१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘तिलौराकोटको योजनाबद्ध विकास गरिनेछ’

कान्तिपुर संवाददाता

कपिलवस्तु — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गौतम बुद्धलाई ज्ञान प्राप्तिका लागि उत्प्रेरित गर्ने महत्त्वपूर्ण स्थल तिलौराकोटको योजनाबद्ध विकास गरिने बताएका छन् । 

‘तिलौराकोटको योजनाबद्ध विकास गरिनेछ’

तिलौराकोटमा जारी पुरातात्त्विक संरचना उत्खननकार्य निरीक्षण गर्न मंगलबार त्यहाँ पुगेका भने, ‘अब ढुक्क हुनुस्, हामी गरेर देखाउँछौं, ५ नम्बरको प्रदेश समृद्धिको आधार नै तिलौराकोट र लुम्बिनी हो ।’ पर्यटन विकासबाट नै धेरै काम गर्न सकिने भन्दै पोखरेलले मुलुककै समृद्धि हुने गरी योजना अघि बढाएर लुम्बिनीको पहिचान स्थापित गरिने जनाए । मुलुक केन्द्रीकृत राज्य प्रणालीबाट संघीय प्रणालीमा गएकाले विकासको मोडल पनि त्यसैअनुसार गराउनुपर्नेमा उनले जोड दिए । ‘यतिन्जेल केन्द्रीकृत राज्य प्रणालीबाट शासन चल्थ्यो, त्यस कारण यहाँ कसैको नजर परेन,’ उनले भने, ‘अब आफैं कानुन बनाएर कार्यान्वयन गर्ने अधिकार स्थानीय निकाय र प्रदेश सरकारलाई छ, अब छिट्टै परिवर्तन देखिने गरी काम हुन्छ ।’


संसारलाई शान्तिको बाटोमा डोर्‍याउने ऊर्जाशील ठाउँको महत्त्व बुझ्न नसक्दा लुम्बिनी पछि परेको उनले बताए । तिलौराकोटमा भइरहेको उत्खनन र अन्वेषणबारे डुह्राम विश्वविद्यालय बेलायतका सहउपकुलपति, प्रोफेसर तथा प्रमुख पुरातत्त्वविद् डा. रविन कनिङघमले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले तिलौराकोटको प्राचीन स्वरूप र सांस्कृतिक विकासक्रम थाह लाग्नु ठूलो उपलब्धि रहेको बताए । ‘उत्खननले यस्को प्रमाणिकता बलियो हुँदै गएको छ,’ उनले भने ।


तिलौराकोटमा बेलायतको डुह्राम युनिभरसिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्त्वविद् संलग्न विज्ञ टोलीले सन् २०१३ देखि उत्खनन–अन्वेषण गरिरहेको छ । मुख्यमन्त्री पोखरेलले सम्राट अशोकद्वारा स्थापित निग्लिहवास्थित अशोक स्तम्भ, कपिलवस्तु संग्रहालय र विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल पनि अवलोकन गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?