाले जैविक खेती हरियो तरकारी, एक घर एक करेसाबारी कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । कृषि तथा पशु उत्पादन केन्द्र तोकी क्रमशः नमुना कृषि फार्म र पशु फर्मको स्थापना र विकास गर्दै लग्ने भएको छ । किसानलाई कृषि र पशुपालन कार्यलाई एकीकृत रूपमा सञ्चालन गरी व्यावसायिकतातर्फ उन्मुख गर्न प्रेरित गर्ने लक्ष्य नगरपालिकाको रहेको गौलीले बताए ।


कृषि तथा दिगो वन व्यवस्थापनका लागि नगरपालिकले प्रत्येक वडामा नर्सरी, पोखरी, धूवाँरहित चुल्हो र उज्यालोसहितको घर, एक घर दुई बिरुवा र एक वडा हरियाली पार्क निर्माण गर्ने भएको छ । साथै जैविक विविधताको संवर्द्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकूलन प्रविधिको विकास गरी कृषिजन्य उत्पादनमा प्रांगारिक खेतीलाई प्रोत्साहित गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?