छात्रालाई साइकल

दुर्गालाल केसी

गढवा (दाङ) — अधिकांश गाउँमा अझै पनि छोरीलाई विद्यालय पठाउन समस्या छ । कतिलाई घरायसी काम सकेर मात्र विद्यालय जानुपर्ने बाध्यता छ । काममा सघाउँदैमा धेरैको पढाइ छुट्ने गरेको छ ।

छात्रालाई साइकल

थारू समुदायमा परम्परादेखि छोरीलाई ‘कमलरी’ का रूपमा अरूका घरमा पठाउने चलन छ । विभिन्न कारण शिक्षाबाट वञ्चित बालिकालाई विद्यालय जान प्रेरित गर्दै देउखुरीमा साइकल उपहार अभियान चलाइएको छ ।


गरिब, विपन्न र कमैया कमलरी समुदायका बालिकाहरूलाई लक्षित गरी हालै ७२ साइकल वितरण गरिएको छ । २०६८ देखि थालिएको अभियानका क्रममा हालसम्म ४ सय ८ साइकल उपहार दिइसकेको साइकल वितरणको संयोजन गरिरहेकी मुक्त कमलरी दीपा चौधरी बताउँछिन् । ‘सुरुमा मुक्त कमरीलाई फेरि कमलरी बस्नु नपरोस् भनेर साइकल वितरण गरियो । यसले विद्यालय गइरहन प्रेरित गर्‍यो,’ उनले भनिन्, ‘अहिले कमलरी जाने जोखिममा रहेका अन्य बालिकाहरूलाई पनि वितरण गरिएको छ ।’


साइकल उपहार पाएपछि पढाइमा थप प्रगति गर्न हौसला मिलिरहेको कक्षा ३ मा अध्ययनरत गढवाकी निशा चौधरी बताउँछिन् । ‘साइकल पाएपछि आमाबुबा पनि खुसी भएर विद्यालय पठाउनुहुन्छ,’ उनले भनिन्, ‘हामीलाई झन मिहिनेत गरी पढ्ने हौसला मिलेको छ ।’ साइकल पाएपछि विद्यालय जान घण्टौं हिँड्नुपर्ने समस्या टरेको ७ कक्षा अध्ययनरत गढवाकी सपना चौधरी बताउँछिन् ।


साँझबिहान घरको काम सकेर विद्यालय नियमित जान सजिलो भएको ११ कक्षा अध्ययनरत राजपुरकी प्रेमकुमारी चौधरीले बताइन् । साइकल उपहार अभियानले विद्यालयमा छोरीहरूको संख्या बढाउन महत्त्वपूर्ण भूमिका खेलेको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी बताउँछन् । ‘साँझबिहान घरको काम भ्याएर समयमै विद्यालय पुग्न समस्या भोगिरहेका बालिकालाई साइकलले सजिलो बनाएको छ,’ उनले भने, ‘साइकल पाउँदा काममा प्रेरणा पनि मिलेको देखिन्छ । साइकल पाउनकै लागि पनि छोरी पढाउने संस्कार बढिरहेको छ ।’ साइकल उपहारका कारण छोरीलाई कमलरी पठाउने चलन पनि हट्दै गएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । अभिभावक छोरीलाई विद्यालय पठाउन तयार भइरहेको उनको भनाइ छ । ‘छोरीलाई किन पढाउने भन्ने भावना भएकाहरू पनि अहिले नियमित विद्यालय पठाइरहेका छन्,’ उनले भने, ‘छोरीलाई शिक्षामा प्रेरित गर्न साइकल फलदायी भएको छ ।’


छोरीलाई विद्यालय पठाउन नसक्ने विपन्न र कमलरी पठाउने थारू समुदाय लक्षित गरी अभियानको सुरु गरेको साइकल उपलब्ध गराउँदै आएको क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटा बताउँछन् ।

प्रकाशित : फाल्गुन २०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?