लागूऔषधविरुद्ध जनचेतना

कान्तिपुर संवाददाता

दाङ — घोराहीको मुख्य चोकमा सोमबार अपराह्न विद्यार्थीको एक समूह सडकमै नृत्य देखाउन थाल्यो । सुरुमा एकजना, त्यसपछि दुई, तीन, चार हुँदै ५० भन्दा बढी विद्यार्थी सडकमा नाचिरहेको देखेपछि बटुवाको भीडभाड लाग्यो । सडकमा यस्तो नृत्य किन गरेको होला ? सबै अचम्मित भए ।

लागूऔषधविरुद्ध चेतना जगाउन सडकमा सामूहिक नृत्य गर्दै घोराहीस्थित भिक्टोरिया कलेजका विद्यार्थी । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

विभिन्न गीतमा लगातार सामूहिक नृत्य गरेपछि अन्तमा भिक्टोरिया कलेजको ब्यानरसहित लागूऔषध सेवन नगरौं भन्ने सन्देशका पर्चा वितरण गर्न थालियो । नृत्य गरेकै विद्यार्थीले दर्शकलाई लागूऔषधविरुद्धका पर्चा बाँडदै यसप्रति सजग हुन अनुरोध गरे । भिक्टोरिया कलेजमा बीबीए पहिलो सेमेस्टर अध्ययनरत विद्यार्थीले जनचेतनाका लागि यस्तो सिर्जनशील उपाय निकालेका हुन् ।
‘सिर्जनात्मक तरिकाले सन्देश दिन सामूहिक सडक नृत्य गरिएको हो,’ कलेजका संयोजक केबी चौधरीले भने, ‘नाचगानमै मानिसको रुची बढी हुने भएकाले नृत्यमार्फत सामूहिक चेतना दिन अभियान चलाइएको हो ।’ विद्यार्थीमा सिर्जनशीलताको विकास गर्न र युवालाई लागूऔषध प्रयोगबाट टाढै राख्न चेतनामूलक कार्यक्रम तयार पारिएको नृत्य संयोजन गरिरहेका वामदेव भण्डारीले बताए । यसको कोरियोग्राफी भने वसन्त चौधरीले गरेका थिए । ‘तिम्रो याद भाइरल भैदियो, पानी पर्‍यो असिना झर्‍यो–दाइको रुमाल भाउजूलाई मनपर्‍यो, आगे–आगे तोपैको गोला, पछि–पछि मेसिन गन भरर’ लगायतमा विद्यार्थीले नृत्य गरेका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठानमा आयातित तरकारीकै भर

‘साग पनि बाहिरी जिल्लाबाट ल्याउनुपर्छ’
गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका ४ का सूर्यबहादुर भण्डारीले बिजुवार बजारमा तरकारी व्यापार गर्न थालेको २४ वर्ष भयो । उनको पसल ‘मास्टर’ तरकारी नामले चिनिन्छ । पहिले गाउँलेले उत्पादन गरेको तरकारी बेच्थे । 

अहिले बाहिरबाट गाडीमा ल्याउने तरकारी थोकमा खरिद गरी फुट्करमा बेच्छन् । बिजुवार बजार वरिपरिका किसानले हिजोआज तरकारी खेती गर्न छाडेका छन् । यसैले दाङ देउखुरी, कृष्णनगर, बुटवल र चन्द्रौटाबाट ल्याएको थोकमा राखेर व्यापार गर्न परेको भण्डारीले सुनाए । ‘बजार आसपासका किसानले तरकारी लगाउनै छाडे,’ भण्डारीले भने, ‘पहिले तरकारी बिक्री गर्न ल्याउने हिजोआज तरकारी किन्न आउँछन् ।’ स्थानीय मर्काबाङ, माझकोट, जुम्रीकाँढा, ओखरकोट, खैरा, दाखाक्वाडी, बांगेसाल, मरन्ठानालगायत पहाडी क्षेत्रबाट दर्जन किसानले व्यावसायिक तरकारी बेच्न ल्याए पनि धेरैजसो जिल्ला बाहिरबाटै आउने गरेको ताजा तरकारी व्यापार संघका अध्यक्षसमेत रहेका भण्डारीले बताए । बजार क्षेत्रमा मात्र नभई गाउँ/गाउँमा समेत बाहिरी जिल्लाबाट आयातित तरकारी पुग्न थालेको छ । गाउँ/गाउँमा सडक पुगेपछि बाहिरको तरकारी पनि सहज रूपमा पुगेको भण्डारीले बताए । जिल्लाभर दैनिक २ लाखभन्दा बढीको तरकारी र ३ लाख बराबरको फलफूल बाहिरबाट आउने संघको अनुमान छ । प्याज, काउली, लसुन, सिमी, हरियो खुर्सानी, हरियो साग, लौका, काक्रा, मौसमअनुसारका विभिन्न तरकारी बाहिरबाटै भित्रिने गरेका छन् । ‘बन्दागोपी, अदुवा, आलुमात्र प्यूठानको उत्पादन हो,’ भण्डारीले भने, ‘बन्दा र टमाटर पनि भनेजति पुग्दैन । ल्याउनै पर्छ ।’ जिल्लाका किसानको उत्पादनलाई प्रोत्साहन गर्ने भने पनि व्यावसायिक रूपमा खेतीतर्फ धेरै किसान नलाग्दा बाहिरबाटै आएको तरकारी खरिद गरी मागलाई धान्न परेको व्यापारीले बताए ।
सदरमुकाम खलंगासहित प्रमुख व्यापारिक केन्द्र र बजार क्षेत्र आसपासमा तकारी खेती गर्न सकिने राम्रो सम्भावना छ । तर किसान तरकारी खेतीमा धेरै नलागेको कृषि विकास कार्यालयको भनाइ छ । ‘सम्भावना भएर पनि किसानले जागर गरेका छैनन्,’ जिल्ला कृषि विकासका वरिष्ठ अधिकृत मधुसुदन घिमिरेले भने, ‘बाह्रैमास सिञ्चित हुने झिमरुक फाँटमा व्यावसायिक तरकारी लगाउन सके टनका टन तरकारी निर्यात गर्न सकिन्छ ।’ किसानका लागि अनुदानसहितका कार्यक्रम कार्यालयले सञ्चालन गरे पनि भनेजति सफलता हात लाग्न नसकेको घिमिरेले बताए ।
प्यूठान उपत्यकाभित्रका धर्मावती, दम्ती, खप्रेङखोला, टिकुरी र मरन्ठानाका केही किसानले उत्पादन गरेकोतरकारी बाग्दुला बजारको संकलन केन्द्रमा पुग्ने गरेको छ । बिजुवार, रातमाटा, दाखाक्वाडी आसपासका झिमरुक फाँटमा तरकारी उत्पादनको राम्रो सम्भावना भए पनि व्यावसायिक रूपमा किसान नलागेको घिमिरेको भनाइ छ । ‘बृहत् मात्रामा उत्पादन गर्नेगरी तरकारीफर्म सञ्चालन गर्ने किसानलाई सहयोग गर्न सकिन्छ,’ उनले भने, ‘यसरी लाग्ने किसान अझै भेटिएका छैनन् ।’

प्रकाशित : फाल्गुन २, २०७४ ११:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT