कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

श्रमदान गरेर बिजुली

प्रकाश बराल

बागलुङ — राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन बडिगाड गाउँपालिकामा । त्यसैले चाहेको जस्तो उद्योग खोल्न सम्भव भएन । बिहानबेलुकी बिजुली बाल्दा भएको सबै ऊर्जा खपत हुन्छ । त्यसैले स्थानीयले आफ्नै लगानीमा सञ्चालित लघुविद्युत्को क्षमता बढाउन थालेका छन् । 

श्रमदान गरेर बिजुली

बडिगाड गाउँपालिका–२ का बासिन्दाले दैनिक श्रमदान, नगद लगानी र सहयोगी खोजेर विद्युत्गृह निर्माणको काम गरिरहेका छन । यसअघिको विद्युत्गृहको पानी पुनः प्रयोग गरेर थप बिजुली निकाल्ने अन्तिम तयारी भएको हो ।


दशकअघि निर्मित गिरिङदीखोला लघुजलविद्युत्ले क्षमता नपुगेपछि दोस्रो विद्युत्गृह बनाउन लागिएको उपभोक्ता समितिका अध्यक्ष निमबहादुर भुजेलले बताए ।


यसअघिको ७५ किलोवाट क्षमताको विद्युत्ले स्थानीय त्रिभुवन माविमा सूचना केन्द्र, स्थानीय रेडियो र घरेलु दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । ‘बेलाबेला लोड नपुगेर उद्योग ठप्पै हुन्छन्, रेडियोमा पनि क्षमता कम हुन्छ,’ भुजेलले भने, ‘खेरगएको पानी सदुपयोग गर्दा थप ३५ किलोवाटको बिजुली निकाल्न सकिने भयो । त्यसका लागि गाउँले मिलेर लगानी बढाएका हौं ।’


कुखुरापालन, ग्रिल उद्योग सञ्चालन र राम्रो होटलमा लगानी गर्न खोज्नेलाई यहाँ विद्युत् अभाव हुन्थ्यो । सबैको आवश्यकतालाई पूरा गर्न पहिलो पटक विद्युत् उत्पादन भएको आयोजनाको पानी सदुपयोग गरेर फेरी दोस्रो विद्युत् बनाइएको वडाअध्यक्ष हिमा खरेलले बताइन् । विद्युत्का लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट पनि अनुदान पाएको भुजेलले बताए । ‘विद्युत् उत्पादन भएपछि नपुगेका घरमा बिजुली बाल्ने र घरेलु उद्योग सञ्चालन गर्नेलाई प्राथमिकता दिने योजना छ,’ भुजेलले भने, ‘वडा १ का ३ सय ४० घर र किटेनीतर्फका केही घरसमेत थपिएर ४ सय घरमा बिजुली पुर्‍याउने लक्ष्य छ ।’


वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान र श्रमदान जुटाएर १ करोड ३९ लाख रुपैयाँको लागतमा बिजुली बल्नेछ । असोज मसान्तभित्र बिजुली बाल्ने गरी थापा इन्जिनियरिङ कम्पनीले निर्माणको काम गरिरहेको छ । कुल रकमको ३० प्रतिशत स्थानीयले श्रमदानबाटै खर्चनेछन । बिजुली उत्पादन भएपछि हाल बालिरहेका ९ सय ३० घरमा पनि क्षमता विकास हुने खरेलले बताइन् । खरबाङ क्षेत्रमा दुई दर्जन घरेलु उद्योग छन् । उद्योगले चाहेजति उर्जा पाएपछि उत्पादन बढ्ने विश्वास उनको छ ।


बुटवल जाने र बागलुङ बजार आउने केन्द्रमा रहेकाले खरबाङमा तीव्र बजार विस्तार भएको छ । बढो बजारका कारण विद्युत्को आवश्यकता पनि बढी छ । ‘विद्यालयमा सूचना केन्द्र चलिरहेको छ, अझै यसलाई बढाएर अत्याधुनिक बनाउने लक्ष्य छ,’ त्रिभुवन माविका प्रअ ढालमणि भण्डारीले भने । यहाँ सञ्चालित मेडिकलहले एक्सरे सेवा सञ्चालनमा पनि सहयोग पुग्नेछ ।


पछिल्लो समय घरेलु तानमा ढाकाको कपडा बुन्ने बढेका छन् । उनीहरूका लागि विद्युत्बाट चल्ने मेसिन ल्याउने सपना पनि यो विद्युत्ले दिएको स्थानीय जमुना सुनारले बताइन् ।

प्रकाशित : भाद्र १, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?