कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापरबाही गर्नेलाई नै थप ठेक्का

दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर खण्डका मुख्य चोकमा निर्माणाधीन चारलेन सडकमा अपेक्षित प्रगति नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माणाधीन सडकको धूलोले त्यस क्षेत्रको वातावरणसमेत प्रदूषित छ ।

लापरबाही गर्नेलाई नै थप ठेक्का

धुलो र खाल्डाखुल्डीका कारण जनजीवन कष्टकर भएको भन्दै तुलसीपुर बजारमा युवाले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडक डिभिजन कार्यालय र निर्माण कम्पनीलाई दबाब दिए सुनुवाइ भएकौ छैन । उचित डाइभर्सन नहुँदा नियमित यातायात सञ्चालनमा समेत कठिनाइ छ ।


भएको सडक भत्काउने र नयाँ बनाउन समय लगाउने समस्याले कष्ट लम्बिएको स्थानीय बताउँछन् । सडक निर्माणमा तदारुकता देखाउन माग गर्दै नागरिक समाज र व्यवसायीहरू पटकपटक जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय र उपमहानगरपालिका धाइसकेका छन् । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले पनि सडक निर्माणमा भइरहेको लापरबाहीबारे पटक–पटक सडक डिभिजन कार्यालय र निर्माण कम्पनीको ध्यानाकर्षण गराइसकिएको बताए ।


निर्माण ठेक्का लिएको शंकरमाली कन्स्ट्रक्सनले काममा लापरबाही गरिरहेको छ । सडकको ठेक्का हात पारेर काम नगरिरहेका बेला यही कम्पनीले नै अरू ठेक्का पनि पाइरहेको छ । कन्स्ट्रक्सनलाई घोराही–लमही सडकखण्डको कटुवा खोला र घोराही–तुलसीपुर सडकखण्डको पत्रेखोलामा पुल निर्माणको ठेक्का पनि दिइएको हो ।


दुवै खोलाको पुल निर्माणमा अहिलेसम्म प्रगति हुन सकेको छैन । शंकर मालीभन्दा धेरै वर्षपछि काम सुरु गरेका अन्य कम्पनीले संक्राम, गुज्रे र बबई खोलाको पुलमा धेरै प्रगति गरिसकेका छन् । उनीहरूले पिल्लर तयार पारी स्पान राखेर ढलानसमेत गर्न थालिसकेका छन् । शंकरमालीले भने अहिलेसम्म कटुवाखोलामा पिल्लर मात्रै ठड्याएको छ । पत्रेखोलामा लामो समयदेखि खाल्डो खन्ने र भत्काउनेबाहेक कुनै प्रगति देखिँदैन ।


पुल निर्माणमा यति धेरै लापरबाही गरिरहेको शंकर मालीले नै चारलेन सडक निर्माणको ठेक्का पाएकोमा मध्यपश्चिम क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय घोराहीका प्रमुख बद्रीप्रसाद शर्मा नै अचम्मित छन् । ‘यो त मलाई पनि अचम्म लागिरहेको छ । जसले काम गरेको छैन, उसैले धेरै ठेक्का पाएको छ । पहिलेदेखि नै यस्तै भएको रहेछ । अहिले केही गर्न सकिँदैन,’ उनले भने ।


काम नै नगरे ठेक्का तोड्न सकिने भए पनि अलिअलि काम गरिरहेको अवस्थामा छिटो गर्न ताकेता गर्नेबाहेक अरु केही गर्न नसकिने शर्माले बताए । ‘हामीले ठेक्का नै नदिन सक्दैनौं । फेरि कुनै टेन्डर खुल्यो र अरूभन्दा कम कबोल गर्‍यो भने उसैले पाउन सक्छ,’ उनले भने, ‘ठेक्काबाटै वञ्चित गर्न सकिँदैन । काम गरिरहेको छ तर सुस्त गतिमा छ । नागरिकबाट पनि धेरै गुनासो आएको छ । हामीले काम समयमा गर्न ताकेता गरिरहेका छौं ।’


सरकारले यस वर्षको बजेट समयमा नपठाउँदा पनि निर्माणमा ढिलाइ भइरहेको शर्माले बताए । ‘अहिले जिल्लाका कुनै पनि पुल र सडकको बजेट आएको छैन । यो आर्थिक वर्षको बजेटबाट केही पनि नआउँदा चलिरहेका योजना सुचारु गर्न कठिनाइ भएको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?