१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढिलाइले सडकमा लागत बढ्दै

६ वर्षमा ६९ प्रतिशत 
अमृता अनमोल

बुटवल — पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार अझै टुंगिएको छैन । निर्माण थालेको ६ वर्षमा ६९ प्रतिशत काम भएको छ । सीमाक्षेत्रका सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आयोजनाले आव ०६८/६९ बाट विस्तार थालिएको थियो । 

विस्तारमा विवादपछि आसपासका घरधनी अदालत पुगेका थिए । त्यसले ठेक्कामा ढिलाइ भएको थियो । सम्झौतापछि समयमा काम भएन । विद्युत् पोल सार्ने, पानीका पाइप फेर्ने र नदीजन्य पदार्थ अभावले बेलाबेला अवरोध भएको थियो । ढिलाइले १ अर्ब लगानी बढ्यो । ‘लक्ष्य राम्रो भए पनि काम सन्तोषजनक भएन,’ मणिग्रामका रामबहादुर रानाले भने, ‘सरकार र ठेकेदारको बेवास्ताले यस्तो भयो ।’


आयोजना प्रमुख जीवेन्द्र मिश्रका अनुसार २७ मध्ये करिब १३ किलोमिटरको काम पूरा भएको छ । बुटवलतर्फ ७ र भैरहवातर्फ ५.४ किलोमिटर सकिएको छ । ३ अर्ब ३७ करोड खर्च भइसक्यो । बाँकी काममा २ अर्ब ३१ करोड लाग्ने अनुमान छ । कालिकाले तामाङ कन्स्ट्रक्सनसित मिलेर ठेक्का लिएको हो । अञ्चलपुर–बर्मेलीटोल र सिद्धार्थनगरको डण्डा पुल क्षेत्रको काम लथालिंग छ । ‘लामो समय ताकेताले काम थालेको छ, तर सन्तोषजनक छैन, प्रमुख मिश्रले भने, ‘सन् २०१४ मा २ वर्षका लागि सम्झौता गरेको थियो । त्यसअनुसार एक वर्षअघि सक्नुपर्ने थियो ।’


आयोजनाका अनुसार सुरुमा ३ अर्ब ५० करोड लागत तयार गरी टेन्डर आहान गरिएको थियो । अवधि बढाउँदा २ अर्बबाट लागत बढेर ५ अर्ब ८३ करोड पुगेको छ । आयोजनाले मूल्यवृद्धि र एकैपटक ठेक्का नलाग्दा लागत बढेको जनाएको छ । ‘आकासे पुल र सौर्यबत्तीको योजना थप भएकाले लागत बढेको हो,’ आयोजना प्रमुख मिश्रले भने । बुटवलका ७ र भैरहवाका ३ स्थानमा आकाशे पुल बनाइँदै छ । त्यसको लगानी १२ करोड छ । ८ सय सोलार बत्तीका लागि २ करोड खर्च हुनेछ । दायाँबायाँका घर भत्काउने/नभत्काउने विवाद र निर्माण सामग्री अभावले काम प्रभावित भएको कारण देखाउँदै २ वर्ष अवधि दिइएको थियो । त्यसमा पनि बाँकी ३१ प्रतिशत सक्नेमा शंका छ ।


गुणस्तर कमसल

गुणस्तरीय काम नहुँदा कतिपय स्थानमा सडक भत्किएको छ । बुटवलको चौराहादेखि शंकरनगरसम्म सडकमा चिरा परेका छन् । भैरहवाको बुद्धचोकदेखि बेलहियासम्म सडक फुटेको छ । जोगीकुटी चोकनजिक भत्किएपछि पुन: कालोपत्रे गरिएको थियो । सुरुमा बुटवलको चौराहादेखि बेलहियासम्म २४ किमि बिस्तार योजना थियो । गत वर्ष चौराहादेखि चिडियाखोलासम्म साढे ३ किमि थपियो । त्यसका लागि ७० करोड विनियोजन गरियो । गत चैतमा ठेक्का लागे पनि सडक क्षेत्रका घर हटाउन सकेको छैन । धनीले घर नभत्काउने अडानसहित अदालत गएपछि समस्या परेको आयोजना प्रमुख मिश्रले बताए । चौराहादेखि चिडिया खोलासम्म ३११ घर हटाउनुपर्ने छ । बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले काममा बाधालाई नगरपालिकाले हेर्ने गरी विस्तार अघि बढाउन निर्देशन दिएको बताए ।

प्रकाशित : फाल्गुन ८, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?