२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तालपोखरामा डुंगा सयर

माधव अर्याल

रामपुर (पाल्पा) — सदरमुकामबाट ६५ किलोमिटरको रामपुर नगरपालिका तालपोखरामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न डुंगा सञ्चालनमा ल्याइएको छ । तालको बीचमा रहेको मन्दिरमा जान व्यावसायिक रूपमा दुईवटा डुंगा चलाइएको हो । 

तालपोखरामा डुंगा सयर

तालको बीचमा रहेको आकर्षक मन्दिरमा जलेश्वर महादेवको मूर्ति भित्र्याइएको छ । स्थानीय युवाले फेवाताललाई स्मरण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिन तालपोखराको परिकल्पना गरेका हुन् । ‘पोखराको फेवाताल तालवाराहीमा गएको झल्को यहाँ भेटियो,’ रम्भा, ३ पीपलडाँडाबाट तालपोखरा पुगेका दीपक अर्यालले भने, ‘निकै राम्रो पर्यटकीय गन्तव्य बनेछ ।’ तालपोखरामा सार्वजनिक बिदा र शनिबार बढी भीड लाग्ने गरेको छ । मन्दिरमा दैनिक पूजापाठसँगै पुग्न पनि डुंगा चढ्नुपर्ने छ । मन्दिरको दर्शन पनि गर्ने र डुंगा सयर पनि गर्नेको संख्या दिनानुदिन बढेको छ । ताल, मन्दिर र पार्क १ करोड ५० लाख रुपैयाँको लागतमा बनेको हो ।


तालपोखरा संरक्षण समितिले परीक्षण गर्न दुई सातादेखि डुंगा चलाएको छ । आठ वर्षअघिदेखि सुरु गरेको तालपोखरा निर्माणको काम हालै सकिएको हो । वर्षाको समयमा पानी जम्ने, हिउँदमा सुख्खा भएर खेल्न मिल्ने र गाई बाख्रा चराउने ठाउँमा हाल डुंगा शयर गर्न पाइएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनका अनुसार हिन्दु धर्मावलम्बी डुंगा चढेर मन्दिर पुग्छन् भने अन्य धर्मावलम्बी तालको वरपर डुंगा शयर गरेर रमाउँछन् ।


समितिले पोखरा बेगनासबाट डुंगा ल्याएको हो । संरक्षण समितिका सल्लाहकार सागरराज देवकोटाले यसको विकास र विस्तार गर्न सकियो भने पर्यटक भित्र्याउन सकिने बताए । समितिले ५० रुपैयाँको टिकटमा डुंगाबाट मन्दिर जाने–आउने व्यवस्था गरेको छ । कसैले बढी घुम्न चाहेमा पनि व्यवस्था मिलाउने गरिएको समितिका उपाध्यक्ष अच्यूत भण्डारीले बताए ।


झन्डै ४ बिघा क्षेत्रफलमा फैलिएको तालपोखरा क्षेत्रमा मन्दिरको पश्चिम–दक्षिण भेगमा सुन्दर बगैंचा र वनभोज स्थल छ । यसलाई अझ व्यवस्थित बनाउने काम भइरहेको उनले बताए । ‘आठ वर्षअघिको परिकल्पनाले हाल सार्थकता पायो,’ तालपोखरा संरक्षण समितिका संस्थापक अध्यक्ष देवराज देवकोटाले भने, ‘यसमा खुसी लागेको छ ।’ । समितिले २०६६ मा महायज्ञबाट संकलित रकमबाट तालपोखरा निर्माण कार्य सुरु गरेको हो । सहरी विकासको गुरुयोजना अनुसार व्यवस्थित गर्दै काम अघि बढाएको उनले सुनाए । रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले पछिल्लो पटक नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको तालपोखरा सञ्चालनका लागि ८ लाख रुपैयाँ बजेट नगरपालिकबाट दिएको बताए । ‘नयाँ धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो योजना हो,’ उनले भने, ‘जसले गर्दा यहाँ स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकियोस् ।’ कालीगण्डकी नदीको पानी लिफटङ गर्ने र सधैंभरि पानी राख्ने व्यवस्था गर्दै लग्ने उनले बताए ।


बोरिङ गर्ने अर्को विकल्प रहेको छ । पानी तान्ने मोटर र पाइपका लागि नगरपालिकाले सहयोग गरेको छ । मन्दिरका लागि दुईवटा महादेवका मूर्ति ल्याइएका छन् । एउटा मन्दिरभित्र प्रतिस्थापन गरिसकेको छ भने अर्को मन्दिरबाहिर व्यवस्थित गरी राखिने मन्दिर निर्माण समितिका संयोजक सागरप्रसाद देवकोटाले बताए । ‘अन्य देवीदेवताका राख्दा बलि चढाइने भएकाले फोहोर हुुनाले जलाशयलाई स्वच्छ राख्न महादेव (शिव) राखियो,’ उनले भने । मन्दिर ३० लाख रुपैयाँको लागतमा बनेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?