स्वास्थ्यकर्मी नहुँदा उपकरणमा खिया

सेवाग्राही बाहिर गएर महँगो शुल्क तिर्न बाध्य
कान्तिपुर संवाददाता

परासी — पृथ्वीचन्द्र अस्पतालको अप्रेसन कक्ष आधुनिक र सुविधा सम्पन्न छ । आवश्यक उपकरणसमेत पर्याप्त छन् । तर, ती उपकरण प्रयोगमा नआउँदा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेका छन् । दरबन्दीअनुसार चिकित्सक र अन्य कर्मचारी अभावले नियमित शल्यक्रिया सेवा रोकिएको छ ।

सेवा रोकिएसँगै सामग्री प्रयोगविहीन हुँदा खिया लाग्न थालेको हो । सेवाग्राही भने महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थाबाट सेवा लिन बाध्य छन् ।

अप्रेसन थिएटरसँगै अस्पतालको भिडियो एक्सरे सेवा पनि ठप्प छ । रेडियोलोजिस्ट अभावले एक्सरे नहुँदा सेवाग्राही बुटवल पुग्ने गरेका छन् । सुस्तादेखि पेट दुखेर जिल्ला अस्पताल आइपुगेका शैलेन्द्र हरिजनले ओपिडीमा जाँच गरेपछि भिडियो एक्सरेका लागि निजी क्लिनिक वा बुटवल पुग्नुपर्ने जानकारी पाए ।

‘एक्सरे गर्न बुटवल पुग्नुपर्छ रे,’ उनले भने, ‘म त सरकारीमै नि:शुल्क हुन्छ, भनेर आएको थिएँ, यहाँ नभएपछि पेनकिलर औषधि किनेर फर्किंदैछु ।’ दैनिक मजदुरी गरेर जीविकोपाउने उनी जिल्ला अस्पतालमा मेसिन हुँदाहुदै पनि एक्सरे नभएपछि सेवाबाट बञ्चित भएको बताए । अस्पतालका धेरै सेवाग्राहीले नि:शुल्क भनिएका औषधिसमेत पाएका छैनन् । प्रसूति सेवा पनि लामो समयदेखि ठप्प छ ।

जिल्लाकै सबैभन्दा पुरानो र ठूलो अस्पतालमा ८ विशेषज्ञ चिकित्सक दरबन्दी छ । बाल तथा स्त्री, सर्जन, अर्थो, मानसिक रोगलगायत ८ प्रकृतिका रोगको विशेषज्ञ चिकित्सक हुनुपर्नेमा अहिले एक जना पनि छैनन् । अप्रेसनसहितको सुविधा हुनेगरी अस्पताललाई ५० शय्यामा स्तरनोन्नति गरे पनि चिकित्सकको अभावमा लाखौं पर्ने उपकरण थन्किएका छन् । ५३ जनाको दरबन्दी रहेको अस्पतालमा १९ जनामात्र छन् । चिकित्सक र स्वास्थ्यकर्मी अभावले दैनिक २ सयसम्मलाई सेवा दिने अस्पतालमा अहिले मुस्किलले ५० सेवाग्राही आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवका अनुसार पटकपटक ताकेता गर्दासमेत स्वास्थ्य मन्त्रालय र विभागले चिकित्सक पठाएको छैन । ‘

चिकित्सक अभावले लाखौं मूल्य परेका उपकरण बिग्रिसके,’ उनले भने, ‘बिरामीको जाँच गर्नुपर्ने अस्पताल आफैं बिरामीजस्तो भएको छ ।’ अस्पतालको फार्मेसीमा नि:शुल्क भनिएका औषधि पनि पाइँदैन । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट अनन्तप्रसाद शर्माले भौतिक पूर्वाधार भएर पनि सेवाग्राहीले सुविधा नपाएको बताए । ‘जनशक्ति नभएपछि लाखौंका मेसिन त्यत्तिकै थन्किएका छन्,’ उनले भने, ‘सेवाग्राहीले सुविधा पाएका छैनन् ।’

प्रकाशित : फाल्गुन ७, २०७४ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?