१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

परीक्षण अनुमति पर्खंदै घलेम्दी

कान्तिपुर संवाददाता

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ नारच्याङमा ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनका लागि तयार भएको छ । विद्युत् प्राधिकरणबाट स्वीकृतको पर्खामा रहेको सञ्चालक प्रमोद श्रेष्ठले बताएका छन् । 

निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाले जडान गरिएका मेसिनरी पाटपुर्जाको आन्तरिक परीक्षण भइसकेको जनाएको छ । ‘आन्तरिक परीक्षण सफल भएको छ । अब परीक्षण उत्पादन गर्न प्राधिकरणको स्वीकृति प्रतीक्षामा छौं,’ उनले भने, ‘प्राधिकरणका प्राविधिकको प्रत्यक्ष निगरानीमा एक महिना परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।’


सुरुमा २०७२ भित्र आयोजना निर्माण सक्ने लक्ष्य थियो । विद्युत् खरिद सम्झौता, लाइसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भूकम्प र नाकाबन्दी आदि कारणले ढिलाइ हुँदा लगानी बढ्नुका साथै ढिलाइ भएको उनले बताए । आयोजनाको लागत १६ करोडबाट बढेर २३ करोड बढी प्रतिमेगावाट पुगेको छ । बराह शिखरबाट झर्ने घलेम्दी हिउँखोला भएकाले उक्त ‘रन अफ दी रिभर’ प्रकारको हो ।


आयोजनाले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् बिक्री गर्ने सम्झौता छ । आयोजनामा १ हजार ३ सय जना संस्थापकको ३५ करोड ५० लाख र लम्बिनी तथा टुरिजम विकास बैंकको ५५ करोड लगानी छ । बाँकी आईपीओबाट जुटाइएको हो ।


घलेम्दीबाट उत्पादित विद्युत् तत्कालका लागि भने २ मेगावाट क्षमताको तातोपानी सानो जलविद्युत् आयोजनामा जोडिने भएको छ । अहिले मुस्ताङको लेतेस्थित १३ मेगावाटको थापाखोलाबाट उत्पादित विद्युत् पनि यही ३ मेगावाट क्षमताको तातोपानी जलविद्युतको सबस्टेसनमा जोडिएको छ ।


प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुस्मामा निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइनको सबस्टेसनमा जोडिनेछ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?