स्वर्गद्वारीमा धार्मिक पर्यटक बढे

बाटो बनेपछि तीर्थयात्रीलाई सहज
गिरुप्रसाद भण्डारी

स्वर्गद्वारी (प्यूठान) — प्रदेश ५ कै पवित्र तीर्थस्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न आउनेको भीडले स्वर्गद्वारी आश्रम भरिभराउ भएको छ । यात्री बढेसँगै यहाँको पाहुना आवासगृहमा बसाल्ने समस्या थपिएको छ ।

स्वर्गद्वारीमा धार्मिक पर्यटक बढे

आश्रम, साबिकको प्यूठान जिविस र विभिन्न सहयोगी दाताको सहयोगमा बनेको धर्मशालाले यात्रीलाई केही सहज बनाएको छ । जहाँ २ सयलाई मात्र बसाल्न सकिन्छ । तर, आश्रममा अहिले दैनिक चार/पाँच सयभन्दा बढी तीर्थयात्री बास बस्न आउन थालेपछि बसाइँ र पर्यटकको व्यवस्थापनमा समस्या भएको हो ।

अन्य समयमा दैनिक एक–दुई सयको संख्यामा आउने गरेकामा माघ–फागुन महाप्रभुको तिथि भएकाले तीर्थयात्री पनि बढेको आश्रमका लेखापाल वासुदेव भट्टराईले बताए । ‘यो समय विगतमा समेत धेरै तीर्थयात्री आउने गर्थे,’ उनले भने, ‘यसपालि अझ बढेका छन् ।’ यसका साथै स्वर्गद्वारी आउने प्यूठान र दाङ दुवैतिरको सडक राम्रो हुँदै गएपछि यात्री पनि बढेको भट्टराई बताउँछन् ।

पूर्वदेखि पश्चिमसम्म र भारतको विहार राज्यका धेरै धार्मिक पर्यटक आउने गरेको व्यवस्थापन समिति सदस्य रुद्र मिश्रले बताए । उनका अनुसार स्वर्गद्वारीमा बाटो पुगेपछि यहाँ आउने भक्तजनको संख्यामा दोब्बर भएको हो । वार्षिक दुई लाख, भारतीय र यही हाराहारीमा आन्तरिक तीर्थयात्री स्वर्गद्वारी दर्शनमा आउने गरेको उनले जानकारी गराए । सडक सुधार हुँदै गएपछि देशभित्रका विभिन्न जिल्लाका क्याम्पस, क्लब, उच्च मावि, समूह, संघसंस्थाहरू भ्रमणमा बस रिजर्भ गरेर आउन थालेको उनले बताए ।

सडक सहज भएपछि स्वर्गद्वारीमा क्षेत्रीय, केन्द्रीय सम्मेलन, गोष्ठीहरू पनि हुन थालेका छन् । स्वर्गद्वारीको दर्शन गर्न पाइने र कार्यक्रममा सहभागीसमेत हुने भएकाले भिंगृमा विभिन्न संघसंस्थाको केन्द्रीय सम्मेलन राख्ने गरेको स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकायाले बताए । ‘भिंगृमा सेमिनार, बैठक राख्नेहरू बढदै गएका छन्,’ उनले भने, ‘स्वर्गद्वारीकै कारण भिंगृको स्वर्गद्वारीगेट वरपरको रौनक सधैं भिन्न हुन्छ ।’ भारतको विहार क्षेत्र, कृष्णनगर, सुनौली, तुलसीपुर, सोनपुरलगायतका स्थानबाट दैनिक ४०–५० वटा बस नै रिजर्भ गरी भक्तजन आउने गरेका छन् ।

स्वर्गद्वारी आउने तीर्थयात्रीलाई आश्रमले थोरै शुल्क लिएर खानाको व्यवस्था गर्नेगर्छ । ‘केही शुल्क लिएर तीर्थयात्रीलाई खाना खुवाउँछौं,’ मिश्रले भने, ‘बस्नेको व्यवस्था नि:शुल्क गरेका छौं ।’ उनले जिल्ला समन्वय समिति प्यूठानमार्फत स्वर्गद्वारीको धरमपानीमा निर्माण हुँदै गरेको अन्याधुनिक धर्मशालाको निर्माण चाँडै सकिए आश्रमलाई पाहुन बसाल्न सजिलो हुने बताए ।

स्वर्गद्वारी आउने तीर्थयात्रीलाई लक्षित गरी राप्ती सार्वजनिक यातायात व्यवसायी समितिले दाङ घोराहीबाट दैनिक तीन बस स्वर्गद्वारीलाई चलाएको छ । बस सधैं स्वर्गद्वारी आउने तीर्थयात्रीले भरिभराउ हुन्छ । त्यसबाहेक दैनिक २–३ वटा रिजर्भ बस दाङ हँुदै आएकै हुन्छन् । प्यूठान भिंगृको सडक हुँदै स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिको नियमित दुई बस सञ्चालनमा ल्याएको महासचिव चन्द्रमान श्रेष्ठले बताए ।

यहाँ आउने तीर्थयात्रीका लागि अखण्डा महायज्ञ, प्रभुको समाधिस्थल, आश्रमले पालेका ४ सयभन्दा बढी गाई, पाँच पाण्डव स्वर्ग गएको बाटोलगायत मुख्य गन्तव्य स्थल छन् । स्वर्गद्वारी स्वर्ग जानेद्वार भएकाले मृत्युपछि स्वर्ग जाने बाटो देखिनुका साथै अन्य मनोकांक्षा पूरा हुने मान्यताले तीर्थयात्री आउने गर्छन् । यसबाहेक रमणीय जंगलको बीचमा अवस्थित मन्दिर त्यहाँबाट पूर्वमा देखिने धौलागिरी हिमाल यहाँ आउने पर्यटनको केन्द्रविन्दु हुन् । १९५२ मा रोल्पा रुम्टीगढीबाट आएका महाप्रभु बालतपस्वीको आश्रममा नारायण गौतम स्वर्गदारी आएर ब्राह्ममणको मन्त्रद्वारा अग्नि दीप गराई महायज्ञ लगाएका थिए । यज्ञ अहिले पनि निरन्तर सञ्चालनमा रहेको छ भने अग्नि अखण्ड बलिरहेको छ ।

महायज्ञ लगाउने ब्राह्मण उत्पादनका लागि यहाँ त्यसै वर्षदेखि संस्कृत बेद–रुद्री पढाउन विद्यालय खोलियको थियो । यो विद्यालयमा अहिले ७५ विद्यार्थी अध्ययनरत छन् । स्वर्गद्वारी आउनका लागि दाङबाट २०६२ मा गाडी चल्ने बाटो खुलेको थियो । प्यूठानको भिंगृबाट ०६४ मा सडक बनेको हो । यो सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७४ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?