कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जेलबाट छुट्दै, चोर्दै

दीपक परियार

पोखरा — महानगरका ११ वडा कार्यालयमा शृंखलाबद्ध चोरी गर्नेलाई कास्की प्रहरीले १४ महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार पक्राउ परेका ५१ वर्षीय किशोर थापालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

काठमाडौं–११ स्थायी घर भएका उनी पोखरा–१० कालिकाचोकमा रहेको आफ्नै डेराबाट पक्राउ परेका हुन् । उनले डाँका चोरी मुद्दामा यसअघि पटक–पटक सजाय काटिसकेको खुल्न आएको छ । प्रहरीका अनुसार उनी डाँका चोरी मुद्दामा काठमाडौं केन्द्रीय कारागारमा २०४६ देखि २०५१ सम्म ५ वर्ष जेल बसेका थिए ।


चोरी मुद्दामै पुनः केन्द्रीय कारागारमा २०७१ देखि २०७४ सम्म ३ वर्ष जेल बसे । सुरक्षा गार्ड नहुने भएकाले उनी वडा कार्यालयलाई निसाना बनाउँथे । उनी चोरी गरेपछि नजिकैको निर्माणाधीन घरमा रातभर लुकिछिपी बस्ने र बिहान भएपछि जेब्रा झोलामा सामान राखी काठमाडौंको बस चढेर भाग्ने गर्थे । प्रहरीसँगको बयानमा उनले गाउँमा सवारीसाधनको पहुँच सजिलो नहुने भएकाले सहरलाई निसाना बनाएको बताएका छन् ।


गतवर्षको जेठमा पोखरा महानगरपालिकाको १२ नम्बर वडा कार्यालयमा चोरी भएको थियो । त्यतिबेला एक थान कम्प्युटरको मनिटर र ७ सय रुपैयाँ चोरी भयो । दुई महिनापछि १५ नम्बर वडा कार्यालयबाट एक मनिटर र १० हजार रुपैयाँ हरायो । मंसिरमा १४, पुसमा २९, माघमा ५, फागुनमा १३ र चैतमा १६ नम्बर वडा कार्यालय फोरिए ।


कार्यालयबाट सीपीयू, मनिटर, ल्यापटप, प्रिन्टर, सीसी क्यामेरा, मल्टिप्लग लगायत विद्युतीय सामग्री चोरी भए । सरकारी कार्यालयमा शृंखलाबद्ध चोरी हुँदासमेत चोर पक्रन नसकेर कास्की प्रहरीले हैरानी खेप्यो ।


चोरी गर्ने क्रम यो वर्ष पनि रोकिएन । वैशाखमा १९, जेठमा ३१, असारमा २५ र साउनमा ६ नम्बर वडा चोरी भए । सबै वडा कार्यालयमा राति चोरी भएको थियो । आइतबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी विशेष अनुसन्धान टोलीले पोखरा–६ सहिदचोकबाट थापालाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।


सोधपुछका क्रममा उनले पोखराका वडा कार्यालयमा चोरी गरेको स्विकारेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । चोरी गरेका सामान लुकाइछिपाइ बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जनाए ।


कार्कीका अनुसार विभिन्न सीसी क्यामेरामा थापा देखिए पनि पहिचान हुन सकेको थिएन । जीउडालका आधारमा राष्ट्र बैंक चोकबाट थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वडा कार्यालयमा भएका प्रत्येक चोरीका घटनाको सूक्ष्म रूपमा अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्तिको खोजतलास गरेको उनले बताए । ‘चोरी भएका सामान बिक्री वितरण तथा बनाउने पसलसँग समन्वय गरी चोरी गर्ने व्यक्तिको खोजी गर्दा पक्रन सफल भयौं,’ उनले भने ।


थापाको डेरा खानतलासी गर्दा झोलामा लुकाएको अवस्थामा एक थान ल्यापटप र एक क्यामरा भेटियो । चोरी गर्दा प्रयोग हुने फलामको रड, स्क्रु ड्राइभर, कालो पन्जा, कालो मास्क, ट्र्याक, ज्याकेट, टिसर्ट, टोपी लगायत सामान प्रहरीले बरामद गर्‍यो । २.३६ ग्राम ब्राउनसुगरसमेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई गत आइतबारबाटै लागू हुने गरी चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बैदाम हिरासतमा राखिएको छ ।


उनकै बयानका आधारमा चोरीका सामान बिक्री वितरण गरेको आरोपमा एकजनालाई प्रहरीले पक्रेको छ । काठमाडौंको कलंकीमा कम्प्युटर सोलुसन पसल सञ्चालन गर्ने ३६ वर्षीय रूपचन्द्र गोपाली पक्राउ परेका हुन् ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?