प्रदेश संसदले काम पाएन

सरकार विस्तार चैतमा
मन्त्री आवास भैरहवातिर
घनश्याम गौतम, अमृता अनमोल

बुटवल — प्रदेश ५ को संसद बैठक काम (बिजनेस) नपाएर फागुन २७ गतेका लागि सरेको छ । आइतबारका लागि तोकिएको संसद बैठक सरेसँगै सरकार विस्तार पनि धकेलिएको छ । फागुन पहिलो साता ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको प्रदेश सरकारले चैत पहिलो साता पूर्णता पाउने भएको हो ।

प्रदेश सरकारमा मन्त्रीको लविङका लागि दुवै दलका नेता काठमाडौं पुगेका छन् । मुख्यमन्त्री शंकर पोखरेल पनि आइतबार साँझ यहाँ आउँदैछन् । संसद बैठक सरेपछि सांसद पनि जिल्ला फर्केका छन् । सुरुमा ७ रहने गरी तयारी गरे पनि मन्त्रालय बढ्ने हुँदा अर्को भवनको तयारी भइरहेको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताए । ‘मन्त्रालय संख्या ७ बाट ९ पुग्ने सम्भावना छ,’ उनले भने, ‘मन्त्रालय टुंगो लागेपछि मन्त्रीका लागि छलफल सुरु गर्छौं ।’ फागुन अन्तिम वा चैत पहिलो सातामात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीअनुसार भवन व्यवस्थापन भइरहेको उनले बताए । सत्ता गठबन्धन एमाले र माओवादी अहिले सरकार विस्तारको छलफलमा छैनन् । पार्टी एकीकरणको काम भइरहेकाले दुवै दल अलमलमा छन् ।

भैलोभुजमा आवास

होटलमा बस्दै आएका प्रदेश सरकारका विशिष्ट व्यक्तिका लागि आवासको टुंगो लागेको छ । उच्च पदस्थ कर्मचारी आवासका लागि व्यवस्थापन तयारी गरिएका भैरहवा लुम्बिनी भूमिगत जलस्रोत सिंचाइ आयोजना कार्यालयको आवास भवनमा उपसभामुख, मन्त्रीलगायतको आवास बनाउने निर्णय सरकारले गरेको हो । यसअघि नै तयारी गरिए पनि ती भवनमा मन्त्री जान अस्वीकार गरेपछि विशिष्ट कर्मचारी राख्ने तयारी भएको थियो ।

बुटवलबाट १९ किलोमिटरको भैरहवा–लुम्बिनी भूमिगत जल आयोजना (भैलुभुज) का आवास गृहलाई मन्त्री र सचिवका निवास बनाइने सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । ‘म आफैं पनि अब केही दिनमा सर्दैछु,’ उनले भने, ‘उपसभामुखदेखि अन्य मन्त्री पनि त्यहीँ बस्नुहुनेछ ।’ अहिलेसम्म सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी होटलमै बसिरहेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री चौधरी ३२ किलोमिटर टाढा नवलपरासीस्थित आफ्नै घरबाट आउ/जाउ गर्छन् । मुख्यमन्त्री शंकर पोखरेल राजस्व अनुसन्धान कार्यालयको भवनमा बस्दै आएका छन् । उक्त बेलबासमा निजी घरमा सरेको छ ।

राष्ट्र बैंकको आतिथि गृहमा बस्दै आएकी उपसभामुख कृष्णी चौधरीको आवाससमेत भैलोभुजमा हुनेछ । स्थानीय व्यवस्थापन समितिले मर्मत र रंगरोगन गरेर आवास भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । मन्त्रीस्तरको निर्णयअनुसार भैलुभुजका आवास भवनमा मन्त्रीका आवास गराउने निर्णय गरेको हो ।

‘प्रदेश राजधानी रुपन्देही भएकाले जिल्ला समेट्ने गरी बुटवलमा मन्त्रालय र भैरहवामा मन्त्री निवास राखिएको हो,’ उनले भने, ‘यो निर्णयले रुपन्देहीका दुवै शहरलाई नजिक गराउने छ ।’

सभामुख पूर्णबहादुर घर्तीका लागि भने व्यावसायिक तालिम तथा सीप विकास केन्द्रको भवन तयार पारिएको छ । सोमबार घर्ती होटलबाट उक्त भवनमा सर्ने छन् । सीप विकासको भवन यसअघि प्रदेश प्रमुखको आवासका लागि प्रस्ताव गरिएको थियो । प्रदेश प्रमुख उमाकान्त झाका लागि भने कार्यालय र आवास दुवै हुने गरी उच्च अदालत तुल्सीपुरको बुटवल मुकाम कार्यालयको भवन प्रस्ताव गरिएको छ । अहिले प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको भवनमा र निवास डिभिजन सडक परिसरको सरकारी गेष्ट हाउसमा छ ।

संसद सचिवालयका लागि उद्योग वाणिज्य संघको भवन साघुँरो भएपछि संसदीय समितिका लागि नजिकका सामाजिक संघसंस्थाका भवन प्रयोग गरिने छ । भवन नजिकैका पेट्रोलियम डिलर्स एसोसिएसन र मानव धर्मका भवनलाई प्रयोगमा ल्याउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

‘खाली गर्नका लागि हामीले पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘आवश्यकता हेरेर सरकारी जग्गामा बनेका सबै भवन खाली गराउँदैछौं ।’ प्रदेशसभामा कम्तीमा ४ संसदीय समिति हुनेछन् । समितिका लागि सचिवालय र सभापति कक्ष आवश्यक पर्छ । दलका प्रमुख सचेतक, संसदीय दललगायतका लागि पनि छुट्टाछुट्टै कार्यकक्ष आवश्यक पर्छ ।

प्रकाशित : फाल्गुन १४, २०७४ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?