३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेशसभा बैठक आज - भव्य बनाउने तयारी

बुटवल — पश्चिम तराई र पहाडका जिल्ला समेटेर बनाइएको प्रदेश ५ को पहिलो बैठक आइतबार यहाँ बस्दैछ । यसलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको छ । बैठकमा सहभागी हुन प्रदेश सांसदहरू उत्साही देखिएका छन् । सरकारी निकायहरू सभा सञ्चालनमा कुनै खोट नआओस् भनेर रातिसम्म तयारीमै जुटेका छन् । 

प्रदेशसभा बैठक आज - भव्य बनाउने तयारी

बैठकमा सहभागी हुन प्रदेशका १२ जिल्लाबाट शनिबार साँझसम्म प्रदेश सदस्य आउने क्रम जारी छ । मध्याहन बैठक डाकिएकाले नजिकका जिल्लाबाट आइतबार बिहान आउने पनि छन् । यहाँस्थित उद्योग वाणिज्य संघको हलमा पहिलो सभा बस्ने तय भएको हो । संघको भवनलाई प्रदेश संसद् सचिवालय बनाइएको छ । बनिबनाउ पूर्वाधार नरहेकाले शनिबार साँझसम्म संसद् बैठक बस्ने हल व्यवस्थापन चलिरहेको थियो । संघको कलात्मक भवन र हललाई सिँगारेर चिटिक्क तुल्याइएको छ । भित्र आवश्यकताअनुसार कक्ष र दीर्घा निर्माण गरिएको छ । कुर्सी सजाइएको छ । हल फूलले सिँगारिएको छ । आसपास सफाइ गरिएको छ ।

नयाँ संरचना भएकाले जिल्लामा रहेका कर्मचारी संसदीय बिधिसित अभ्यस्त छैनन् । अधिबेशनको सुरुवाती चरणको बैठक सहजीकरणका लागि संघीय संसद् सचिवालयबाट कर्मचारीको टोली आएको छ । टोलीले बैठक सञ्चालनका साथै संसदीय विधिअनुसार हल व्यवस्थापन

गरेको छ । सचिवालयका सहसचिव सुरेन्द्रप्रसाद अर्यालको नेतृत्वमा आएको टोली यसमा खटेको छ । २७ जना दरबन्दी रहेको संसद् सचिवालयका कर्मचारी नआएपछि सहजीकरण टोलीले नै व्यवस्थापनका काम गर्नुपरेको छ ।

‘अन्तिमसम्म पनि जिम्मेवार जनशक्ति आएन,’ अर्यालले भने, ‘स्थानीय प्रशासनले केही कर्मचारी उपलब्ध गराएर काम गरिरहेका छौं ।’ प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेपछि उक्त टोलीले तत्कालै सभा सञ्चालनलगायत अभ्यास गराउनुपथ्र्यो । व्यवस्थापन पूरा नभएकाले शनिबार साँझसम्म सभाको अभ्यास तय गरिएको थियो । सभा सञ्चालनका लागि हल व्यवस्थापन साँझसम्म सकिएको थिएन । ‘सभाको विशेष लेआउट जरुरी हुन्छ,’ अर्यालले भने, ‘साँझसम्म सक्छौं ।’ यसलाई ऐतिहासिक जिम्मेवारी ठानेर काममा खटिएको उनले बताए ।

प्रदेश मुख्य सचिव शंकर पाठकले प्रदेशसभा सञ्चालन नयाँ अभ्यास भएको र निजामती कर्मचारीबाट सञ्चालन सम्भव नभएकाले संघीय संसद्बाट तालिम प्राप्त जनशक्ति पठाएको बताए । ‘प्रारम्भिक दिनमा संघीय संसदकै टोलीले सभा सञ्चालन गर्छन्,’ उनले भने, ‘ज्ञान आदानप्रदान पनि हो । पछि स्थानीय कर्मचारीले सञ्चालन विधि सिक्नुहुन्छ ।’ यहाँका संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र निजी क्षेत्रले सघाएका कारण समयमै बैठक सञ्चालनको वातावरण बनेको उनले बताए ।

प्रदेश प्रमुख उमाकान्त झाले बैठकको तयारी सकिएको बताए । संघीय संसद् सचिवालयको सहजीकरण टोली र संसद् सचिवालयले तयारी गरेको जनाए । ‘हामीले पनि निरन्तर अनुगमन र रायसुझाव दियौं,’ उनले भने, ‘भौतिक र मानवीय व्यवस्थापन दुवैलाई ध्यान दिएका छौं । खाली हललाई संसद् सभाहलको संरचनामा ढालिएको छ ।’ पहिलोपटक प्रशासनिक कर्मचारी नआए पनि चल्ने उनले बताए । ‘सहजीकरण टोलीकै जिम्मामा सभा अघि बढ्छ,’ उनले भने, ‘ज्येष्ठ नागरिकका हैसियतले सभामुख छनोट भएको छ ।’

पहिलो बैठकका सभामुख ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले सहकार्य गरेका कारण सहज भएको बताए । शपथग्रहणपछि दलका प्रतिनिधिसित पटकपटक छलफल गरेको जनाउँदै सामूहिक कर्तव्यका रूपमा लिएको जनाए । ‘एउटा दलको मात्र दायित्व होइन,’ उनले भने, ‘ऐतिहासिक अवसरलाई सफल तुल्याउने सबै दलको कर्तव्य हो ।’ यहाँ दल, कर्मचारीका साथै निजी क्षेत्रले पनि सघाएका कारण काम छरितो भएको उनले बताए । प्रदेशमा एमालेका ४०, कांग्रेसका १९, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी (राजपा) का १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रकाशित : माघ २१, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?