कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सांगीतिक प्रस्तुतिमा लोभिए दर्शक

पाल्पा महोत्सव
माधव अर्याल

पाल्पा — पाँचवर्षे नानी डोर्‍याउँदै पाल्पा महोत्सवमा पुगेकी ३५ वर्षीया नरमती कामुमगर सरासर बालउद्यानतिर लागिन् । छोरीले उद्यानमा पिङ खेल्न, डुंगा चलाउन रुचि देखाएपछि उनले महोत्सवको स्टलतिर ध्यान दिनै पाइनन् ।

सांगीतिक प्रस्तुतिमा लोभिए दर्शक

‘मेला महोत्सवमा छोराछोरीको खुसीका लागि ल्याउनुपर्ने रहेछ,’ उनले भनिन्, ‘आफूलाई पनि कलाकारले आमनेसामने भएर गीत गाएको हेर्न रमाइलो लाग्छ ।’ बगनासकाली ४ खानीछापबाट आएकी महोत्सवमा झन्डै ८ सय रुपैयाँ खर्च भएको बताइन् ।


तानसेन डेरा गरी बस्ने रीता अधिकारीले पनि ६ वर्षको छोरालाई बाल–उद्यान घुमाउँदा ६ सय रुपैयाँ खर्चिइन् । १५ भन्दा बढी प्रकारका खेल खेल्न पाइने भएपछि उद्यानप्रति बालबालिकाको आकर्षण बढेको छ । ‘हामी त गीत संगीत सुन्न र कलाकार हेर्न आउने हो,’ अधिकारीले भनिन्, ‘छोराछोरीको इच्छा पनि पूरा गर्नै पर्‍यो ।’ महोत्सवमा ५० रुपैयाँको टिकट काटेर स्टल अवलोकन गर्नेभन्दा पनि सीधै बालउद्यान र कलाकारको प्रस्तुति हेर्न पुग्ने धेरै छन् ।


अवलोकनकर्ता नआएपछि स्टलवाला हैरान छन् । ‘स्टलमा के हेर्नु र ? फेन्सी आइटमभन्दा अरू केही छैन,’ तानसेनका राजेन्द्र लिगलले भने, ‘विगतमा जस्तो स्टलमा आकर्षण देखिएको छैन । तर महोत्सवको अन्तिममा खरिद–बिक्री गर्नेको भीड होला ।’ फेन्सी पसलमा सामग्री महँगो भएको गुनासो छ । होटलमा उस्तै असुली गरेका छन् । ३० रुपैयाँको फुल्कीलाई ६० रुपैयाँ तिर्नुपर्छ । २० रुपैयाँको बदामलाई ४० रुपैयाँमा बिक्री गर्दै आएका छन् । म:म, चाउमिन, अन्य परिकार पनि झन्डै दोब्बर महँगो भएको अवलोकनकर्ताको गुनासो छ । ‘भोक लाग्छ, खान गयो निकै महँगो पो रहेछ,’ तानसेन ६ का नेत्र गैरेले भने । कलाकारको प्रस्तुतिले भने सबैलाई लोभ्याएको छ ।


तानसेनको टुँडिखेलमा ३ गतेदेखि जारी महोत्सवमा पुरुषोत्तम न्यौपाने, विमलराज क्षत्री, हेमन्त शर्मा, खुमन अधिकारी, जमुना राना, प्रिया भण्डारी, हुम गैरेलगायतले आफ्नो प्रस्तुति पस्किसकेका छन् । उनीहरूसँगै सम्झना भण्डारी, चन्द्र शर्मा, बलराम सरकार, कमल भट्टराई, किरण चित्रकार, विजय बमरेल, बलराम शर्मा लगायतले पनि दर्शक ताने । गायक हेमन्त शर्माले आफ्नै गृहजिल्लामा आएको बताउँदै दर्शकलाई लोभ्याए । उनले आफ्ना पुराना गीत ‘न तेजाबी सुन हो माया न हो छापावाल...’ गाए । आयोजकले ४ बजेपछि मात्र राष्ट्रिय ख्याति कमाएका कलाकारको गीत गाउने पालो राख्दा ग्रामीण भेगबाट आएकाहरू फर्किसकेका हुन्छन् । दर्शक धेरै गइसक्दा उनीहरूलाई पालो दिइने गरेको गुनासो छ । ‘हामी हिँड्ने बेला भइसक्यो अझै राष्ट्रिय कलाकारको पालो दिन्नन्,’ बगनासकाली ९ चापपानीकी जमुना थापाले भनिन्, ‘टिकट काटेर कलाकारको गीत सुन्ने योजना पूरा हुन सक्दैन ।’


महोत्सवको छैटौं दिनसम्म चार करोडभन्दा बढीको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले बताए । उनले महोत्सवमा साठी हजारभन्दा बढी दर्शकले अवलोकन गरेको बताए । उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । प्रचारप्रसार संयोजक विष्णुमान वज्राचार्यले महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको बताए । ‘स्टल सहभागीहरू एवं प्रवेश टिकटमा एक–एक थान गोला प्रथाद्वारा मोटरसाइकल उपहार राखिएको छ,’ उनले भने । १० करोडभन्दा बढीको कारोबार र ३ लाख दर्शकलाई महोत्सव अवलोकन गराउने लक्ष्य आयोजकको छ । महोत्सवको आम्दानीबाट बहुउद्देश्यीय भवन निर्माण र पर्यटन प्रवद्र्धनमा १५ प्रतिशत, धार्मिक सम्पदा संरक्षण, टुँडिखेल मैदान संरक्षण, व्यवसायमा ५/५ प्रतिशत रकम विनियोजन गरिने संघले जनाएको छ । महोत्सवमा ४ सय ६२ स्टलको सहभागिता रहेको छ । कुटिर उद्योगका २२, ढाका उद्योगका ४, बेकरिज र तन्दुरी आइटम २/२, होटल २५ तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाइललगायत स्टल राखिएका छन् ।


कृषि उद्यम र घरेलु उद्योगका स्टल छैनन्

बगनासकाली गाउँपालिका र शिवासन कृषि सहकारीका साथै कफीको स्टलबाहेक अन्य कृषि उद्यमको स्टल छैन । पहिलो दिन अव्यवस्थित ढंगल सुन्तला बिक्री गरेका व्यवसायीलाई स्टलका रूपमा राखिएको छ । कफीको पनि ब्युटिफुल कफीले सहयोग गरेर स्टल राखिएको छ । उद्योग वाणिज्य संघको आफ्नै ‘एक गाउँ, एक उत्पादन’ ओभीओपी कार्यक्रम अन्तर्गतको अदुवाको समेत स्टल छैन । जिल्लाको ढाकाको चार स्टल बिक्री भएको बताए पनि दुई स्टल मात्र देखिएको छ । अन्य कृषिसम्बन्धी जिल्लाका कुनै उद्यम छैन । पाल्पाली ढाका र करुवाको जिल्लामा स्टल देख्न मुस्किल परेको छ । गुल्मीबाट ल्याएको उखु पेल्ने, खुदो पकाउने र गुँड–चाकु बनाउने स्टल पनि महँगो भएको गुनासो गरेका छन् । तीन वर्षअघि २० हजार, अघिल्लो वर्ष ४० हुँदै यस वर्ष ५० हजार रुपैयाँ आयोजकले असुलेको गुनासो छ । अघिल्लो वर्ष २० रुपैयाँमा बिक्री गरेको उखुको रस यस वर्ष ३० रुपैयाँ भएको छ । कृषिका स्टलमा अवलोकन गर्नेको खासै चासो देखिएको छैन । ‘सरासर हिँड्ने अनि फेन्सी आइटम हेर्नुका साथै कलाकार र बालउद्यानमा भीड लाग्छ,’ जिल्ला कफी व्यवसायी संघका स्रोत व्यक्ति कमल खनालले भने, ‘बोलाउँदा नि नहेरेरै हिँड्ने गर्छन् ।’


बन्दले प्रभावित

कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले पाल्पाको महोत्सव प्रभावित भएको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेपछि मंगलबार दिनभर महोत्सवमा दर्शकको संख्या निकै कम थियो । क्याम्पस, विद्यालय, बन्द भए । निजी सवारी साधनसमेत न्यून चलेका थिए । मंगलबार बिहान ४ बजे नै कैलाशनगरमा विस्फोट भएपछि सर्वसाधारण बढी त्रसित भएका थिए । बन्दले सबै क्षेत्र प्रभावित भए पनि बन्दकर्ता जिल्लाका कुनै पनि स्थानमा देखिएनन् । सोमबार खचाखच भरिएको महोत्सवस्थल बन्दले मंगलबार धेरै प्रभावित भएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले बताए ।


बन्दले पूर्व–पश्चिम जाने–आउने सवारी साधन ठप्प भएपछि बुटवल पनि सुनसान बन्यो । जामले सास्ती हुने बुटवलको पुष्पलाल पार्क, मिलनचोक सडक दिनभर खाली थिए । लुम्बिनी अञ्चलका पहाडी जिल्लाका लागि छुट्ने कुनै पनि सवारी साधन चलेनन् । विद्यालय, उद्योग, कारखाना सबै ठप्प भए । सडकमा निजी सवारी साधन न्यून चले पनि सार्वजनिक सवारी साधन चलेनन् । बन्द र सुनसान भए पनि तोडफोडका घटना नभएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । बुटवलका विभिन्न सडक र चोकमा मंगलबार बिहानैदेखि टोली टोली बनाएर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?