मुख्यमन्त्रीको नियुक्ति सर्‍यो

प्रदेश ३ मा ३ सदस्यीय मन्त्रिपरिषद् गठन 
प्रदेश ४ मा गुरुङ मुख्यमन्त्री नियुक्त
प्रदेश २ मा मुख्यमन्त्री नियुक्तिका लागि आह्वान 

बुटवल — प्रदेश प्रमुखको कार्यालयले सोमबारका लागि तय गरेको मुख्यमन्त्री नियुक्ति कार्यक्रम बुधबार सारेको छ । कानुनी सल्लाहकारले नियुक्तिपछि धेरै दिन शपथग्रहण नगराई राख्दा अप्ठ्यारो आउन सक्ने सुझाव दिएका थिए । एमाले पनि मुख्यमन्त्री नियुक्ति भइसकेपछि सांसदकै हैसियतमा बैठकमा पठाउन अनिच्छुक देखिएपछि मिति परिवर्तन गर्नु परेको हो ।

नियुक्तिलगत्तै सपथग्रहणका लागि सोमबार समय अभाव भएकाले शनिबार दलसँगको परामर्शमा फागुन ३ गतेका लागि शपथग्रहण तयारी गरिएको थियो । नियुक्तिलगत्तै शपथग्रहण हुन नसक्ने, मंगलबार बिदा र बुधबार संसद् बैठक एवं सभामुखको निर्वाचन तय भएकाले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर सपथग्रहणबिना राख्दा कानुनी अप्ठ्यारोसमेत आउन सक्ने प्रदेश प्रमुख उमाकान्त झालाई कानुनी सल्लाहकारले सुझाएका थिए ।

‘बुधबार सभामुखको निर्वाचनलगत्तै मुख्यमन्त्रीको नियुक्ति हुन्छ,’ प्रदेश प्रमुख झाले भने, ‘यसो गर्दा शपथग्रहणबिना मुख्यमन्त्री धेरै दिन रहनु पनि पर्दैन ।’ उच्च अदालत बुटवल बार एसोसिएसनका पूर्व अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले संविधानको मर्मअनुसार पनि पहिला सभामुख चयन गरेपछि मुख्यमन्त्री नियुक्ति उपयुक्त हुने बताए । ‘मुख्यमन्त्री नियुक्त हुनु भनेको कार्यप्रारम्भ हुनु हो,’ उनले भने, ‘शपथ नगराई धेरै दिन राख्न मिल्दैन ।’

धेरै दिन नियुक्तिमात्र गरेर राख्दा कार्यविहीन अवस्था हुने कानुनी अप्ठ्यारो भएको उनले बताए । एमाले स्रोतका अनुसार संसदीय दलका नेता पोखरेल सोमबार मुख्यमन्त्री नियुक्त हुने तर शपथग्रहण नभएपछि बुधबारको संसद् बैठकमा सामान्य सदस्यको हैसियतमा जानुपर्ने थियो ।

त्यो बुझेर सोमबारको नियुक्तिमा पोखरेल आफैं अनिच्छुक देखिएपछि दलसँगको परामर्शमै बुधबार नियुक्त गर्ने र बिहीबार शपथ लिने कार्यक्रम तय गरिएको हो ।

एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले सभामुखको निर्वाचनपछि मुख्यमन्त्री नियुक्त गर्दा उपयुक्त हुने बताए । एमाले र माओवादी गठबन्धनका तर्फबाट बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्त गर्न आइतबार प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराएका थिए । संविधानअनुसार एकल दलको बहुमत नपुगे दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । मुख्यमन्त्रीको सपथग्रहण समारोहमा प्रदेश ५ बाट प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेश सदस्य, उच्च अदालत तुलसीपुरका न्यायाधीश, स्थानीय तहका प्रमुख, प्रदेशस्तरीय सरकारी कार्यालय प्रमुखलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?