कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्रोतबाटै समृद्धि

प्रदेश सांसदको प्रतिबद्धता
‘एउटै मनोविज्ञान तयार नभएसम्म जिल्ला–जिल्लाबीच सहकार्य सम्भव नहुने’

बुटवल — प्रदेशसभाका उम्मेदवारले चुनावमा मतदातासित ‘समृद्ध प्रदेश’ निर्माण गर्ने बाचा गरेका थिए । मत माग्दा सबैले शिक्षा, स्वास्थ्य पाउने र जीवनस्तर उकासिने आश्वासन दिएका थिए । छिमेकी प्रदेशको तुलनामा विकसित भए पनि यहाँ सबैको आर्थिक हैसियत समान छैन । तराईका जिल्लामा तीव्र सहरीकरण छ । पहाड अझै यातायात सञ्जालको प्रतीक्षामा छ । 

आइतबार प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएसँगै साबिकका ३ अञ्चल समेटिएको भूगोलका बासिन्दाको कसरी एउटै प्रादेशिक मनोविज्ञान तयार पार्ने भन्ने चिन्ता नेतालाई छ । एउटै मनोविज्ञान तयार नभएसम्म जिल्ला–जिल्लाबीच सहकार्य सम्भव नहुने भएकाले प्रदेश सदस्य ‘अनेकताबीच एकता’ का पक्षमा देखिए । उनीहरूले पहिलो बैठकलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै प्रदेशको आर्थिक विकासका सम्भावना औंल्याए । त्यसका लागि मिलेर नीतिनिर्माण गर्ने प्रतिबद्धता उनीहरूले जनाए ।

पश्चिम नवलपरासीको दाउन्नेदेखि बर्दियासम्मको समथर भूभाग कृषि, पशुपालन र माछापालनको ‘हब’ का रूपमा परिचित छ । उद्योग, कलकारखाना धेरै छन् । वर्षांैदेखि यहाँका पहाडी भूभागका बासिन्दा शिक्षा, स्वास्थ्य र रोजगारका लागि तराईमै निर्भर छन् । पश्चिम पहाडका लागि दाङ र नेपालगन्ज बसाइँसराइका गन्तव्य हुन् भने साबिक लुम्बिनीको बसाइँसराइ र व्यापारिक केन्द्र बुटवल हो । परम्परादेखि यहाँ मिलिजुली सभ्यता रहेकाले आगामी दिनमा पनि ‘सहकार्य’ मार्फत पूर्वाधार र विकासका काम गर्नुपर्ने साझा धारणा यहाँका प्रदेश सदस्यहरूमा पाइन्छ ।

उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष खिमबहादुर हमाल यहाँका आर्थिक क्रियाकलापलाई व्यवस्थित गरिए राजस्व वृद्धि र निजी क्षेत्रमार्फत विकासका काम अघि बढाउन सहयोग पुग्ने बताउँछन् । पहिले स्याङजाको सुन्तला र कपुरकोटको टमाटर भैरहवा–सुनौली नाका हुँदै बंगलादेश निर्यात भएको स्मरण गर्दै उनले भने, ‘अब यहाँका बहुमूल्य जडीबुटी निकासी गर्नुपर्छ, त्यसका लागि सबै नाकामा एउटै नियम बनाउनुपर्छ ।’ यहाँ पश्चिम नवलपरासीको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेमा जमुनिया नाका छन् । ‘तर नाकापिच्छे निकासीका लागि फरक नियम छन्,’ उनले भने, ‘अब प्रदेशले व्यवसायीलाई प्रोत्साहन गर्न एउटै नियम बनाउनुपर्छ ।’ आयात/निर्यात बढाउनसके राजस्व वृद्धि हुने र त्यसले प्रदेश विकासमा सघाउने उनले बताए ।

तराईको उर्वर भूमिदेखि विभिन्न खानी रहेको अनुमान गरिएका पर्वत यहीँ छन् । शान्तिदूत गौतमबुद्धको जन्मथलो लुम्बिनी समृद्धिको सपना पूरा गर्ने अर्को ठूलो आधार हो । बाँके, बर्दिया निकुञ्ज र पूर्वी रुकुममा रहेको ढोरपाटन सिकार आरक्ष पर्यटकीय आकर्षणका केन्द्र बन्न सक्छन् । पश्चिम नवलपरासी, रुपन्देही, बाँके र बर्दिया औद्योगिक केन्द्रका रूपमा छन् । यहाँ ठूला धार्मिक पीठ, ऐतिहासिक किल्ला र पुरातात्त्विक सम्पदा, नदीनाला र ताल छन् । बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक डा. बाबुराम ज्ञवालीले तराई र पहाडका जिल्लामा रहेका सम्भावना मिलाएर विकास गरिनुपर्ने बताए । उर्वर जमिन धेरै भएकाले तराई क्षेत्रमा कृषि र पशुपालनमा जोड दिनुपर्ने उनको सुझाव छ । यहाँ उपलब्ध स्रोतसाधन परिचालनबापत प्राप्त हुने राजस्वमा स्थानीय तह, प्रदेश र संघको अधिकार हुने भएकाले त्यसको न्यायोचित बाँडफाँट गरिनुपर्ने स्थानीय निकाय वित्तीय आयोगका सदस्य डा. नारायणबहादुर थापाले बताए ।

प्रकाशित : माघ २३, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?