२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्ति सम्भवत: भोलि

अमृता अनमोल

बुटवल — आइतबार मुख्यमन्त्री नियुक्तिको प्रस्ताव दर्ता भएको प्रदेश ५ मा सम्भवत: सोमबार प्रदेश प्रमुखको नियुक्ति हुने छ । 

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्ति सम्भवत: भोलि

एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न आइतबार एमाले र माओवादी नेताहरुले प्रदेश प्रमुख उमाकान्त झाको कार्यालयमा औपचारिक पत्र दर्ता गरेका थिए ।


एकल बहुमत नभएकाले आइतवार एमाले र माओवादी गठबन्धनले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराएपछि प्रदेश प्रमुखको कार्यालयले सोमबार नियुक्ति गर्ने गरी प्रकृया शुरु गरेको छ ।


प्रदेश प्रमुखको कार्यालयले आन्तरिक तयारी र कानूनी परामर्शका लागि एक दिन छुट्याएकाले सोमबार मात्रै उनको नियुक्ती हुने भएको हो । दलका नेताले भने सकेसम्म आइतवार नै नियुक्ति गर्न आग्रह गरेका थिए ।


प्रदेश प्रमुख झाले भने सोमबार मात्र मुख्यमन्त्री नियुक्ति हुने बताए । ‘आज उहाँहरुले दिएको मुख्यमन्त्री नियुक्त गरियोस् भन्ने निवेदन माथि परामर्श गर्छौं,’ उनले कान्तिपुरसँग भने ‘सम्भवत: सोमबार विधिपूर्वक नियुक्त गर्नेछौं ।’


संविधानको निर्देशन र सहज वातावरण दुवै हेरेर केही समय लिएको उनले बताए । मुख्यमन्त्रीको सपथ भने फागुन ३ गते मात्र हुनेछ । पत्र बुझाउन पोखरेल, माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, एमाले प्रदेश इन्चार्ज विष्णु पौडेल, माओवादी प्रदेश इन्चार्ज बर्षमान पुन, एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल, माओवादीका दधिराम न्यौपाने सहित प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।


सोमबार मुख्य मन्त्रीको नियुक्ति हुने, मंगलबार बिदा, बुधवार संसद बैठक तथा सभामुख चयनको निर्वाचन भएकाले विहिवार मात्र सपथग्रहण हुने एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।


सुरुमा ३ सदस्यीय मन्त्रिपरिषद हुने

मुख्यमन्त्री नियुक्तिका लागि आज प्रस्ताव दर्ता भएको प्रदेश ५ मा सुरुमा ३ सदस्यीय मन्त्रिपरिषद गठन हुनेछ ।


त्यसका लागि मुख्य मन्त्रीसहित एमालेबाट एक र माओवादी केन्द्रबाट एक मन्त्री छनोट गर्ने बामगठबन्दनको सहमती छ । सपथ ग्रहण कार्यक्रम फागुन ३ गते तय गरेका दलहरुले सो समारोहअघि ३ सदस्यीय मन्त्री परिषद गठन गर्ने छन् ।


मुख्यमन्त्री नियुक्तिका लागि प्रस्ताव दर्ता गराएका एमाले संसदीय दलका नेता शंकर पोखरेलले सुरुमा ३ सदस्यीय मन्त्री परिषद गठन गरेर थप छलफल गर्दै थप मन्त्री विस्तार गर्ने बताए । प्रदेश ५ मा एमालेको ४१ र माओवादी केन्द्रको २० २० सीट छ । यसमध्ये मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्रको भागमा परेको छ । ७ मन्त्रिपरिषदमा ४ एमाले र ३ माओवादी केन्द्रका रहनेछन् ।


मुख्यमन्त्री नियुक्तिको प्रस्ताव पत्र दिंदै एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका कुलबहादुर केसी तथा पत्र बुझ्दै प्रदेश प्रमुख उमाकान्त झा । तस्बिर: अमृता अनमोल/ कान्तिपुर


प्रकाशित : माघ २८, २०७४ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?