१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घरघरमा स्वास्थ्य अभियान

कृष्णप्रसाद गौतम

नेपालगन्ज — डुडुवा गाउँपालिकाले स्थानीय बासिन्दाका लागि घर घरमा नि:शुल्क स्वास्थ्य सेवा अभियान सुरु गरेको छ । सबै गाउँपालिकावासीले घरै स्वास्थ्य उपचार पाउन् भन्दै अभियान सुरु गरिएको हो गाउँपालिकाका अनुसार स्वास्थ्यकर्मीहरूले घरमै गएर नि:शुल्क उपचार सेवा प्रदान गर्नेछन् । मुलुकमै पहिलोपल्ट स्वास्थ्य अभियान सुरु गरिएको गाउँपालिकाको दाबी छ । 

नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन गाउँपालिकाले स्वास्थ्य कार्ड समेत जारी गरेको जनाएको छ । अभियानअन्तर्गत उपचार सेवामा प्रभावकारिता ल्याउन बहुउपयोगी ल्याब सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार डुडुवा २ बेतहनीमा रहेको स्वास्थ्य चौकी ल्याब सञ्चालन गरी बिरामीको दिसापिसाब, रगत, खकार, सुगर, टाइफाइड, मलेरिया, ज्वरोलगायतका सामान्य परीक्षणको व्यवस्था मिलाइएको छ । ल्याबका लागि सामग्री जडानको काम भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । अभियानमार्फत बिरामीहरूलाई नेपालगन्ज आएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । यसअघि स्थानीयवासी स्वास्थ्य सेवा नपाउँदा नेपालगन्जका निजी मेडिकल र ठूला अस्पतालमा आउनुपर्ने बाध्यता थियो । कडा स्वास्थ्य समस्या भएका बिरामीहरूलाई रेफरको व्यवस्थासमेत गरिने कार्यालयले जनाएको छ ।

‘अभियानले यसअघि स्वास्थ्य चौकीमा हुने औषधि र स्वास्थ्यकर्मी अभावको समस्याको हल भएको छ । पर्याप्त औषधि र उपचारका लागि चाहिने जनशक्तिको व्यवस्था भइसकेको छ,’ अध्यक्ष चौधरीले कान्तिपुरसित भने, ‘स्वस्थ जीवनस्तर जीवनयापनका लागि जनचेतनामूलक कार्यक्रममा समेत सँगसँगै सञ्चालन गर्नेछौं । कुनै नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन भनेर अभियान सञ्चालनमा ल्याइएको हो ।’

घरघरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीका लागि दुईदिने तालिम समेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अभियानमा स्वास्थ्यकर्मीसहित ५० जनालाई खटाइनेछ । ‘अब स्थानीयवासीले स्वास्थ्य संस्थाबाट पाउने सम्पूर्ण सेवा सुविधा नि:शुल्क रूपमा घरमै पाउनेछन्,’ अध्यक्ष चौधरीले भने, ‘उनीहरूको नामदर्ताका लागिसमेत कुनै शुल्क लिइने छैन । सबै स्थानीय बासिन्दालाई स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो ।’

सबै वडामा वितरण गर्नेगरी ४० हजार स्वास्थ्य कार्ड छापिसकेको अध्यक्ष चौधरीले बताए । कार्डमा घरधुरीका प्रत्येक सदस्यको स्वास्थ्य स्थितिको विवरण राखिनेछ ।

बहुउपयोगी ल्याब सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्था भइसकेको गाउँपालिकाकाले जनाएको छ ।

पशुहरूमा देखिने गरेको परजीवी रोग नियन्त्रणका लागि पनि अभियान सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए । उनका अनुसार किसानले पालन गरेका पशुमा कीरा नियन्त्रणका लागि उक्त अभियान सञ्चालन गरिएको हो । ‘पशु चौपायालाई विभिन्न परजीवी कीराबाट जोगाई स्वस्थ राख्नका लागि घरधुरीअनुसारको कार्ड बनाएर स्वास्थ्कर्मीलाई घरदैलोमा पठाएर औषधिसहितको उपचार गरिनेछ,’ उनले भने, ‘अभियानका लागि आवश्यक गुरुयोजना तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।’

प्रकाशित : फाल्गुन १०, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?