१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

धम्पुसमा पर्यटन गुरुयोजना

सुन्दरीडाँडामा पर्यटकीय खेलमैदान, पोखरी गाउँ र कोटगाउँमा सांस्कृतिक ग्राम, विभिन्न भ्यू प्वाइन्ट र कफी सपलगायत योजना
दीपक परियार

पोखरा — कास्कीको धम्पुसमा वडास्तरीय पर्यटन गुरुयोजना बनेको छ । माछापुच्छ्रे गाउँपालिका–७ ले अन्तरिक्ष विज्ञान तथा जियोमेटिक्स अध्ययन केन्द्रसँगको सहकार्यमा गुरुयोजना तयार पारेको हो ।

धम्पुसमा पर्यटन गुरुयोजना

वडास्तरमा पर्यटन गुरुयोजना बनेको कास्कीमै पहिलो हो । अध्ययन केन्द्रका निर्देशक सहप्राध्यापक डा.कृष्णप्रसाद भण्डारीले प्रवर्द्धन योजनासहितको गुरुयोजना तयार भएको बताए । उनका अनुसार गुरुयोजनामा समग्र धम्पुसको पर्यटकीय पूर्वाधारको विकास, पदमार्गको सौन्दर्यीकरण, भ्यू प्वाइन्ट निर्माण, सांस्कृतिक ग्राम निर्माणलगायत योजना समावेश छन् ।


‘धम्पुसमा अझैं धेरै पर्यटक वृद्धि गर्न बजारीकरणको आवश्यकता छ,’ उनले भने, ‘त्यसका लागि मोबाइल एप्सको निर्माण र प्रवर्द्धन गर्नुपर्छ ।’ पर्यटनमा दक्ष कामदारको अभाव चुनौतीको रूपमा देखिएको उनले बताए । सुन्दरीडाँडामा पर्यटकीय खेलमैदान, पोखरी गाउँ र कोटगाउँमा सांस्कृतिक ग्राम, विभिन्न भ्यू प्वान्ट र कफी सपलगायत योजना उल्लेख छन् ।


रिमोट सेन्सिङ, भौगोलिक सूचना प्रणाली (जीआईएस) को प्रयोग गरी वडाको नक्सांकन गरिएको थियो । आठजनाले ४ महिना लगाएर गुरुयोजना तयार पारेका हुन् । वडाध्यक्ष समबहादुर गुरुङले ५ लाख रुपैयाँको लागतमा गुरुयोजना तयार गरेको बताए ।

उनले गुरुयोजनाअनुरूप प्राथमिकताको आधारमा अघि बढ्ने जनाए । ‘पहिले हामी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्छौं,’ उनले भने, ‘अंश–अंशमा योजना छुट्याएर विभिन्न दातासम्म पुग्छौं ।’


प्रदेश सांसद रामजी बरालले पर्यटनलाई कृषिसँग जोड्न आवश्यक रहेको बताउँछन् । उनले पर्यटन प्रवर्द्धनमा सरकारी पुँजी मात्र नभई निजी पुँजीलाई पनि भरपूर प्रयोग गर्नुपर्ने बताए । ‘धम्पुसको प्रमुख आम्दानीको स्रोत पर्यटन नै हो,’ उनले भने, ‘गुरुयोजनाअनुसार निर्माण योजना बनाउन सके आत्मनिर्भर हुने देखिन्छ ।’


अन्नपूर्ण आधार शिविर, घान्द्रुक–घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वारा धम्पुस हो । हेमजाको फेदीबाट जामुने, पोखरी, कोटगाउँ, इकोपार्क, कराँसे, अस्ट्रेलियन क्याम्प हुँदै पोथाना पुगिन्छ । फेदीबाट पोथाना हुँदै धम्पुस फर्केर बास बस्न एक दिन लाग्छ । नजिकबाट अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे, धौलागिरि, लमजुङ हिमालको अवलोकन गर्न धम्पुस उपयुक्त स्थल हो । धम्पुसको न्हेंगोमा रहेको डाक्टर हर्क–चन्द्र–मिङ्मा लालीगुराँस स्मृति इको पार्क भ्यू टावरमा पर्यटक पुग्छन् । फागुन–चैतमा गुराँसे जंगलसमेत धम्पुसको आकर्षण हो ।


धम्पुसमा हाल २३ होटल, ३ रिसोर्ट, ३ होमस्टे र २ रेस्टुरेन्ट छन् । केन्द्रको अध्ययनअनुसार धम्पुसमा मासिक ९९५ विदेशी र १३६८ स्वदेशी गरी २ हजार ३ सय ६३ पर्यटक पुग्छन् । धम्पुसका होटल रेस्टुरेन्टले मासिक १४ हजार पर्यटक थेग्न सक्छन् । धम्पुसमा पर्यटन व्यवसायीले हालसम्म ३५ करोड १४ लाख रुपैयाँ लगानी गरेका छन् । मासिक २२ लाख ५६ हजार रुपैयाँको कारोबार हुन्छ । वडामा ५ सय ७९ घरधुरी र २ हजार २ सय ४ जनसंख्या छ । वडाको ७८ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको छ । वडाको साक्षरता प्रतिशत ७५.८५ छ । वडामा ६९ किलोमिटर गोरेटो बाटो र २४ किलोमिटर मोटरबाटो छ ।


धम्पुसले बेलायतको ब्रेकन सहरसँग मितेरी सम्बन्ध समेत गाँसेको छ । धम्पुस–ब्रेकन मितेरी समितिका कोषाध्यक्ष यदुनाथ अधिकारीले बसाइसराइ रोक्न पुराना घरको पुनर्निर्माण आवश्यक रहेको बताउँछन् । उनले एकीकृत बस्तीको विकास गरी बाटो, बिजुली, पानीलगायत पूर्वाधार पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : भाद्र १, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?