फेरि मृगौलामा समस्या

कान्तिपुर संवाददाता

बागलुङ — दुवै मृगौला काम नलाग्ने भएपछि प्रत्यारोपण गरेका यहाँका एक व्यक्तिको दशक नबित्दै फेरि समस्या बल्झेको छ  । बागलुङ नगरपालिका–४ का रेशम विकको समस्या ९ वर्षमा बल्झेको हो  ।

२०६७ मा उनले आफ्नै दिदी सुनीताको मृगौला प्रत्यारोपण गरेका थिए ।


उपचारमा उनले २ घडेरी बिक्री गरेका छन् भने घर बैंकमा धितो राखेका थिए । समस्या फेरि बल्झिएपछि उनको बिचल्ली भएको हो । खर्च अभावले छोराछोरी पढाउने र दुई छाक खाने समस्या भैसकेको भन्दै उनले उपचार नगर्ने निर्णय गरेका छन् । आफन्त र छिमेकीले भने चन्दा उठाएर उपचार गराउने निर्णय गरेको विश्वकर्मा समाजका अध्यक्ष ओमबहादुर विश्वकर्माले बताए । ‘उहाँले उपचार नगरौं, धेरै खर्च लाग्छ, उपचार खर्चले छोराछोरी पाल्न पुग्छ भन्नुभएको छ, हामीले चन्दा संकलन गरेर उपचार गराउँछौं भनेका छौं,’ विश्वकर्माले भने, ‘केही सहयोग जुटाएर बाच्ने अवसर बनाउन खोजेका छौं ।’ विकका लागि श्रीमती चन्द्रकलीको मृगौला
प्रत्यारोपण गर्ने तयारी गरिएको छ ।


उपचारमा कम्तीमा २५ लाख खर्च हुने अनुमान गरिएको छ । अपरेसनपछि लामो समयसम्म औषधि सेवनका लागि मासिक ३० हजार लाग्छ । खर्च जुटाउन समस्या पर्ने भन्दै पीडितले उपचार इन्कार गरेका हुन । समाजले भने देश विदेशमा बसेका छिमेकी र आफन्तबाट सहयोग जुटाउने थालनी गरिसकेको छ । यसअघि उनले १ करोड बढी खर्च गरिसकेको बताए ।

‘मैले सबै जग्गा उपचारमा खर्च गरे,’ उनले भने, ‘बाँकी सम्पत्ति पनि उपचारमै लगाएँ भने छोराछोरी सुकुम्बासी बन्छन् ।’ बाँचुन्जेल भेटघाट गरेर बिताउने चाहना राखेपछि आफन्त सहयोग जुटाउन लागेको उनले बताए । ५२ वर्षीय पीडित विकका श्रीमती, २ छोरा र १ छोरी छन् । अपरेसनपछि पनि खानपानमा ध्यान दिने, बेलाबेला परीक्षण गर्ने र डायलायसिससमेत गर्न सकेमा लामो समय काम गर्ने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । फेरेर मात्र सधैं स्वस्थ हुन नसकिने उनले बताए ।

‘अपरेसनपछि धेरै संक्रमण हुने भएकाले ख्याल गर्न नसके समस्या बल्झने हो,’ पोखरेलले भने, ‘स्वस्थ मानिसले पनि बेलाबेला मृगौला परीक्षण गरिरहनुपर्छ ।’

प्रकाशित : श्रावण २९, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?