विद्यालय अध्यक्षमा पूर्वमन्त्री

‘सांसद नभए पनि जनताको सेवा यहीँबाट गरिरहेको छु’
कान्तिपुर संवाददाता

नेपालगन्ज — एमाले केन्द्रीय सदस्य र सिँचाइ राज्यमन्त्री भइसकेका नेता दलबहादुर सुनार विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुनिएका छन् । २०६४ र ७० को निर्वाचनमा दुईपटक सांसद बनेका बाँकेका सुनार बैजनाथ गाउँपालिका ५ स्थित प्रभात माविको अध्यक्ष भएका हुन् । उनलाई विद्यालयको अध्यक्षमा स्थानीयले सर्वसम्मत चयन गरे । 

विद्यालय अध्यक्षमा पूर्वमन्त्री

०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन चाहेका थिए । तर पार्टीमा सर्वसम्मत हुन नसकेपछि एमालेले आन्तरिक निर्वाचन गरायो । निकटकाले घात गरेपछि उनी आन्तरिक निर्वाचनमा पछि परे तर उनी निराश भएनन् । ‘पद होइन समाजसेवा ठूलो कुरा हो । सांसद नभए पनि जनताको सेवा यहीँबाट गरिरहेको छु,’ पूर्वमन्त्री सुनार भन्छन्, ‘समाजसेवामा रम्ने मेरो बानी छ । शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरें र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएँ ।’

पूर्वमन्त्री सुनार उक्त क्षेत्रका लोकप्रिय नेतामा गनिन्छन् । विकास निर्माणका काममा आफैं खटिन्छन् । सर्वसाधारणका कुरा सुन्न घरघर पुग्छन् । अरू नेता निर्वाचनका बेला भोट माग्न घरदैलो गर्छन् । उनी भने सदाबहार घरदैलोमा जुट्छन् । त्यसैले सांसदको भूमिकाबाट वञ्चित उनलाई सर्वसाधारणले सर्वसम्मत अध्यक्ष बनाएका हुन् । मन्त्री भइसकेका नेता विद्यालय अध्यक्ष भएपछि अनेकखाले टिप्पणी भइरहेका छन् । सुनारलाई भने त्यसको कुनै परवाह छैन । ‘सांसद र मन्त्री भएको व्यक्ति विद्यालयको अध्यक्ष भएछ भनेर टिप्पणी भए । राजनीतिक यात्रा सकियो जस्ता नकारात्मक प्रतिक्रिया आए,’ उनले भने, ‘मैले भने यसलाई स्वाभाविक रूपमै लिएँ । जसरी पनि जनताको सेवा गर्नुपर्छ भनेर अध्यक्ष स्वीकारें ।’


त्यसो त उनी राजनीतिमा आउनुभन्दा पहिले शिक्षक थिए । २०४४ मा शिक्षक पेसामा आबद्ध उनले ०५५ मा अवकाश लिए । ०५६ मा मालेबाट संसदीय निर्वाचनमा भाग लिए तर पार्टी विभाजनका कारण सफल हुन सकेनन् । एमाले र मालेबीच एकतापछि उनी राजनीतिमै सक्रिय रहे । त्यसयता भएका निर्वाचनमा उनी दुईपटक सांसद बने । विद्यालय अध्यक्ष भएका पूर्वमन्त्री सुनारले उत्कृष्ट विद्यालय बनाउने सपना बोकेका छन् । ०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमुना बनाउने उनको प्रतिबद्धता छ । ‘मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रूपमा विकास गर्नेछु,’ उनले भने, ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु । मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी यहाँ महसुस गरेको छु ।’ उनले २० वर्षअघि त्यही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालेको बताए ।


अध्यक्ष भएपछि उनले विद्यालय सुधारका काममा लागेका छन् । खेल मैदान निर्माण भएको छ । पर्खाल बन्दै छ । आउने शैक्षिक सत्रदेखि अंग्रेजी भाषामा नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ । हामीसँग तालिमप्राप्त शिक्षकहरू छन्,’ उनले भने । विद्यालयलाई क्याम्पसका रूपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?