कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्षयरोग परीक्षणका लागि अत्याधुनिक प्रविधि

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासी पृथ्वीचन्द्र अस्पतालमा पहिलोपटक क्षयरोग (टीबी) पत्ता लगाउन आधुनिक मेसिन जडान गरिएको छ । यसअघि यहाँ सर्वसाधारण बुटवल तथा भैरहवासम्म टीबी रोग परीक्षणका लागि जान बाध्य थिए । 

जिल्लाकै अस्पतालमा क्षयरोगको कीटाणु पत्ता लगाउन आधुनिक मेसिन जडानपछि न्यूनतम खर्चमै खकार जाँच हुने भएपछि विपन्न समुदाय बढी लाभान्वित भएका छन् । स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालले क्षयरोगका बिरामीको पहिचान गर्न जिल्लामै पहिलोपटक जिन इक्सपर्ट मेसिन ४ मोडुल नामक आधुनिक मेसिन जडान गरेर परीक्षण सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए ।

यस मेसिनले एकै पटकमा ४ बिरामीको जाँच गर्न सक्छ । क्षयरोग परीक्षणमा आउने बिरामीलाई अस्पतालमा नि:शुल्क र दूरीका हिसाबले यातायात खर्चसमेत उपलब्ध गराउने हुँदा सर्वसाधारण निकै लाभान्वित भएका छन् । निजी अस्पतालमा यस मेसिनबाट परीक्षण गराउँदा प्रतिव्यक्ति २ देखि ३ हजारसम्म लाग्ने एक स्वास्थ्यकर्मीले बताए । जिल्लामै आधुनिक प्रविधिबाट नि:शुल्क जाँच गर्न पाउने भएपछि बिरामीले राहत महसुस गरेका छन् । यसअघि क्षयरोगको रिपोर्ट आउन २ देखि ४ महिनासम्म कुर्नुपथ्र्यो ।

अब तत्काल पत्ता लाग्ने छ । जिल्लामा आव ०७४/७५ को साउनदेखि कात्तिकसम्म ३ सय ८२ क्षयरोगका बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नवलपरासी क्षयरोगको उच्च जोखिममा रहेको जिल्लामा पर्छ । आधुनिक मेसिनमा नि:शुल्क जाँच भएपछि भारतीय सीमावर्ती र विपन्न वर्गका सेवाग्राहीलाई राहत पुगेको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका कर्मचारीले माइक्रो बायोलोजिस्ट आइसा अन्सारी र इलेक्टोनिक्स इन्जिनियर शीतला रञ्जितकारको टोलीले जिल्ला अस्पतालमा मेसिन जडान गरेर स्थानीय कर्मचारीलाई बिरामी चेकजाँच गर्ने तरिका सिकाएपछि यहींकाले काम गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?