२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सभामुखमा घर्ती

निर्वाचन कार्यक्रम बुधबार
घनश्याम गौतम

बुटवल — माओवादी केन्द्रको प्रदेश संसदीय समिति बैठकले सभामुखमा पूर्वी रुकुमका पूर्ण घर्तीलाई पठाउने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको बैठकले उनलाई सभामुख, प्यूठानका कृष्णध्वज खड्कालाई संसदीय दलको उपनेता, प्रमुख सचेतकमा रूपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई चयन गर्ने भएको हो ।

सभामुखमा घर्ती

दलले यसअघि संसदीय दलको नेतामा रोल्पाका कुलप्रसाद केसीलाई चयन गरिसकेको छ । केसीको निर्णय पनि बैठकले अनुमोदन गरेको छ । पाल्पाका तुलाराम घर्ती वसन्तलाई संसदीय बोर्डको सचिवको जिम्मेवारी दिने निर्णय भएको माओवादी पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले बताए । ‘हामीले संसदीय दलको नेता र उपनेता छान्यौं,’ उनले भने, ‘अब मन्त्रीमा को जाने भन्ने उहाँहरू दुवैले आपसमा छलफल गरेर टुंग्याउने भन्ने छ ।’ वाम गठबन्धनबाट मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल सर्वसम्मत भएका छन् ।

गठबन्धनमा माओवादीले सभामुख पाएको थियो । एमालेको भागमा परेको उपसभामुखमा बर्दियाकी कृष्णी थारूको चर्चा छ । साताअघि यहाँ सञ्चालन भएको प्रदेश संसदको पहिलो बैठकले बुधबारका लागि सभामुखको निर्वाचन मिति तोकेको थियो । त्यसलगत्तै उपसभामुखको निर्वाचन हुनेछ । प्रदेश ५ का ८७ सदस्यमध्ये एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राजपाको १ र राजमोको १ जना छन् । तर राजपाकी समानुपातिक सांसद सिफारिसमा परेकी बिना पन्तले अहिलेसम्म शपथ लिएकी छैनन् । उपचार क्रममा भारतमा रहेकी उनले निर्वाचन आयोगमा राजीनामापत्र पठाएको उनका श्रीमान् प्रेम शर्माले बताए । आयोगले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन । सभामुखमा गुल्मीका सुदर्शन बरालको चर्चा थियो । अन्तिममा उनलाई कुनै मन्त्रीमा पठाउने गरी घर्तीलाई निर्णय गरिएको एक नेताले बताए । बैठकले मन्त्रिपरिषद्मा पठाउने व्यक्ति छनोट गर्न संसदीय दलको नेता र उपनेतालाई जिम्मेवारी दिएको छ । आइतबार एमाले संसदीय दलका नेता पोखरलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेसँगै पहिलो चरणमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने बताएका छन् । पहिलो चरणमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता केसी जाने सम्भावना छ । तर दुवै दलले निर्णय गरेका छैनन् । माओवादी संसदीय दलका नेता केसीले भने भौगोलिक कठिनाइदेखि अरू धेरै अप्ठ्यारा पनि रहेकाले अन्तिममा निर्णय नभएको बताए ।

‘हामी टुंग्याउँदै छौं,’ उनले भने, ‘सबैतिर सकारात्मक सन्देश दिने गरी टुंगो लगाउने प्रयासमा छौं ।’ केही संरचनागत अप्ठ्यारा पनि रहेकाले छलफल भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?