संक्रमितले जन्माइन् स्वस्थ बच्चा

एचआईभी परीक्षणमा ‘पोजेटिभ’ पाइए सुरुदेखि अन्तिम चरणसम्म निगरानीमा राखिन्छ
ठाकुरसिंह थारू

नेपालगन्ज — एचआईभी संक्रमित आमाबाट जन्मिने प्राय: शिशु पनि यसअघि संक्रमित नै हुन्थे । चिकित्सकले त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिँदै आउँथे । अब परिस्थिति फेरिएको छ । औषधि विज्ञान प्रविधिले नयाँ फड्को मारिसक्यो । औषधिका कारण संक्रमित आमाले पनि स्वस्थ शिशु जन्माउन सक्ने भएका छन् ।

यही प्रविधि आत्मसाथ गर्दै बाँकेका १८ संक्रमितले यस वर्ष स्वस्थ बच्चा जन्माएका छन् । त्यसका लागि स्थानीय स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्ममा कडा निगरानी गरिएको थियो । एचआईभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम सरकारले लागू गरेपछि संक्रमितबाट जन्मिने सन्तान स्वस्थ बनेका हुन् । गर्भवती महिलाको अनिवार्य एचआईभी परीक्षण गरिन्छ । ‘पोजेटिभ’ पाइए सुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिँदै आएको छ । ‘गर्भवती संक्रमण पाएपछि निगरानी सुरु गर्छौं । त्यहीअनुसार उपचार व्यवस्था मिलाउँछांै,’ भेरी अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन तथा फोकलपर्सन डा. संकेत रिसालले भने, ‘

संक्रमित भएका केही गर्भवती अझै निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म उनीहरूलाई निगरानीमा राखेर उपचार गर्छौं ।’

संक्रमितले जन्माउने शिशुलाई संक्रमणबाट जोगाउन राष्ट्रिय एड्स तथा यौन नियन्त्रण विभागले नयाँ रणनीति ल्याएको हो । यसका लागि जनस्वास्थ्यले गर्भवती र नवजात शिशु केन्द्रित विशेष कार्यक्रम सुरु गरेको हो । बाँकेमा एचआईभी संक्रमण बढ्दो छ । नयाँ शिशुलाई एचआईभी संक्रमणबाट जोगाउन उक्त कार्यक्रम ल्याइएको हो । आमाको दूध चुस्दा एचआईभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि औषधि प्रयोग गरिँदै आएको छ । यस्ता आमाबाट जन्मिने शिशुलाई निरन्तर निगरानीमा राखिने उनले बताए ।

गर्भवतीको रगत परीक्षणका लागि अञ्चल अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ । जिल्लाभर प्राथमिक सेवा केन्द्र र स्वास्थ्यचौकीमा रगत परीक्षण गरिँदै आएको छ । स्वास्थ्य केन्द्रले संक्रमित गर्भवतीलाई अञ्चल अस्पताल पठाउँछन् । ‘बाँकेमा एचआईभी संक्रमित शतप्रतिशत गर्भवतीले स्वस्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धि हो,’ जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले भने, ‘यो कार्यक्रमले निकै सफलता पाएको छ ।’

असुरक्षित यौन सम्पर्कबाट हुने संक्रमण आमाबाट नवजात शिशुमा सर्छ । अञ्चल अस्पतालमा करिब १ हजार ५ सय संक्रमित सम्पर्कमा आएका छन् । तीमध्ये बाँकेका ९ सय ६२ छन् । तर अझै पनि धेरै संक्रमित सार्वजनिक हुन नचाहेकाले संख्या बढी हुने अनुमान गरिएको छ । कामको सिलसिलामा विदेश जाने सर्वसाधारण एचआईभी जोखिममा बढी नै पर्ने गरेका छन् । घर फर्किंदा रगत परीक्षण नगरी शारीरिक सम्पर्क गर्ने गरेका कारण श्रीमतीलाई पनि एचआईभी सर्ने गरेको पाइएको हो ।

संक्रमितको उपचारका लागि भेरी अञ्चल अस्पतालमा ‘एआरटी’ सेवा उपलब्ध छ । तर संक्रमण पुष्टि भइसकेकामध्ये कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम छ । जनस्वास्थ्यका अनुसार जिल्लामा ९ सय ६२ संक्रमित भएको पुष्टि छ । तर ४ सय मात्रै एआरटी सेवा लिन अस्पताल आउने गरेका छन् । सामाजिक बहिष्करणमा पर्ने त्रासले ती व्यक्ति एचआईभी लुकाउन बाध्य छन् । उपचार नगराउँदा त्यसको जोखिम बढेको हो ।

जनस्वास्थ्यका अनुसार जिल्लामा सबैभन्दा बढी खजुरा, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीपारिको क्षेत्र जोखिममा छन् । जनस्वास्थ्य फोकलपर्सन रामबहादुर चन्दले ती क्षेत्रका युवा वैदेशिक रोजगारीमा जाने र असुरक्षित यौन सम्पर्क गर्ने भएकाले एचआईभीे जोखिममा रहेको बताए । लागूपदार्थ दुव्र्यसनी, यौन व्यवसायी उच्च जोखिममा छन् । नेपालगन्ज उपमहानगरमा मात्र ३९ पुरुष लागूऔषध प्रयोगकर्तामा एचआईभी छ । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्नेमा पनि संक्रमण हुने गरेका छन् । परामर्श तथा जाँच केन्द्र स्थापना विस्तारसँगै संक्रमितको पहिचान हुन थालेपछि खुल्नेको संख्या बढदो छ । तर, जाँचपछि एचआईभी भएको पुष्टि भएकाले सावधानी अपनाउँदा नियन्त्रणमा सहयोग पुगेको स्वास्थ्यकर्मीको दाबी छ ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?