कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नमुना प्रदेशका लागि योजनाबद्ध विकास : मुख्यमन्त्री

पूर्वाधार विकासलाई प्राथमिकतामा
दुर्गालाल केसी

दाङ — मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश नमुना बनाउन योजनाबद्ध विकास गरिने बताएका छन् । लमही नगरपालिकाको दोस्रो सभालाई आइतबार सम्बोधन गर्दै उनले प्रदेशलाई ‘मिनी नेपाल’ बनाउने योजना सुनाए ।

नमुना प्रदेशका लागि योजनाबद्ध विकास : मुख्यमन्त्री

‘यसका लागि योजनाबद्ध विकास तयारी भइरहेको छ,’ उनले भने, ‘पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्छौं । जनतालाई खुसी र सुखी बनाउने योजनामा हाम्रो जोड रहनेछ ।’ प्रदेश र स्थानीय सरकारले जनताले दैनिक भोगेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो । प्रदेशलाई समृद्ध बनाउन खोजिरहेकाले यसमा सबैको साथ र सहयोग चाहिने उनले बताए ।


पिछडिएको क्षेत्रलाई मूलधारमा ल्याउने गरी पूर्वाधार निर्माणमा योजना केन्द्रित गरिने पोख्रेलको भनाइ थियो । ‘प्रदेशका सबै क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्छ । अहिले समृद्ध प्रदेशको संकल्प पूरा गर्ने आधारका रूपमा स्थानीय सरकार छन्,’ उनले भने, ‘स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले त्यसले अघिसार्ने योजना जनताको चाहना सम्बोधन गर्ने खालको हुनुपर्छ ।’ यहाँ सम्भावनाहरू अधिक रहेको उल्लेख गर्दै उनले सबै अवसरको उचित सदुपयोग गरिने बताए । ‘हिमालदेखि तराईसम्मका जिल्ला यही प्रदेशमा छन् । सबै क्षेत्रमा आआफ्नै खालका विशेषता छन्,’ उनले भने, ‘यिनै विशेषतालाई विकासमा परिणत गर्न सकिन्छ । हरेक सहरलाई फरक कामका नमुना बनाइनेछ ।’


प्रत्येक स्थानीय तहले फरक काम गर्न सके मात्र प्रदेश नमुना बन्न सक्ने मुख्यमन्त्रीको भनाइ थियो । ‘आफ्नो नगरलाई कस्तो बनाउने ? यसको पहिचान के हो ? यस विषयमा हरेक स्थानीय तहले छलफल चलाउन जरुरी छ,’ उनले भने, ‘कृषि, पर्यटन, व्यवसाय, उद्योगजस्ता विभिन्न समृद्धितर्फ उन्मुख काम गर्न सकिन्छ । स्थानीय तहमा विकास भए मात्र प्रदेश विकसित हुनसक्छ ।’ लामो समयपछि जनताका प्रतिनिधिका हातमा स्थानीय सरकार परेकाले यसलाई सदुपयोग गर्न आवश्यक रहेको उनले बताए । प्रदेशका हरेक स्थानीय तहले आफ्नो परिचय दिनेगरी संरचनागत विकास गर्न आवश्यक रहेको उनले बताए ।


‘नगरभित्र बन्ने घरहरूको रंग एउटै बनाउन सकिन्छ । घरको अघिल्लो भागको नक्सा र संरचना एकै बनाउन सकिन्छ । बाटोको किनारमा एकै प्रकृतिका बिरुवा रोप्न सकिन्छ,’ उनले भने, ‘जसरी हुन्छ अब हरेक स्थानीय तहले नयाँ कामको सुरुवात गर्नुपर्छ । यसले प्रदेश नमुना बनाउन सहयोग मिल्नेछ ।’ स्थानीय तहले बनाउने नीति जनताका समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने पोख्रेलको भनाइ छ । प्रदेशस्तरमा कानुन बनाउन थालिएको जानकारी दिँदै उनले स्थानीय तहले पनि धमाधम कानुन बनाएर कार्यान्वयन गर्न जोड दिनुपर्ने बताए । ‘अब हामी धेरै नीतिनियम बनाएर अघि बढ्नुपर्ने छ । सुरुमा केही अन्योल भए पनि अब हामी आवश्यक सबै नीति बनाएर अघि बढ्दैछौं,’ उनले भने, ‘जनताका प्रतिनिधिले जनताका आवश्यकता सम्बोधन गर्ने नीति बनाएर काम गर्नुपर्नेछ । यो महत्त्वपूर्ण अवसरलाई नतिजामुखी बनाउनुपर्ने छ ।’

प्रकाशित : फाल्गुन २१, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?