१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पक्की सडकमा कच्चीको भाडा

गोरखा–घ्याम्पेसाल र लुइँटेल भन्ज्याङ–भच्चेक सडक गत आर्थिक वर्षमा कालोपत्रे भइसके पनि बोलेरो जिप र ट्रकले पहिलेकै भाडा लिने गरेका छन्
हरिराम उप्रेती

गोरखा — गोरखा–घ्याम्पेसाल र लुइँटेल भन्ज्याङ–भच्चेक सडक कालापत्रे सकिए पनि यात्रुहरू कच्ची सडककै भाडा तिर्न बाध्य छन् । ग्रामीण भेगअन्तर्गत यी दुई सडक गत आर्थिक वर्षमा कालापत्रे भएका हुन् । 

पक्की सडकमा कच्चीको भाडा

यी सडकमा चल्ने बोलेरो जिप र ट्रकले मनलाग्दी भाडा लिने गरेका छन् । स्थानीयले सडक पक्की भएपछि भाडा घटाउनुपर्ने आवाज उठाउन थालेका छन् ।

गोरखा बजार र काठमाडौंबाट दैनिक भच्चेकका लागि छुटेका ५/७ यात्रुवाहक बसले कच्ची सडकमै निर्धारण भएको भाडा लिने गरेको अजिरकोट गाउँपालिका–३ हंसपुरका ओम गुरुङले बताए । ‘कच्ची सडक हुँदा बाह्रकिलोबाटै ४/५ घण्टा लगाएर भच्चेक पुगिन्थ्यो, अहिले बाटो सजिलो छ, २/३ घण्टामै पुगिन्छ,’ उनले भने, ‘बाटो सजिलो भएपछि भाडा घट्नुपर्ने हो ।’ सडक पिच भएदेखि नै स्थानीय भाडा घटाउन माग गर्दै आएको उनले बताए ।

ठाँटीपाखोरी–आँपपीपल करिब १३ किलोमिटरको भाडादर ७० रुपैयाँ रहेको र यो असुहाउँदो रहेको स्थानीय बताउँछन् । कच्ची सडक हुँदा एक यात्रुले सय रुपैयाँसम्म तिरेर यात्रा गर्थे । ठाँटीपाखेरीबाट लुइँटेल हुँदै घुमेर आउँदा पक्की सडकमै सवारीले ८० रुपैयाँ लिन्छ ।

‘थोरै त घटेको छ तर पिच भइसकेको सडकमा यो भाडादर धेरै हो,’ आँपपीपपलका लोकनाथ वाग्लेले भने, ‘कच्ची सडक होइन, व्यवसायी र यात्रु दुवैलाई सुहाउने गरी भाडादर निर्धारणको माग गरेका छौं ।’ नियमनअनुसारको भाडा तिर्न आफूहरू तयार रहेको उनले बताए ।

‘व्यवसायीले पनि मनलाग्दी भाडा लिनु भएन,’ उनले भने । लुइँटेल–आँपपीपल–हर्मी भन्ज्याङ–थालाजुङ–भच्चेक सडक एक महिनाअघि कालोपत्रे सकिएको छ । ६० करोडभन्दा बढी खर्चिएर पालुङटारको लुइँटेल भन्ज्याङदेखि अजिरकोटको नयाँ गाउँसम्मको ३१ किलोमिटर सडक पक्की भएसँगै स्थानीयलाई आउजाउमा सहज भएको छ ।

भाडा भने पुरानै तिर्नुपर्दा स्थानीय निराश छन् । ‘पक्की सडक हेरेर मात्र भएन, सुविधा पनि हुनुपर्‍यो,’ सिरानचोक–३ हर्मीका टेकबहादुर नेपालीले भने, ‘दुई–चार पैसाको पनि गाउँको मान्छेलाई माया हुन्छ, जनतालाई मर्का नपर्ने गरेर भाडा घटाइदिए हुन्थ्यो ।’

गोरखा आरुघाट सडक खण्डअर्न्तगत फिनामको एसघुम्तीबाट घ्याम्पेसालसम्मको १५.४ किलोमिटर सडकको कालोपत्रे पनि अन्तिम चरणमा छ । उक्त सडकमा यात्रा गर्ने यात्रुले पनि कच्ची सडकमै तिर्ने भाडा लिएर यात्रा गर्न बाध्य छन् । ‘भाडा मनलाग्दी छ, कहिले ११० त कहिले १२५ सम्म तिर्ने गरेका छौँ,’ भीमसेन थापा गाउँपालिका–१ मसेलका सितल गुभाजुले भने, ‘गोरखा बजारबाट घ्याम्पेसाल करिब २२ किलोमिटर होला, २०–३० रुपैयाँ त घट्नुपर्ने हो ।’

कच्ची सडक हुदाँ २–३ घण्टा लाग्नेमा अहिले एक घण्टामै घ्याम्पेसाल पुगिने उनले बताए । गोरखा–घ्याम्पेसाल भएर मात्र चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापालगायत साविकका २० भन्दा बढी गाविसवासी आउजाउ गर्छन् । पक्की सडकको भाडा घटाउने प्रक्रिया सुरु भई नसकेको दरौंदी यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । कालोपत्रे सडक हस्तान्तरण नभएकाले भाडा नघटेको उनले बताए । ‘रुट पनि कायम हुन बाँकी छ,’ उनले भने, ‘यातायात विभागबाट रुट कायम गरेपछि भाडा घटाउने विषयमा छलफल थाल्छौं ।’

भाडा घटाउने विषयमा एक चरण यातायात व्यवसायीसँग छलफल गरिसकेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । ‘यथाशक्य चाँडो भाडा घटाउने प्रयासमा छौँ,’ उनले भने ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?