कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माओवादीमा आलोपालो प्रस्ताव

पहिलो चरणमा पठाउने मन्त्रीकै टुंगो लागेन
घनश्याम गौतम

बुटवल — सरकार गठन तयारीमा रहेका एमाले र माओवादीलाई मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउनै सकस भएको छ । मन्त्रालय संख्या कम, दुई दलभित्रका आकांक्षी धेरै हुँदा शीर्ष नेतालाई समस्यामा परेको छ ।

मन्त्रीमा पठाउने नाम छनोट गर्न एमालेभन्दा माओवादीमा बढी तनाव छ । सभामुख टुंगो लगाउनै लामो प्रयास गरेको माओवादीले पहिलो चरणमा बिहीबार गठन हुने मन्त्रिमण्डलमा पठाउने व्यक्ति टुंग्याउन सकेको छैन । बिहीबार ३ सदस्यीय मन्त्रिमण्डल बन्दै छ ।

‘बल्लबल्ल सभामुख टुंगो लाग्यो, फेरि मन्त्रीमा उस्तै घम्साघम्सी भयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘२० सांसदमा लगभग सबैजसो आकांक्षी छन् ।’ माओवादीमा पछिल्लो समय भूगोलमा दाङ पूर्व र पश्चिमको कुरा बलियो गरी उठेको छ । त्यस्तै पुष्पकमल दाहाल, नारायणकाजी र रामबहादुर थापा गरी तीनथरी समूह पनि देखिएको छ । त्यसले पनि पद बाँडफाँडमा बढी अप्ठ्यारो भयो । दाहाल नेतृत्वबाट दधिराम न्यौपाने, सुदर्शन बराल, थापाबाट संसदीय दलको नेता कुलप्रसाद केसी र नारायणकाजीबाट दिनेश पन्थी मन्त्रीका आकांक्षी छन् ।

सभामुखमा चुनिएका पूर्ण घर्ती पनि थापा समूहकै मानिन्छ । संसदीय दलको उपनेता चुनिएका प्यूठानका कृष्णध्वज खड्काको सरकारमा आफ्नै नेतृत्वमा जानु पर्ने दाबी छ । धेरैकोदाबी भएपछि माओवादी शुक्रबारदेखि नै निरन्तर छलफलमा छ । भूगोल र जनयुद्धको उद्गमस्थल रोल्पा रुकुमलाई प्राथमिकता दिनुपर्ने नेताहरू बताउँछन् । लुम्बिनी अञ्चलले प्रदेशको राजधानी नै पाएकाले राप्ती र भेरीले मन्त्रीमा बढी स्थान पाउनुपर्ने माग जोडदारले उठेको छ ।

भूगोल, योगदान, क्षमता र पहिचान सबै मिलाउने प्रयास भइरहेको नेता केसीले बताए । ‘संरचनागत केही अप्ठ्यारा देखिएका छन्,’ उनले भने, ‘संसद् भइसकेपछि आफू बन्नका लागि सबैको प्रयास स्वभाविक हो, तर हामीले निर्विवाद ढंगबाटै मिलाउँदै छौं ।’ सभामुखको निर्वाचन सक्नासाथ दुवै पार्टीका संसदीय दलका नेता बसेर भूगोल मिल्ने गरी टुंगो लगाउने उनले बताए । उनी आफ्नै नेतृत्वमा सरकारमा जाने प्रयासमा छन् ।

माओवादीबाट केसी, खड्कासँगै सभामुख छोडेका बराल, पन्थी, रूपन्देहीका न्यौपाने पनि मन्त्रीका तीव्र आकांक्षी हुन् । सबै नेताले प्रदेशस्तरीय संसदीय समितिमा टुंगो नलाग्ने देखेपछि केन्द्रमा लबिङ सुरु गरेका छन् । माओवादीले सभामुखमा रुकुमका घर्ती, संसदीय दलको नेतामा रोल्पाका केसी, उपनेतामा प्यूठानका खड्का, प्रमुख सचेतकमा रूपन्देहीका न्यौपाने, सचेतकमा दाङकी दामा शर्मा र संसदीय बोर्डको सचिवमा पाल्पाका तुलाराम घर्तीलाई चयन गरेको छ । पहिलो चरणमा जाने मन्त्रीको टुंगो अझै लागेको छैन ।

माओवादीबाट मन्त्रीमा जाने छनोट जटिल बनेपछि आलोपालो गर्ने विषयले प्रवेश पाएको छ । छलफलमा पहिलो चरणमा जाने सबै मन्त्री डेढ वर्षमा अनिवार्य फेरिने बहस पनि आएको एक नेताले बताए ।

तत्कालै त्यस्तो निर्णय गर्दा सकारात्मक सन्देश नजाने भन्दै आन्तरिक सहमति गर्ने समझदारी बनेको छ । पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले मन्त्री र मन्त्रालयको विषयमा छलफल जारी रहेको बताए । ‘सबै ढंगले छलफल चलेको छ,’ उनले भने, ‘कामै नगर्नेलाई सधैं पदमा राख्नुपर्छ भन्ने छैन ।’

मन्त्रालय बढाउने प्रयास

प्रदेशका ७ मन्त्रालयमध्ये मुख्यमन्त्री छोडेर बाँकी ६ मन्त्रालयबाट बाँडफाँट गर्ने गरी एमालेले माओवादीलाई ४/२ को प्रस्ताव गरेको छ । तर त्यसमा माओवादीले असहमति जनाएको छ । एमालेले मुख्यमन्त्री र सभामुख टुंगो लागेकाले बाँकी ६ मन्त्रालयमध्ये २ माओवादीलाई दिने भने पनि ३ मा दाबी गरिएको छ । आकांक्षी धेरै भएकाले त्यसको व्यवस्थापनका लागि पनि मन्त्रालय थप गर्नुपर्ने प्रस्ताव दुई दलबीच उठेको हो । एमाले ९ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा भए पनि माओवादीले ११ गराउने

प्रस्ताव गरेको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलले भने अहिलेसम्म मन्त्रालयबारे छलफल नै नभएको बताए ।

‘अहिलेसम्म कति र कुन मन्त्रालय भन्नेबारे यकिन भएको छैन,’ उनले भने, ‘सभामुखको निर्वाचन र मुख्यमन्त्रीको शपथपछि गर्ने भन्ने छ ।’ बिहीबार हुने शपथग्रहणमा ३ सदस्यीय मन्त्रिमण्डल बनाउने दुवै दलको तयारी छ ।

एमालेमा पनि आकांक्षी धेरै

एमालेमा पनि मन्त्रीका आकांक्षी धेरै छन् । पहिलो चरणमा नवलपरासीका बैजनाथ चौधरी जाने टुंगो लागे पनि दोस्रो चरणका लागि धेरैको लबिइङ छ । रुपन्देहीका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, गुल्मीका कमल श्रेष्ठ, कपिलवस्तुका विष्णु पन्थी, बाँकेकी आरती पौडेल, अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्रीका बढी आकांक्षी हुन् । एमालेले पाएको उपसभामुखमा बर्दियाकी कृष्णी थारूको चर्चा छ ।

आकांक्षी नेताले आन्तरिक रूपमा लबिइङ गरिरहेका छन् । गिरी, श्रेष्ठ, पन्थी र पौडेलको सम्भावना बढी छ । ‘तर एमाले भागमा मन्त्रालय कति पर्छ, त्यसमा भर पर्छ,’ एक नेताले भने । सकेसम्म जिल्ला र भूगोल मिलाउन दुवै दलले एकै जिल्लाबाट दुई जना नपर्ने गरी व्यवस्थापन गर्ने समझादरी गरेका छन् ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?