१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नारायणीमा दोहन: गिट्टीबालुवा रातरात भारततिर

नवीन पौडेल

परासी — स्थानीय तहले जिल्लाका खहरे खोलाबाट गिट्टीबालुवा संकलनमा कडाइ गरिरहे पनि नारायणी नदीमा दोहन तीव्र छ । मादण्डविपरीत उत्खनन गरेर निर्माणसामगी भारततिर तस्करी भइरहँदा स्थानीय प्रशासन मौन छ । 

नारायणीमा दोहन: गिट्टीबालुवा रातरात भारततिर

नेपाल–भारतबीचको गण्डक सम्झौताअनुसार नारायणीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करहरूले दैनिक लाखांैको ढुंगा, गिट्टी, बालुवा संकलन गरिरहेका छन् । उनीहरूले डुंगामार्फत गिट्टीबालुवा नदी वारि ल्याई ट्रयाक्टरमार्फत पक्लिहवा, कुडिया, नर्सहीलगायतका स्थानमा डम्पिङ गरेका छन् ।


नदी दोहन तत्काल रोक्न स्थानीयले माग गर्दै आएका छन् । सीमावर्ती क्षेत्र रामनगर, बैदौली, बहुवार, बसैया, भुजहवालगायत स्थानमा गिट्टीबालुवा डम्पिङ गरिएको भेटिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । तस्करीको व्यापक गुनासोपछि गाउँपालिकाले वडाध्यक्ष र प्राविधिकसहितको टोलीलाई स्थलगत अध्ययनमा पठाई अवैध रूपमा डम्पिङ गरिएका नदीजन्य पदार्थको नापजाँच सुरु गरेको छ । उक्त सामग्रीमा जिल्लाको दररेट अनुसार राजस्व लिने र कारबाही प्रक्रिया अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । ‘तस्करी भइरहेको सत्य हो तर हामी जनप्रतिनिधिले मात्र चाहेर हुँदो रहेनछ,’ पाण्डेले भने, ‘नियन्त्रणका लागि सम्बन्धित निकायमा सहयोग माग्दा सोचेजस्तो सहयोग पाइएन ।’


सुरक्षा निकायले ध्यान नदिएको भन्दै जनप्रतिनिधि आफैं नारायणी नदीमा पुगेर सात ट्रयाक्टर बालुवा नियन्त्रणमा लिई कारबाही प्रक्रिया थालको छन् । गाउँमा मठमन्दिर निर्माण एवं सामाजिक काम गर्ने बहानामा जनप्रतिनिधिलाई झुक्याएर रातको समयमा निर्माण सामग्री भारत निकासी हुँदै आएको स्थानीयले बताए । नेपालभन्दा दोब्बरमा बिक्री हुने भएकाले दैनिक लाखांै रुपैयाँको नदीजन्य पदार्थ भारत जाने गरेको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट तस्करी हुने गरेको छ । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनमा सुस्ता क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ संकलन गरेर राखिएको पाइएकाले अनुगमन तीव्र बनाइएको जनाएको छ

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?